केन्द्रको बेथिति पालिकामा सर्दै (भिडियो रिपोर्टसहित)

१९ जेठ २०८० बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्ज कार्यालयमा परेका उजुरीमध्ये धेरै उजुरी स्थानीय पालिकाविरुद्ध छन् । अख्तियारको नेपालगञ्ज कार्यालयमा बाँके जिल्लाका ८ वटा स्थानीय तहविरुद्ध यो वर्ष मात्रै १०६ वटा उजुरी परेका छन् ।
नेपालगन्ज उप–महानगरपालिकाबिरुद्ध ३१, कोहलपुर नगरपालिकाबिरुद्ध २१, नरैनापुर गाउँपालिकाविरुद्ध १९, खजुरा नगरपालिकाविरुद्ध ११, जानकी गाउँपालिकाविरुद्ध ९, डुडुवा गाउँपालिकाविरुद्ध ६, राप्ती सोनारी गाउँपालिकाविरुद्ध ५, बैजनाथ गाउँपालिकाविरुद्ध ४ वटा उजुरी परेको अख्तियारको नेपालगञ्ज कार्यालयले जनाएको छ ।
त्यसैगरी शिक्षा, वन, पुर्वाधार क्षेत्रमा भ्रष्ट्राचारका उजुरी दर्ता भइरहेका छन् । अख्तियारमा परेका अधिकांश उजुरीमा गलत ईस्टिमेट तयार पारेको, ठूला योजनालाई टुक्रयाएर धेरै जनालाई बजेट बाँड्ने काम गरेको, सामाग्री खरिद गर्दा कानूनको उल्लंघन गरेको, आवस्यकताभन्दा धेरै सामग्री खरिद गरेर अनियमितता गरेको उल्लेख छ ।
त्यसैगरी आवश्यक कार्यविधि तथा मापदण्ड नबनाई खरिद गर्ने गरेको, सरोकार नै नभएको व्यक्तिलाई उपभोक्ता समितिमा राखेको, विना प्रतिष्पर्धा आफ्ना मान्छेलाई नियुक्ति दिएको जस्ता विषय छन् ।
चुनावमा दिएको आश्वासन पूरा गर्नका लागि कानूनको पालना नगर्ने र कर्मचारीलाई दबाब दिने प्रबृत्तिका कारण स्थानीय तहमा अनियमितता भइरहेको र उजुरी पनि बढिरहेको जनप्रतिनिधिको बुझाई छ ।
प्रचलित नियम कानून, विधि र प्रकृया मिच्न खोज्दा उजुरी बढ्दै गएका हुन् । त्यसो त कतिपय उजुरी व्यक्तिगत र राजनीतिक प्रतिशोधका कारण पनि आउने गरेको अख्तियारको बुझाइ छ ।
प्रतिक्रिया