आकर्षणको केन्द्र बन्दै मनमोहक फुङफुङे झरना (भिडियो रिपोर्टसहित)

२०८० जेठ २० गते १६:५५
आकर्षणको केन्द्र बन्दै मनमोहक फुङफुङे झरना (भिडियो रिपोर्टसहित)

२० जेठ २०८० ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको साँवामा पर्छ, फङफङदेन अर्थात फुङफुङे झरना ।

पूर्वाधार निर्माण र प्रचार प्रसारले लय समाएपछि फुङफुङे झरना आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । पहाडको चट्टाने ढुङ्गाको कापबाट झर्ने कञ्चन पानीको दृश्य जति मनमोहक छ, वरपर उति नै शितल पनि ।

ताप्लेजुङको कंञ्चनजंघा हिमाल घुमफिर गर्न जाँदा होस या पाथिभरा माताको दर्शन गर्न जाँदा छुटाउनै नहुने गन्तब्य बनेको छ, फुङफुङे झरना । स्थानीय तहको सरकार गठन हुनुपूर्व झरना गुमनामझै थियो ।

तर स्थानीय सरकार गठनसँगै झरनाको प्रचार प्रसार र पूर्वाधार निर्माणले पर्यटकीय गन्तव्य बनेको छ । त्यहाँसम्म पुग्ने सडक बनेपछि ताप्लेजुङ जाने प्राय पर्यटकले फुङफुङे झरना छुटाउँदैनन् ।

झरनाको फेदमा बन्दै गरेको ७३ मेगावाटको मध्यमेवा जलविद्युत आयोजनाका कारण सडक मर्मत तथा स्तरोन्नती भइरहेको छ । जसले गर्दा पालिकालाईमात्र होइन, स्थानीयलाई समेत ठूलो राहत मिलेको छ । झरना हेर्न पुग्ने पर्यटकका कारण स्थानीयको व्यापार बढेको छ । झरनामात्र होइन, त्यहाँ लिम्बु समुदायको धान नाचदेखि मौलिक परम्पराको अवलोकन गर्न पाइन्छ ।

सडक, विजुली, खानेपानी र होमस्टे सुरु भएकाले थप संरचना बन्दै जानेमा स्थानियबासी ढुक्क छन् । गाउँपालिकाको समेत प्राथमिकताको आयोजना भएकाले भविष्यमा पर्यटकीय हब हुने आशा जगाएको छ । सदरमुकामदेखि ४५ किलोमिटर कच्ची सडकको यात्रामा एकतर्फी ८ सय ५० रुपैयाँ भाडा खर्च गरेर पुगिने भएकाले प्राय आन्तरिक पर्यटक पुग्ने गरेको छ ।

करिव एक सय ८० मिटर उचाईबाट बाह्रै महिना पानी झर्छ । ताप्लेजुङ पुग्ने जोकोहिले छुटाउनै नहुने गन्तब्यका रुपमा स्थापीत गराउनका लागि स्थानीय नागरिकसँगै स्थानीय सरकार पनि प्राथमिकताका साथ योजना बनाइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *