Main News

दादुरा देशभर फैलँदै, कसरी जोगिने ? (भिडियो रिपोर्टसहित)

२०८० जेठ २८ गते २०:०२
दादुरा देशभर फैलँदै, कसरी जोगिने ? (भिडियो रिपोर्टसहित)

२८ जेठ २०८० काठमाडौं । नेपालले सन् २०२३ मा दादुरा निवारण गर्ने लक्ष्य लिएको थियो । सन् २०१९ मा दादुरा निवारणको लक्ष्य लिए पनि दादुरा संक्रमण बढ्न थालेसँगै २०२३ सम्म यो लक्ष्य सारिएको थियो ।

पछिल्लो समय विभिन्न जिल्लामा संक्रमण फैलिएसँगै दादुरा निवारण गर्ने सरकारको लक्ष्य पुरा नहुने भएको छ । सरकारले योसँगै दादुरा निवारण गर्ने लक्ष्य सन् २०२६ सम्म बनाइदिन विश्व स्वास्थ्य संगठनलाई प्रस्ताव पेश गरेको छ ।

परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका अनुसार हालसम्म १६ वटा जिल्लामा दादुरा संक्रमण फैलिसकेको छ भने ९ सय ५१ जनामा संक्रमित भएका छन् ।

धनुषामा २३, अर्घाखाँचीमा ११, बाजुरामा १८, बाँकेमा ३२९, बर्दियामा ७३, कैलालीमा ४७, कञ्चनपुरमा ४७, कपिलवस्तुमा २३, चितवनमा ४०, दाङमा २९, महोत्तरी १०५, काठमाडौंमा ४, मोरङ ३२, सुनसरीमा ४१, सुर्खेतमा ६५ र सर्लाहीमा ७७ जनामा दादुराका संक्रमित भेटिएका छन् । यी १६ जिल्लामध्ये बाँकेमा सबैभन्दा धेरै संक्रमण पुष्टि भएको थियो ।

बाँकेमा दादुराकै काण एक जनाको मृत्यु समेत भयो । अन्य जिल्लामा पनि संक्रमण फैलने क्रम बढिरहेको छ । दादुरा विरुद्धको खोप बच्चा जन्मिएको ९ महिनामा पहिलो मात्रा र १५ महिनामा दोस्रो मात्रा लगाउनुपर्छ। सरकारले यो खोप निःशुल्क रुपमा उपलब्ध समेत गराएको छ। तर पनि दादुराको संक्रमण किन बढिरहेको छ त रु

दादुरा संक्रमण हुँदा उच्च ज्वरो आउने, खोकी लाग्ने, नाकबाट पानी बग्ने, आँखा रातो हुने, शरीरमा साना राता विमिराहरु देखिने गर्छ । दादुरा अति संक्रामक हुने हुँदा संक्रमितले खोक्दा, हाच्छुयूँ गर्दा सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ ।

दादुरा लागेमा झाडापखाला लाग्ने, कुपोषण हुने, कान पाक्ने, निमोनिया हुने, आँखामा समस्या भई अन्धोपन हुने, मष्तिष्क ज्वरो आउने शरीरमा कम्पन हुने जस्ता समस्याका कारण संक्रमितको मृत्यु समेत हुन सक्छ ।

बच्चा जन्मिएको ९ महिना र १५ महिनाको उमेरमा एक र एक मात्रा गरी दुई मात्रा दादुरा विरुद्धको खोप दिनु नै दादुराबाट बच्न सक्ने उत्तम उपाय भएको अपनाउन चिकित्सकहरुको सुझाव छ । पाँच वर्ष मुनिका बालबालिकाले यो खोप लगाउन छुटेको भए नजिकैको स्वास्थ्य संस्थामा गएर लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरिहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *