तीन जिल्लामा विद्युत् आपूर्ति सहज हुँदै

२०८० असार १ गते १४:५५
तीन जिल्लामा विद्युत् आपूर्ति सहज हुँदै

१ असार २०८० काठमाडौं । रामेछाप र आसपासको क्षेत्रमा गुणस्तरीय बिजुली प्रवाहका लागि भौतिक संरचना तयार भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले रामेछापको मन्थली नगरपालिका–१३ साँखे(फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट(केभी) सबस्टेसन पूर्वाधार सञ्चालनमा आएको छ ।

गज्र्याङ–नयाँ खिम्ती एक सय ३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको सबस्टेसन बिहीबारबाट सञ्चालनमा ल्याइएको हो । सबस्टेसनमा ३० एमभिए क्षमताका दुईवटा र ३३/११ केभी, छ/आठ एभिए क्षमताको एउटा पावर ट्रान्सफर्मरहरु राखिएका छन् । स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ३३ केभीका पाँच र ११ केभीका तीनवटा फिडर लाइन निकालिएका छन् ।

कूल ३३ केभीका फिडरलाई बिहीबार चार्ज गरी मन्थली, दोरम्बा र दोलखाको केही भागमा विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । त्यस्तै, ११ केभीको एउटा फिडर लाइनमार्फत खिम्ती ग्रामीण विद्युत् सहकारीलाई आपूर्ति दिइने छ । उक्त सहकारीले दोलखा र रामेछापको केही क्षेत्रमा विद्युतीकरण गरेको छ ।

दोलखामा सञ्चालित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले २२०/१३२ केभी क्षमताको नयाँ खिम्ती सबस्टेसन निर्माण गरेको थियो । उक्त सबस्टेसनमा स्थानीयस्तरका लागि विद्युत् आपूर्ति गर्ने कुनै व्यवस्था नभएपछि नेपाल विद्युत् प्राधिकरणले १३२/३३/११ केभीको सबस्टेसन पूर्वाधार बनाएको हो । कूल १३२/३३ केभीको पूर्वाधार तयार भएपछि नयाँ खिम्ती सबस्टेसनबाट स्थानीयस्तरमा विद्युत् आपूर्ति दिन सुरु भएको छ । नयाँ खिम्ती सबस्टेसनमा माथिल्लो तामाकोशीसहित खिम्ती र लिखू नदी करिडोरका जलविद्युत् आयोजनाको विद्युत् जोडिएका छन् ।

उक्त आयोजनाहरुबाट नयाँ खिम्ती सबस्टेसनमा प्रवाह भएको विद्युत्लाई १३२/३३ केभी सबस्टेसनमार्फत ३३ र ११ केभीमा झारेर स्थानीय रुपमा आपूर्ति गरिएको छ । बाँकी विद्युत्लाई दुई सय २० केभी प्रसारण लाइनमार्फत धनुषाको ढल्केबर र एक सय ३२ केभी लाइनमार्फत सिन्धुपाल्चोकको लामोसाँघू सबस्टेसनतर्फ प्रवाह गरिएको छ ।

कूल एक सय ३२/३३/११ केभी सबस्टेसन सञ्चालनमा आएपछि रामेछाप र दोलखाको केही भागमा त्यहीँबाट विद्युत् आपूर्ति दिइएको छ । रामेछापको पूरै क्षेत्रमा र दोलखाको जिरी नगरपालिका, वैतेश्वर तथा तामाकोशी गाउँपालिकाअन्तर्गतका क्षेत्रमा नयाँ खिम्ती सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको छ । दोलखाको ती क्षेत्रमा अहिले लामासाँघू सबस्टेसबाट विद्युत् आपूर्ति हुँदै आएको थियो । साथै, सिन्धुलीको सुनकोशी, फिकल र गोलाञ्जोर गाउँपालिकाअन्तर्गतका क्षेत्रमा समेत नयाँ खिम्ती सबस्टेसनबाट विद्युत् आपूर्ति दिइने छ ।

नयाँ खिम्ती सबस्टेसनबाट आपूर्ति दिन सुरु भएपछि रामेछापलगायत जिल्लामा विद्युत् पर्याप्त, भरपर्दो र गुणस्तरीयरुपमा वितरण भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । उहाँका अनुसार नयाँ खिम्ती सबस्टेसनमा जोडिएका जलविद्युत् आयोजनाको विद्युत् सिन्धुपाल्चोकको लामोसाँघू हुँदै काठमाडौँ र धनुषाको ढल्केवरमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने तथा बढी भएको ढल्केबर–मुजफ्फरपुर हुँदै भारततर्फ निर्यात हुँदै आएको थियो ।

“नयाँ खिम्तीमा स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि पूर्वाधार नहुँदा, जिल्लाभित्रै ठूलो सबस्टेसन भएर पनि स्थानीय उपभोक्ताले विद्युत् आपूर्ति नपाउँदा भरपर्दो र गुणस्तरीय विद्युत् उपभोगबाट वञ्चित थिए”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

नयाँ खिम्तीबाट दुई सय २० केभी प्रसारण लाइनमार्फत ढल्कबेर पुगेको विद्युत्लाई ३३ केभी प्रसारण लाइनबाट फेरि यतै ल्याएर सिन्धुली, रामेछापमा आपूर्ति गरिएको थियो ।

“लामो लाइन हुँदा ट्रिपिङ, न्यून भोल्टेजलगायत समस्या थिए, अब नयाँ खिम्तीबाट आपूर्ति हुन थालेपछि विद्युत् आपूर्तिमा रहेका समस्याहरु समाधान हुने छन्, उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत् पाउने छन्”, उहाँले भन्नुभयो ।

ढल्केबरबाट मन्थलीसम्मको ३३ केभी प्रसारण लाइनको लम्बाइ करिब ८० किलोमिटर छ । लामो तथा जङ्गलैजङ्गलबाट आएको लाइनका कारण रामेछाप र सिन्धुलीका उपभोक्ताले ट्रिपिङ, न्यून भोल्टेजलगायत समस्या व्यहोर्दै आएका थिए । अहिले नयाँ खिम्तीबाट विद्युत् आपूर्ति दिन थालेपछि लाइनको लम्बाइ घटेसँगै त्यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने, लाइन मर्मतसम्भारमा सजिलो हुने आयोजनाका प्रमुख अनुप गौतमले बताउनुभयो ।

सिन्धुलीको खुर्कोटस्थित सबस्टेसनसम्म नयाँ खिम्ती सबस्टेसनबाटै विद्युत् आपूर्ति दिइने छ । खुर्कोट सबस्टेसनबाट विद्युत् आपूर्ति हुने सिन्धुलीका सुनकोशी, गोलाञ्चोर र फिकल गाउँपालिकाको विद्युत् आपूर्तिमा पनि सुधार हुने छ । अहिले ती सबै क्षेत्रमा ढल्केबर सबस्टेसनमार्फत आएको लाइनबाट विद्युत् आपूर्ति हुँदै आएको छ ।

नयाँ खिम्तीमा १३२/३३ केभीको सबस्टेसन पूर्वाधार निर्माण आर्थिक वर्ष २०७६/७७ मा सुरु गरिएको थियो । नेपाल सरकार तथा प्राधिकरणको लगानीमा निर्माण भएको उक्त सबस्टेसनको लागत करिब रू ८० करोड रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *