Main News

शक्ति क्षयीकरण हुन थालेपछि चार पार्टी समाजवादी मोर्चा बनाउँदै (भिडियो रिपोर्टसहित)

२०८० असार ३ गते २०:५९
शक्ति क्षयीकरण हुन थालेपछि चार पार्टी समाजवादी मोर्चा बनाउँदै (भिडियो रिपोर्टसहित)

३ असार २०८० काठमाडौं । नेकपा माओवादी केन्द्रको नेतृत्वमा चार दलीय समाजवादी मोर्चा घोषणा हुने तय भएको छ । फरक फरक विचार र सिद्धान्त अनुसरण गर्ने दलहरु एकाएक मोर्चामा आवद्ध हुनुमा आ आफ्नै बाध्यता र स्वार्थ रहेको छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलले झण्डै एक वर्षअघि नै सुरु गरेको समाजवादी मोर्चा गठनको लक्ष्यले बल्ल मूर्तरुप पाउँदैछ ।

गत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि नै मोर्चा बनाएर एउटै चुनाव चिह्नमा लड्ने सामान्य गृहकार्य गरेर पनि असफल भएका दलहरु अहिले भने पार्टीको अस्तित्व रक्षाका लागिसमेत मोर्चाबन्दी गर्नै अवस्थामा पुगे ।

पार्टीको नाममा भएको समाजवादी शब्दलाई साझा धरातलको रुपमा उपयोग गर्दै माओवादी, एकीकृत समाजवादीसँग जनता समाजवादी जसपा पनि मिसिँदा, कम्युनिष्टमा पनि संसदीय व्यवस्था नमान्ने र वैज्ञानिक समाजवादी भनेर नथाक्ने विप्लव नेतृत्वको नेकपासमेत जोडिएको छ ।

जसपाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्नेमा जोड दिन्छ भने माओवादी केन्द्रले त पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यही संसदीय अभ्यासबाट निर्वाचित प्रधानमन्त्री नै पाएको छ ।

त्यस्तै एकीकृत समाजवादी पनि संसदीय अभ्यासमै विश्वास गर्ने दल भैहाल्यो । नयाँ जनवादी क्रान्ति गरेर राजनीति गरेर देश बदल्छु भनेर भूमिगत राजनीतिमा दोस्रोपटक होमिएका विप्लवको प्रस्थानविन्दु त मुलधारमा बहसमा समेत आएको छैन ।

यी फरक चरित्र र फरक गन्तव्य भएका यात्रीहरु समाजवाद नामको एउटै सवारीमा चढेर पुग्न खोजिएको गन्तव्य चाँहि के हो त ?

फरक फरक बिचार भएपनि न्यूनतम साझा बिचारले एक ठाउमा आएको उनीहरुको भनाइ छ ।

जे जस्तो दाबी गरे पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सत्ता टिकाउनुपर्ने बाध्यताले तत्काललाई संसदमा समाजवादी मोर्चा नामको तेस्रो शक्ति खडा गर्नुपर्ने बाध्यता देखिन्छ ।

एकीकृत समाजवादीमा पार्टीका कार्यकर्ता एमालेमा फर्किने डरले मोर्चा नामको ठूलो छहारीको प्रलोभन देखाउनुपर्ने अवस्था छ ।
जनता समाजवादी पार्टीलाई पनि कार्यकर्ता जनमत पार्टीमा जानबाट रोक्न ठूलै छहारी चाहिएको कुरा छर्लंगै छ ।

नेत्र विक्रम चन्द विप्लवलाई पनि पछिल्लो पटक पार्टी फेर्दै र फोड्दै गर्दा खिइँदै गएको शक्ति थप क्षिण हुँदा पतन हुने भयले आफैले अस्वीकार गरेको प्रणालीकै हिमायतीको साथ खोज्नुपर्ने बाध्यता आएको देखिन्छ ।

यस्तो अवस्थामा मोर्चा गठन यी दलका लागि आवश्यक नभई अत्यावश्यक देखिन्छ । तर यसले गठनको औचित्य पुष्टि गर्न सक्ला कि स(साना मतभेदको सिकार बन्ला ? त्यो भने पर्खाइको विषय बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *