Main News

एमालेले संसद अवरोध गर्ने कारण बनेको जलहरी प्रकरण के हो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ १२ गते २०:२१
एमालेले संसद अवरोध गर्ने कारण बनेको जलहरी प्रकरण के हो ? (भिडियो रिपोर्टसहित)

१२ जेठ २०८० काठमाडौं । संसद अवरुद्ध गर्न माहिर मानिने नेकपा एमालेले बजेट अधिवेशनमा पनि त्यसको सुरुवात गरेको छ।

सत्तापक्षले आफ्ना नेता केपी शर्मा ओलीलाई पशुपतिनाथमा चढाइएको जलहरीसँग जोडेर बद्नाम गर्न खोजेको भन्दै एमालेले आज संसद बैठकमा अबरोध गरेको हो। यसअघि नै सार्वजनिक टिप्पणी र महालेखा परीक्षकको प्रतिवेदनमा समेत प्रश्न उठाइएको जलहरी प्रकरणलाई जेठ १० गते माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने सांसद लेखनाथ दाहालले संसद प्रवेश गराएका थिए। दाहालले बिना प्रमाण आरोप लगाएको भन्दै एमालेले आपत्ति जनाएको हो।

संसद बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने सांसद उभिए। र, सभामुख देवराज घिमिरेले सो दलका प्रमुख सचेतक पदम गिरीलाई समय दिए। गिरीले सत्तापक्षबाट प्रतिनिधित्व गर्ने सांसद लेखनाथ दाहालले जेठ १० गतेको बैठकमा तत्कालिन प्रधानमन्त्री केपी ओलीले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै र सो आरोप कायमै राखेर संसद बैठक चल्न नसक्ने जानकारी गराए।

पटकपटक बस्न गरेको आग्रह एमालेबाट प्रतिनिधित्व गर्ने सांसदले अस्वीकार गरेपछि सभामुख घिमिरेले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई समय दिए। नेम्वाङले पनि सांसदले संसदको रोष्टमबाट लगाएको आरोप बोकेर बस्न नसकिने भन्दै दूधको दूध पानीको पानी नभएसम्म संसद चल्न नदिने स्पष्ट पारे।

नेम्वाङले दलीय धारणा राखे लगत्तै सभामुख घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए। पाण्डेले संसदमा बोल्न पाउनु पर्ने तर्क गरे।

सभामुखले पाण्डेलाई समय दिएपछि थप आक्रोशित भएका एमालेबाट प्रतिनिधित्व गर्ने सांसदले वेल घेरेर नाराबाजी थाले।

बैठक अगाडि नबढ्ने छनकपछि सभामुख घिमिरेले फेरि बस्ने गरी बीस मिनेटका लागि स्थगित गरे। बीस मिनेटपछि भनिएको बैठक ३ बजे मात्रै बस्यो।

जेठ १० गतेको बैठकमा सांसद दाहालले के भनेका थिए ।

दाहालको यो भनाइ संसदको रेकर्डबाट हटाउनु पर्ने र उनले माफी माग्नुपर्ने नभए सुनको जलहरीको जाँच गर्नुपर्ने एमालेको माग थियो। एमालेले संसदमा विरोध गर्नुअघि दाहालको अभिव्यक्तिबारे चर्चा भएको थिएन।

अब, जलहरी प्रकरणबारे संक्षिप्त चर्चा गरौं
केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा २०७७ फागुन १२ गते पशुपतिमा पछि १२ किलो सुन थप्ने गरी ९६ किलोको जलहरी राखिएको थियो। पशुपति क्षेत्र विकास कोषकाअनुसार पछि १२ किलोसमेत थपेर १०८ किलोकै सुनको जलहरी राखिएको छ। सांसद दाहालले चाहिँ त्यो जलहरी सुनको होइन पित्तलको हो भनेर आरोप लगाएका हुन्।

पशुपतिमा हालिएको जलहरीबारे पहिलोपटक प्रश्न उठेको भने होइन।

महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदन-२०७९ मै यसबारे उल्लेख छ। प्रतिवेदनमा ‘पशुपति शिवलिङ्गको गर्भगृहलाई पूणर्रूपमा ढाक्ने गरी गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन रू. ८० करोड ११ हजारमा खरिद गरेको र विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२ दशमलब ७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४ दशमलब ७५ ग्राम सुन कायम भएको’ उल्लेख छ।

निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किला लगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ।

‘रिङ बनाउन प्रयोग भएको सुनको मूल्य रू. ७ करोड ८६ लाख ४६ हजार रहेको छ। जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूणर् परिमाण रिङ्ग बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन,’ महालेखाको प्रतिवेदनमा भनिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *