Main News

नागढुंगा-सिस्ने खोला सुरुङ मार्ग निर्माण सम्पन्न गर्न अझै दुई वर्ष लाग्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ १२ गते २०:३४
नागढुंगा-सिस्ने खोला सुरुङ मार्ग निर्माण सम्पन्न गर्न अझै दुई वर्ष लाग्ने (भिडियो रिपोर्टसहित)

१२ जेठ २०८० काठमाडौं । अरु आयोजना भन्दा तीव्र गतिमा काम भइरहेको भनिएको नागढुंगा-सिस्ने खोला सुरुङ मार्ग निर्माण सम्पन्न गर्न अझै दुई वर्ष लाग्ने भएको छ ।

४२ महिनाभित्र काम सक्नुपर्ने गरी ठेक्का सम्झौता गरिएको यो आयोजनाको २०७६ कात्तिक २४ गते शिलान्याश भएको थियो । तर मुआब्जा वितरण लगायतका कारणले आयोजनाको अवधि लम्बिएको हो ।

काठमाडौं प्रवेशको प्रमुख र महत्वपूर्ण द्वारका रुपमा रहेको नागढुंगा–सिस्ने खोला सुरुङ मार्ग निर्माण सुरु भएको तीन वर्ष पूरा भइसकेको छ । ४२ महिनामा सम्पन्न गर्ने गरी जापानको हाज्मा एन्डो निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार आयोजना सम्पन्न नहुने भएपछि आगामी २०८१ वैशाख १२ गतेसम्मलाई म्याद थप गरिसकिएको छ ।

जापानको साढे १६ अर्ब ऋण र बाँकी नेपाल लगानी रहने गरी २२ अर्ब रुपैयाँ लागतको यो आयोजनामा १२ अर्ब ८३ करोड खर्च भइसक्दा काम भने ५३.४२ प्रतिशत मात्र हुन सकेको छ । आयोजनाका अनुसार हालसम्म सुरुङमार्ग निर्माणको ८० प्रतिशत प्रगति हुँदा अन्य भौतिक संरचना निर्माणको काम धेरै नै बाँकी छ ।

२ दशमलव ६८ किलोमिटर लामो मुख्य सुरुङमार्गको धादिङतर्फ १ दशमलव ७६ किलोमिटर र काठमाडौं तर्फ शून्य दशमलब ९२ किलोमिटर सुरुङ खनीसकिएको छ । त्यस्तै आपत्कालीन सुरुङ भने २ दशमलब ३० किलोमिटर खनिएको छ । अन्य पूर्वाधारतर्फ अहिलेसम्म ३ वटा अन्डर पास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास र ३ वटा पुल निर्माण भइसकेका छन् ।

आयोजनाले द्रुत गतिमा काम भइरहेको दाबी गर्दै आए पनि काठमाडौंतर्फ मुआब्जा वितरण गर्न नसक्दा गति कम भएको छ । तोकिएको समयमा काम नसकिने भएरै म्याद थपिएको नागढुंगा–सिस्ने खोला सुरुङ आयोजना बताउँछ ।

स्पष्ट कानूनको अभावमा मुआब्जा वितरण विवाद लम्बिरहेको आयोजनाको बुझाइ छ । तर सरकार भने यी विवाद समाधान गरेर सुरुङमा आगामी वर्षदेखि नै गाडी कुदाउने दाबी गर्छ ।

मुआब्जा निर्धारण, वितरण, पुनस्र्थापना लगायतका समस्याले आयोजनाको काम बेलाबेलामा प्रभावित भएको छ । यी कुराको व्यवस्थापन नगरेको भन्दै निर्माण कम्पनीले काम रोकिएको समयको क्षतिपूर्ति सरकारबाट लिने गरेको समेत छ । तर सरकारले अझै पनि राम्रो सँग समन्वयकारी भूमिका नखेलिदिने र मन्त्रीसहित अन्य अधिकारीहरु अनुगमन वा अवलोकनका नाममा स्टन्टबाजीमा मात्रै रमाउने गर्दा आयोजनाको काम अपेक्षित गतिमा हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *