Main News

प्रचण्ड र बाबुरामलाई कारबाही माग गर्दै सर्वोच्चमा रिट दर्ता

हिमालय टिभी
२०८० जेठ २८ गते १४:४८
प्रचण्ड र बाबुरामलाई कारबाही माग गर्दै सर्वोच्चमा रिट दर्ता

२८ जेठ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । रिटमाथि पर्सि मंगलबार सुनुवाइको मिति तोकिएको छ ।

सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध बालकलाई तत्कालीन विद्रोही माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिनु भएको हो ।

यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै दरपीठ गरिदिएको थियो । दरपीठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो ।

रिटमा दुबै नेतालाई युद्ध अपराधमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउन माग गरिएको छ । यसक्रममा प्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बनमा राख्नुपर्ने समेत रिटमा माग गरिएको छ । आफूहरुलाई अयोग्य लडाकू भनेर अपमान नगर्न पनि आदेश दिनुपर्ने रिट निवेदकको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *