रत्नमन्दिर गणतन्त्र दिवसकै दिन सर्वसाधारणका लागि खुला (भिडियो रिपोर्टसहित)

२०८० जेठ १५ गते १४:२६
रत्नमन्दिर गणतन्त्र दिवसकै दिन सर्वसाधारणका लागि खुला (भिडियो रिपोर्टसहित)

१५ जेठ २०८० कास्की । देशमा गणतन्त्र आएपछि पनि रहस्यमै रहेको पोखराको राजदरबार मानिने रत्नमन्दिर गणतन्त्र दिवसकै दिन सर्वसाधारणका लागि खुला गरिएको छ ।

आफ्नै आँगनमा रहेको पूर्वराजाको दरबार हेर्न पोखरेलीले १५ वर्ष कुर्नुपर्‍यो । गणतन्त्र प्राप्तिको १५ वर्षपछि आंशिक रुपमा खुला गरिएको रत्नमन्दिरले पर्यटकीय नगरी पोखरामा पर्यटकको बसाई लम्ब्याउने अपेक्षा गरिएको छ ।

तत्कालिन राजा महेन्द्र शाहले पोखरा फेवा किनारमा टहलिन र तनावमुक्त भएर बास बस्ने परिकल्पना गरेर रत्नमन्दिरको निर्माण गरेका थिए । २०१५ सालमा त्यसलाई महेन्द्रले कान्छी रानी रत्नको नामबाट रत्नमन्दिर नामाकरण गरिदिए । २०६२–०६३ को जनआन्दोलनले राजा फालेर गणतन्त्र ल्याइसकेपछि पनि पोखराको ‘राजदरबार’ मानिने रत्नमन्दिर भने रहस्यमै रह्यो ।

गणतन्त्र आए पनि पोखरेलीले आफ्नै आगनमा रहेको राजदरबारको अवलोकन गर्न समेत पाएका थिएनन् । नागरिक स्तरको दवाव, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको पहलपछि सोमबारबाट रत्नमन्दिर आशिंक रुपमा खुल्ला भएको छ ।

पूर्व राजपरिवारले प्रयोग गर्ने दरबार ऐतिहासिक महत्व पनि भएकाले पर्यटकीय नगरी पोखरामा यसलाई महत्वका साथ हेरिएको छ । पोखराका पर्यटन व्यवसायी पनि उत्साही छन् । रत्नमन्दिर आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्र बन्ने र कम्तीमा पनि १ दिन बसाईं लम्बिने विश्वास गरिएको छ ।

लामो समयको प्रयासपछि रत्नमन्दिर खोलेपनि यसलाई थप व्यवस्थित बनाउँदै पर्यटक मैत्री बनाउन भने बाँकी छ । रत्नमन्दिरसँगै रहेको हिमगृहको मर्मतको काम बाँकी रहेकाले रत्नमन्दिर ‘दरबार’ भित्र तत्कालिन राजपरिवारले प्रयोग गर्ने कोठादेखि सरसामान हेर्न नागरिकले अझै केही समय कुर्नुपर्नेछ ।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको ११४ रोपनी क्षेत्रफलमा फैलिएको रत्नमन्दिरमा प्रशासनिक भवन, फेवातालसँगै ताल घर, सैनिक बस्ने ३८ कोठे लामो भवन छ । मुख्य भवनमा ११ कोठा छन् । तत्कालिन राजारानीले सुतेका कोठा, आराम गर्ने र खाना खाने कोठाहरु छन् । अहिले नेपाल ट्रस्टले सञ्चालन कार्यविधि तयार पारिसकेको छ भने सय रुपैयाँको टिकट काटेर जनताले हेर्न पाउने गरी खुला गर्न लागिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *