राजनीतिक आडमा विद्यार्थी संगठनकाे अराजकता (भिडियो रिपोर्टसहित)
३० जेठ २०८० काठमाडौं । कुनै बेला राजनीतिक परिवर्तनको बाहक बनेका विद्यार्थी संगठन अहिले अराजकताको केन्द्र बनेका छन् ।
आफ्नो विद्यार्थीका मुद्दामा मौनप्राय विद्यार्थी संगठन चन्दा आतंकमा त बद्नाम छन् नै अहिले त शिक्षकमाथि श्रृंखलावद्ध भौतिक आक्रमणका कारण कलंकित बनिरहेका छन् । राजनीतिक दलको आडमा यस्ता विद्यार्थी संगठनले उनीहरुको औचित्यमै प्रश्न उठाएको छ ।
२०८० जेठ २९ः नेविसंघका विद्यार्थीद्वारा मोरङमा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि मोसो दलेर दुर्व्यवहार।
२०७९ पुस २४ः आफ्ना समर्थक बीबीएसमा भर्ना हुनुपर्ने भन्दै नेविसंघका विद्यार्थीद्वारा काठमाडौंको मीनभवनस्थित नेपाल कमर्श क्याम्पसमा तोडफोड।
२०७९ फागुन २७ः काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा एकीकृत समाजवादी निकट अनेरास्ववियूका कार्यकर्ताको खुकुरी आतंक।
२०७९ चैत १६ः एकीकृत समाजवादी निकट अनेरास्ववियूद्वारा त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीमाथि आक्रमण।
पछिल्लो चार महिनामा विद्यार्थी संगठनका नाममा विश्वविद्यालयमा भएका उदण्ड घटनाका केही उदाहरण हुन् यि। सानातिना र चर्चामा नआएका घटना त कति छन् कति१ त्रिभूवन विश्वविद्यायअन्तर्गतका क्याम्पसमा त हरेक दिनजसो विद्यार्थी संगठनले कुनै न कुनै घटना गराएकै हुन्छन्। जसमध्ये थोरै मात्र चर्चामा आउँछन्। पछिल्लो समय त्रिविकै सिको अरु विश्वविद्यायका विद्यार्थीले पनि गर्न थालेका छन्।
विश्वविद्यालयसँगको सामान्य माग होस् या प्रतिस्पर्धी संगठनसँगको सामान्य मनमुटाव, विद्यार्थी संगठनका नेता(कार्यकर्ता व्यक्ति हमलासहित तोडफोडमा उत्रिहाल्छन्। त्रिभूवन विश्वविद्यालयका अनुसार पछिल्लो एक वर्षमा विद्यार्थी विभिन्न विद्यार्थी संगठनको आवरणमा १८ जनाविरुद्ध कुटपिट, २३ जनाविरुद्ध दुव्र्यवहार र १७५ भन्दा बढि तोडफोडका घटना भएका छन्। यसले प्राज्ञिक थलोमा विद्यार्थी संगठनको अराजकता मौलाउँदै गएको देखाउँछ।
‘दण्डहिनता’ नै विद्यार्थी संगठनको आवरणमा हुने अराजक गतिविधिको मुख्य कारण हो। अपराधमा संलग्न संगठनका विद्यार्थी नेता(कार्यकर्तालाई सम्बन्धित दलबाट संरक्षण हुनु नै अराजकता बढ्नुको मूल कारण हो। यसको एक उदाहरण हो, उपप्राध्यापक प्रेम चलाउनेमाथिको आक्रमण।
२०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले चलाउनेलाई अर्धचेत हुने गरी कीर्तिपुरमा आक्रमण गरे। दाहिने खुट्टा भाँचियो। तर, कांग्रेसको शीर्ष तहकै निर्देशनमा आक्रमण गर्नेलाई धरौटीमा छोडियो भने सरकारले नेविसंघका नेता हरि आचार्य र योगेन्द्र रावलसहित ६ जनाविरुद्धको मुद्दा फिर्ताको प्रयाससमेत गर्यो। दलै पिच्छेका विद्यार्थी संगठन र तिनको उदण्डताका कारण विश्वविद्यालय अराजक गतिविधिको थलो बन्दा पनि राज्यले नियन्त्रणको प्रयास गर्न सकेको छैन।
हिजो (सोमबार) पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई मोसो दल्ने नेविसंघका कार्यकर्ता पनि यो खबर तयार गर्दासम्म पक्राउ परेका छैनन्। राजनीतिक आडमा सुरक्षित हुनेमा सायद उनीहरु ढुक्क छन्। जब अपराधमा पनि राजनीति मिसिन्छ, तब हरेक ठाउँमा अराजकता बढ्छ। विद्यार्थी संगठनले विश्वविद्यालयमा मच्चाइरहेको अराजकताको मूल स्रोत हाम्रा दलहरु हुन्। जसले भावी पुस्तालाई सत्मार्गका लागि प्रोत्साहित गर्न सकेनन् भने प्राज्ञिक थलोलाई गुणराजको केन्द्र बनाए।
प्रतिक्रिया