निरन्तर वर्षाका कारण बाढीले पुल बगाउँदा समस्या

२०८० असार १ गते १३:१४
निरन्तर वर्षाका कारण बाढीले पुल बगाउँदा समस्या

१ असार २०८० ताप्लेजुङ । अत्यधिक वर्षाका कारण अहिले ताप्लेजुङको पूर्वी क्षेत्रको जनजीवनमा असर परेको छ ।

दुई दिनदेखिको अविरल वर्षाका कारण सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिराले थप जोखिम बढाएकाले यहाँका नागरिक त्रस्त छन् ।

गए राति आएको बाढीले सिरीजङ्घाको खेवाङ र सिदिङ्वाको मेहेले जोड्ने तावाखोला माथिको मोटरेबल पुल बगाएको छ । एक महिना अघिदेखि सञ्चालनमा आएको उक्त पुलको आधा भाग बाढीले बगाएको स्थानीयवासीले बताए ।

सिरीजङ्घा गाउँपालिका–८ याम्फुदिनमा दुईवटा जलविद्युत् आयोजनामा पनि बाढीले क्षति प-याएको छ । स्थानीयवासी पेम्बा शेर्पाका अनुसार आठ किलोवाट क्षमताको जलविद्युत्को पावरहाउस बाढीले क्षति पु-याएको छ भने अर्को १५ किलोवाटको पाइप पनि बगाएको छ ।

यस्तै स्थानीय जगत्बहादुर राईको एक घर बाढीकै कारण जोखिममा परेको छ । यता सिदिङ्वा गाउँपालिकाको सुरुम्खिमका विद्यालय हिजोदेखि नै वर्षाका कारण बन्द गरिएका छन् । अत्यधिक वर्षाका कारण बाढी र पहिराको जोखिम रहेकाले विद्यालयहरु बन्द गरिएको हो ।

निरन्तर वर्षा भइरहेकाले जनजीवन त्रस्त बनेको खेवाङका शिक्षक बिनम माबोले बताउनुभयो । “विगत ३६ घण्टादेखि निरन्तर वर्षा भइरहेको छ, गाउँघरमा वारिपारि ओहोरदोहोर गर्ने अवस्था छैन, मानिसहरू बाढी पहिराको त्रासमा छन्”, उहाँले भन्नुभयो । विशेषगरी जिल्लाका पूर्वी भेगमा पर्ने खेवाङ, याम्फुदिन, मामाङ्खे, सुरुम्खिमलगायत ठाउँमा वर्षा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *