राजनीति

कोशीमा हिक्मत नेतृत्वको सरकार कायमै, जसपा-माओवादीसँग कांग्रेस असन्तुष्ट (भिडियो रिपोर्टसहित)

२०८० जेठ १३ गते १८:०३
कोशीमा हिक्मत नेतृत्वको सरकार कायमै, जसपा-माओवादीसँग कांग्रेस असन्तुष्ट (भिडियो रिपोर्टसहित)

१३ जेठ २०८० मोरङ । नयाँ गठबन्धन बनेपछि केन्द्र र ६ वटा प्रदेशका सरकार फेरिइसकेको अवस्थामा कोशी प्रदेशको नेतृत्व परिवर्तन भएको छैन ।

संघीय गठबन्धनमा रहेका नेकपा माओवादी र जनता समाजवादी पार्टी पछि नहट्दा हिक्मत कार्की नेतृत्वको सरकार कायम छ । समर्थन फिर्ता लिन गरेको आग्रह नटेरेको भन्दै नेपाली कांग्रेस जसपा र माओवादीसँग असन्तुष्ट छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन फागुन १३ गते भत्किएपछि केन्द्र र ६ वटै प्रदेशमा नयाँ सरकार बने । तर एमालेकै नेतृत्वको कोशी प्रदेशको सरकारलाई नयाँ गठबन्धनले अझै भत्काउन सकेको छैन । बरु माओवादी केन्द्र र जनता समाजवादी पार्टीले एमालेलाई दिएको समर्थन फिर्ता नलिँदा नेपाली कांग्रेस सशंकित छ ।

कांग्रेसले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने कानूनी प्रावधानका कारण पनि अहिलेको सरकार छिटो फेर्न चाहन्छ । तर, माओवादी र जसपा शीर्ष नेताको ग्रिन सिग्नलको पर्खाईमा छन् ।

पुस २५ गते गठन भएको वर्तमान सरकारले बजेट ल्याउँदा आफ्नो योजना नपर्ने र कतै एमाले÷माओवादी मिलेर अघि बढे सत्ता आफ्नो हातमा पर्दैन कि भन्ने शंका कांग्रेसमा देखिन्छ । तर माओवादी अझै केही समय पर्खिने योजनामा छ ।

एमाले भने सरकार टिकाउने उपाय खोजिरहेको छ । राप्रपाले साथ दिइरहेको अवस्थामा एमालेलाई सहज अवस्था छ र, उ आधा कार्यकाल नै भएपनि संचालन गर्ने दाउपेचमा छ ।

६ जना प्रदेश सांसद रहेको राप्रपा कोशी प्रदेशमा महत्वपूर्ण भूमिकामा छ । उसले कांग्रेससँग छलफल चलाईरहेको छ । परिस्थिती अनुकुल भएको अवस्थामा राप्रपाले मुख्यमन्त्री पाउन सक्ने कुरा नकार्न सकिन्न ।

हालको अवस्थामा कोशी प्रदेश सरकारमा सामेल एक दलले समर्थन फिर्ता लिएको खण्डमापनि सरकार ढल्न सक्छ । तर नयाँ सरकार बनाउन भने सहज छैन । ९३ सदस्यीय कोशी प्रदेशमा एमाले र राप्रपाको ४६ सिट छ भने कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाको पनि ४७ छ । तर, माओवादीका सभामुखले मत हाल्न नपाउने भएका कारण विश्वासको मत पाउने अवस्था अर्को गठबन्धनमा पनि रहन्न ।

जटिल अंकगणितका कारण नयाँ गठबन्धनको सरकार बन्न कठिन भइरहँदा कोशी प्रदेशका नेताहरु केन्द्रमा दौडधुप गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्