पथलैया हेटौंडा सडकखण्ड मर्मत नहुँदा दुर्घटना बढ्दै (भिडियो रिपोर्टसहित)

२०८० असार २ गते १४:२७
पथलैया हेटौंडा सडकखण्ड मर्मत नहुँदा दुर्घटना बढ्दै (भिडियो रिपोर्टसहित)

२ असार २०८० बारा । पूर्वपश्चिम राजमार्गको पथलैया हेटौडा सडकखण्ड अन्तर्गत आधाभार, अमलेखगञ्ज र चुरे क्षेत्रको सडक पुनः खाल्टाखुल्टी भएका कारण सवारी साधनहरूको आवतजावतमा कठिनाइ उत्पन्न हुने गरेको छ ।

सडकका कतिपय स्थान भासिएर अग्लो र होचो हुँदा मोटरसाइकल लगायत साना गाडीलाई असहज परिस्थिति सिर्जना भएको छ ।

बाराको अधिकांश सडकमा ठूला सवारीसाधन गुड्छन् । मालवाहक ट्रक, पेट्रोलियम पदार्थ बोकेको गाडी यही सडकमा गुड्छन् । पछिल्लो समय अम्लेखगञ्जसम्म पाइपलाइन बनेसँगै त्यहीँबाट ट्यांकर भण्डारण भएर काठमाडौँ भित्रिन्छन् ।

यिनै सवारीसाधनका कारण पथलैया–हेटौँडा सडकखण्डको सडक ठाउँठाउँमा भासिएको छ । मोटरसाइकल कुदाउनेलाई यो सडकको यात्रा गर्न अत्यधिक कठिन हुने गरेको छ । ठूला सवारी साधनहरुले ओभरटेक गर्ने र पेलेर जाने भएका कारण दुर्घटना हुने गरेको छ । खाल्टाखुल्टी कारण सवारी साधन नै दुर्घटनामा पर्ने गरेका छन् ।

यो सडक भएर ठूला गाडी यात्रा गर्छन् । निकुञ्ज क्षेत्रभित्र धेरै भारवहन गाडी विस्तारै गुड्दा कालोपत्रे गरिएको सडक नै भासिने गरेको छ ।

गति सीमित उकालो बाटोका कारण सोचे अनुसार सडकमा गाडी गुड्दैनन् । र, भारका कारण सडक भासिएका छन् । तर, मर्मतसम्भार गर्दा पनि सडक भासिने गरेकाले यसबारेमा अध्ययन गरेर मात्रै अब कालोपत्रे गर्ने वा अन्य उपाय निकाल्ने भन्ने अध्ययन सडक डिभिजन कार्यालयले गर्न थालेको छ ।

पथलैया अमलेखगंज सडक त एउटा उदाहरण मात्र हो । बारा जिल्लाको ग्रामीण भेगमा एक बर्षमै कालोपत्रे गरेको बाटो ग्राभेलमा परिणत हुने गरेको छ । तर, निर्माण व्यवसायी कारवाहीको दायरामा कहिले पनि आउँदैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *