मृग मारेको अभियोगमा धादिङमा चार जना पक्राउ

२०८० असार ४ गते १३:२९
मृग मारेको अभियोगमा धादिङमा चार जना पक्राउ

४ असार २०८० धादिङ । जंगली मृग मारेको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङले बन्दुकसहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेन गरी पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–४ का ६० वर्षीय पदम सिलवाल, सोही स्थानका ३० वर्षीय राजेन्द्र शाक्य, २८ वर्षीय आशिष गुरुङ र ज्वालामुखी गाउँपालिका– ६ का १९ वर्षीय सुमन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिनुभयो ।

उनीहरुले धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ धौखोला दोभारटार स्थित रामकृष्ण श्रेष्ठको घरमा गंगा गुरुङले सञ्चालन गरेको खाजा पसलमा जंगली मृग मारी हतियारसहित खाजा खाइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट अधिकृतसहित खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट मृगको घाँटीसहित १ किलो ३५० ग्राम रौँ, आलो छाला एक थान, हड्डीसहितको आलो मासु १ किलो ९२५ ग्राम, ४ फिट ३.५ इन्च लम्बाइ भएको बरुवा बन्दुक २ थान, ३.५ इन्च लम्बाइ भएको बरुवा बन्दुक १ थान, र १६ इन्च लम्बाई भएको धारिलो खुकुरी १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई धादिङ जिल्ला अदालतबाट हातहतियार खरखरजना मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *