निर्मांणाधीन पुलका कारण वस्ती जोखिममा (भिडियो रिपोर्टसहित)

२०८० जेठ २८ गते १६:४१
निर्मांणाधीन पुलका कारण वस्ती जोखिममा (भिडियो रिपोर्टसहित)

२८ जेठ २०८० धादिङ । धादिङको सदरमुकाम धादिङबेसीको सान्तबजारबाट साङकोष जोड्ने थोपल खोलामाथि निर्माणाधीन पुल समयमा नसकिँदा बस्ती नै डुबानको जोखिममा परेको छ ।

निर्माण कम्पनीले पुल ढलानका लागि खोला थुनेर काम गरिरहेकाले बाढी आउँदा आसपासको बजार क्षेत्र डुवानमा पर्ने जोखिम देखिएको छ ।

यो धादिङको नीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ र १२ लाई जोड्न थोपल खोलामा निर्माणाधीन मोटरेवल पुल । निर्माण कम्पनी ज्योति सफल निर्माण सेवाले पुल निर्माणका लागि खोलामा सानो हिमपाइप राखेर पानीलाई निकास दिएको छ ।

तत्काल खोलाको बहाव कम भएकाले सानो हिमपाइपबाट पानीले निकास पाइरहेको छ । तर खोलाको मुहान क्षेत्रमा ठूलो वर्षा भएर खोलाको बहाव बढेमा यहाँ क्षति निम्तिन सक्ने जोखिम छ । खोला थुनिएमा बस्ती नै डुवानमा पर्ने र पुल भत्किन सक्ने हुँदा स्थानीय आतंकित छन् ।

पुल निर्माण सम्पन्न नहुँदा स्थानीयले दैनिक आवातजावतमा सास्ती भोग्दै आएका छन् । ठेकेदारले काम समयमा नसकेर अनेक बाहना बनाउने गरेको स्थानीयको गुनासो छ ।

तीन वर्ष अघि पुल निर्माण सुरु भएकोमा तीन पटक नै म्याद थप भइसकेको छ । लगातार काम गर्दा पनि अझै एक महिना भन्दा बढि समय लाग्ने देखिन्छ । पुल निर्माण सम्पन्न नहुँदा मालेवगर आसपासको क्षेत्र डुवानको उच्च जोखिममा छ । सरकारी निकाय भने बाढी आउने संकेत भएमा खोलालाई निकास दिइने भएकाले डुवानको जोखिम नहुने दाबी गर्छ ।

यो पुल बनाउन बागमती प्रदेश सरकारले चार करोड ८२ लाख रुपैयाँ लगानी गरेको छ । प्रदेश सरकारको लगानीमा निर्माणाधीन अन्य तीन पुलको अवस्था पनि उस्तै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *