निर्माणाधीन पुलले खोला थुनिएपछि धादिङबेसीको मालेबगर क्षेत्र डुबानमा

३१ जेठ २०८० धादिङ । निर्माणाधीन पुलले खोला थुनिएपछि धादिङ सदरमुकाम धादिङबेसीको मालेबगर क्षेत्र डुबानमा परेको छ ।
गएराति परेको वर्षाका कारण थोपल खोलामा आएको बाढी निर्माणाधीन पुलमा थुनिँदा नीलकण्ठ नगरपालिकास्थित वडा नम्बर– ३ र १२ को मालेबगर क्षेत्रमा बाढी बस्तीमा पसेर क्षति पुर्याएको हो ।
थोपल खोलामा वर्षौंदेखि निर्माण थालिएको पक्की मेटरेबल पुल निर्माण गर्ने क्रममा लामो समयदेखि खोला थुनेर राखिएको थियो । जसका कारण खोलामा आएको बाढीले बस्ती डुबाएको हो । बस्तीमा खोला पस्दा स्थानीयको क्षति भएको छ ।
ठेकेदारले समयमै पुल निर्माणको काम सम्पन्न नगर्दा बस्ती डुबानमा परेको स्थानीयको गुनासो गरेका छन ।
डिभिजन सडक कार्यालय नुवाकोटले ठेक्का लगाएको यो पुलको हाल प्रादेशिक सडक कार्यालय अन्तर्गत छ । तेस्रो पटक थप गरेको म्याद पनि सकिएको भएपनि निर्माण कम्पनीले निर्माणका लागि भन्दै लामो समयदेखि सामान्य पाइप राखेर खोला थुनेर राखेको थियो ।
सामान्य वर्षातमा नै आएको बाढीले बस्ती डुबेपछि बर्खा सुरु हुँदै गर्दा सिङ्गो बस्ती नै जोखिममा पर्ने भयमा स्थानीय छन् ।
प्रतिक्रिया