राजनीति

माओवादी बाहिरिएपछि कोशी सरकार अल्पमतमा, नेतृत्वमा हानाथाप (भिडियो रिपोर्टसहित)

२०८० जेठ २३ गते २१:२४
माओवादी बाहिरिएपछि कोशी सरकार अल्पमतमा, नेतृत्वमा हानाथाप (भिडियो रिपोर्टसहित)

२३ जेठ २०८० मोरङ । कोशी प्रदेशको दोस्रो प्रदेशसभाबाट निर्माण भएको हिक्मत कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ ।

सरकारमा सहभागी माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कार्कीले विश्वासको मत लिनुपर्ने भएको छ । संसदीय अंकगणितका कारण कार्कीको सरकार ढलेपनि नयाँ सरकार बन्न मुस्किल छ । यसले कोशी प्रदेशमा अस्थिरता निम्तिने देखिएको छ ।

नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमै फिर्ता लिने निर्णय गरेको छ । सरकारमा माओवादी केन्द्रबाट २ जना मन्त्री भएका थिए । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा दुर्गाप्रसाद चापागाईं र वन, पर्यटन तथा वातावरण मन्त्रालयमा जीवन आचार्य मन्त्री थिए । माघ ६ मा नियुक्त भएका मन्त्रीले मंगलबार राजीनामा बुझाएका छन् । सरकारबाट बाहिरिएसँगै माओवादीले आफ्नो नेतृत्वमा सरकार बन्ने दावी गरेको छ ।

यसअघि नै जसपाले मन्त्रीलाई फिर्ता बोलाउने र समर्थन पनि फिर्ता लिने निर्णय गरिसकेको छ । गत जेठ १६ गते निर्मला लिम्बूले स्वास्थ्य मन्त्रीबाट राजीनामा दिनुभएको थियो । तर, जसपाले अहिलेसम्म संसद सचिवालयमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ताबाट औपचारिक जानकारी भने दिएको छैन ।

कांग्रेसले जेठ ४ गते केन्द्रीय सत्ता गठबन्धनमा रहेका दललाई प्रदेश सरकारबाट फिर्ता हुन गरेको निर्णय कार्यान्वयन भएकोमा खुसी व्यक्त गरेको छ । र, नयाँ सरकार आफ्नो नेतृत्वमा बन्ने लबिङ गरेको छ । यद्यपी, केन्द्रको निर्णय नै अन्तिम हुने कांग्रेसको भनाइ छ ।

एमाले, माओवादी, राप्रपा र जसपाको गरी ५९ सांसदको समर्थनमा कार्की गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । माओवादीको १२ र जसपाको १ सांसदले समर्थन फिर्ता लिएसँगै कार्की नेतृत्वको सरकार स्पष्ट अल्पमतमा पर्नेछ । राप्रपाले एमालेलाई नै साथ दिँदा नयाँ सरकार बन्न पनि मुस्किल छ । धेरैले सभामुखलाई राजीनामा गराएर सरकार बनाउने तयारी भएको बताएपनि माओवादी भने तत्काल त्यस्तो योजना नरहेको दावी गर्छ ।

संवैधानिक प्रक्रिया अनुसार सरकारमा सहभागी कुनै पनि राजनीतिक दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । एमालेले नीति तथा कार्यक्रम र बजेट ल्याउने समयमा यस किसिमको अभ्यास भएकोमा खेद प्रकट गर्दै संसद फेस गर्न तयार रहेको जनाएको छ ।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् । केन्द्रको सत्ता गठबन्धन दल मिल्दा बहुमत सङ्ख्या ४७ सांसद पुग्छन् । तर सभामुख गठबन्धन दलबाटै भएको कारण विश्वासको मत लिने समयमा भने त्यो सङ्ख्या ४६ मात्रै हुनसक्छ । त्यसैले सभामुखलाई राजीनामा गराएरै भएपनि नयाँ सरकार बनाउने गठबन्धनको योजना छ । यदि त्यसो नभएको खण्डमा कोशी प्रदेश मध्यावधि निर्वाचनमा जानेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्