२८ जेठ २०८० काठमाडौं । यस सिजन सनसनीपूर्ण प्रदर्शन गरिरहेको इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले पहिलो पटक च्याम्पियन्स लिग जित्न सफल भयो । इङ्ग्लिस फुटबलमा लगातार वर्चश्व कायम गरेपनि सिटीले पहिलो पटक युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि जितेको हो । यससँगै सिटीले विश्व फुटबलमा निकै कठिन मानिने ट्रेबल सफलता पनि पाएको छ ।
टर्कीको इस्तानबुलस्थित एटाटर्क ओलम्पिया स्टेडियममा शनिबार राति फाइनलमा इन्टर मिलानलाई हराउँदै म्यानचेस्टर सिटीले पहिलो पटक च्याम्पियन्स लिग जित्यो । इङ्ग्लिस फुटबलमा राम्रै वर्चश्व बनाएपनि सिटी २०२०–२१ मा च्याम्पियनस लिगको उपविजेता बन्नु नै अहिलेसम्मको ठूलो सफलता थियो । तर क्लबलाई पहिलो पटक च्याम्पियन बनाउन खेलको दोस्रो हाफमा स्पेनिस मिडफिल्डर रोड्रीले गरेको गोल नै निर्णायक बन्यो ।
यो जितसँगै सिटीले च्याम्पियन्स लिग उपाधिको लामो प्रतीक्षा अन्त्य गरेको छ । सँगै विश्व फुटबलमा निकै कठिन मानिएको ट्रेबल सफलता पनि पाएको छ । इङ्ग्लिस क्लबमध्ये यो सफलता छिमेकी क्लब म्याचेस्टर युनाइटेडले पनि पाएको छ ।
युनाइटेडले सन् १९९८–९९ सिजन यो उपलब्धि पाएको थियो । त्यही चीरप्रतिद्वन्द्वी युनाइटडेलाई हराउँदै यस पटक एफए कप जितेको सिटीले आर्सनललाई पन्छाउँदै प्रिमियर लिग जितेको थियो । एकै सिजन यिनै महत्वपूर्ण सफलता पाउँदै सिटीले ट्रेबल जितेको हो ।
ट्रेबल भन्नाले फुटबलमा एकै सिजन ३ वटा फरक फरक उपाधि जित्नुलाई बुझिन्छ । यसलाई डोमेस्टिक ट्रेबल र कन्टिनेन्ट ट्रेबलको नाममा २ भागमा विभाजन समेत गरिन्छ । डोमेस्टिक ट्रेबलमा घरेलु लिग, राष्ट्रिय प्रतियोगिता र सहायक वा राज्यस्तरको प्रतियोगिताको उपाधिलाई मध्यनजर गरिन्छ । कन्टिनेन्ट ट्रेबलमा भने घरेलु लिग, मुख्य राष्ट्रिय प्रतियोगिता र कन्टिनेन्टल कपको उपाधिलाई आधार मानिन्छ ।
यसरी एकै सिजन ३ महत्वपूर्ण उपाधि जित्दै ट्रेबल सफलता पाएका थोरैमात्र क्लबहरु छन् । शनिबार राती च्याम्पियन्स लिग जित्दै सिटी ट्रेबल सफलता पाउने आठौं क्लब बनेको छ । कन्टिनेन्टल ट्रेबल सबै भन्दा पहिले स्कटल्याण्डको सेल्टिकले सन् १९६७ मा पाएको थियो ।
त्यसपछि नेदरल्याण्डको आयाक्स, पिएसभी आइन्डहोभेन, इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस क्लब बार्सिलोना, इटालियन क्लब इन्टर मिलान, जर्मन क्लब बायर्न म्युखिनले मात्र यो सफलता पाएका छन् । बार्सिलोना र बायर्न म्युखिनले २–२ पटक ट्रेबल सफलता पाएका छन् । पछिल्लो पटक सन् २०१९–२० को सिजन बायर्नले बुण्डेस लिगा, डिएफबी पोकल र च्याम्पियनस लिग जित्दै ट्रेबल गरेको हो ।
यो तथ्यांकले के देखाउँछ भने कुनै पनि क्लबका लागि एकै सिजन ठूला ३ उपाधि जित्नु कठिन सफलता हो । यो नतिजाले सिटीका प्रशिक्षक पेप गुआर्डीओलालाई विश्वकै सर्वाधिक सफल मध्यको प्रशिक्षकका रुपमा स्थापित गरेको छ । किनकी बार्सिलोनाले पहिलो पटक २००८–०९ मा ट्रेबल गर्दा उनै गुआर्डीओला टोलीका प्रशिक्षक थिए । त्यो सहित उनले बार्सिलोनालाई २ पटक र सिटीलाई १ गरी ३ पटक च्याम्पियनस लिग जिताए ।
उनी पछि यो सफल कीर्तिमानमा जोडिएका छन्, अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेज । यस सिजन सिटीको ३ उपाधिमा महत्वपूर्ण सदस्य रहेका २३ वर्षीय अल्भारेज राष्ट्रका लागि यसै सिजन फिफा विश्वकपको उपाधि समेत दिलाएका थिए ।
यसर्थ विश्वक सहित एकै सिजन चार उपाधि जित्ने अल्भारेज पहिलो खेलाडी बने । यस सिजन १७ गोल सहित सिटीका दोस्रो सर्वाधिक गोलकर्ता बनेका उनी कतार विश्वकपमा ४ गोल गर्दै तेस्रो स्थानमा थिए ।
प्रतिक्रिया