राजनीति

कोशी प्रदेशमा मुख्यमन्त्रीहरु सरकारी पैसा दुरुपयोग गर्दै, ५ वर्षमा बाँडे ८० करोड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ १० गते २१:०४
कोशी प्रदेशमा मुख्यमन्त्रीहरु सरकारी पैसा दुरुपयोग गर्दै, ५ वर्षमा बाँडे ८० करोड (भिडियो रिपोर्टसहित)

१० जेठ २०८० काठमाडौं । संघ सरकारको सिको गर्दै कोशी प्रदेश सरकारले व्यक्तिलाई आर्थिक सहायताको नाममा एक अर्बको हाराहारीमा रकम बाँडेको छ ।

तत्कालीन शेरधन राई, राजेन्द्र राई हुँदै वर्तमान हिक्मत कार्की नेतृत्वको सरकारले पनि उपचार सहायता, विपत सहायता लगायतका शीर्षकमा आर्थिक सहायताका नाममा एक हजार पाँच सय ९० जनालाई २५ हजारदेखि पाँच लाखसम्म रकम बाँडेको पाइएकोछ । देश आर्थिक संकटमा परिरहेका बेला प्रदेश सरकार भने सस्तो लोकप्रियता र सत्ता जोगाउनका लागि अनेक विवादास्पद काममा केन्द्रित छ ।

देशमा विकास निर्माणका कामको भुक्तानी दिन समस्या भइरहेका बेला हिक्मत कार्की नेतृत्वको सरकारले सहायता रकमका नाममा चार महिनामा १४ करोड ५४ लाख ७५ हजार बाँडेको छ । रकम पाउनेमा सर्वसाधारणदेखि सम्पन्न, प्रतिष्ठित व्यक्ति र प्रदेश सांसदसमेत छन् ।
सामाजिक विकास मन्त्री बुद्धिकुमार राज भण्डारीले आन्द्रा बटारिएको शीर्षकमा ९१ हजार ८ हजार १ सय रुपैयाँ बुझेका छन् ।

हिक्मत कार्की नेतृत्वको सरकारले गएको फागुन महिनामा जनयुद्ध, दोस्रो आन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलनका क्रममा सहादत प्राप्त १४ सय ५० परिवारलाई जनही एक एक लाख रुपैयाँ बाँडेको छ ।

प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनमा ज्यान गुमाएका पदमबहादुर लिम्बुको परिवारलाई तीन लाख प्रदान गरेको छ ।
त्यसैगरी ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ६ निवासी एसिड पीडित बालिका पवित्रा कार्कीलाई उपचार खर्च बापत एक लाख ७५ हजार रुपैयाँ प्रदान गरेको छ ।

कोशी प्रदेश सरकारले यसरी सहायता रकम वितरण गरेको पहिलो भने होइन । पछिल्लो चार आर्थिक वर्षमा प्रदेश सकारले एक हजार पाँच सय ९० जनालाई ९३ करोड ८५ लाख ३० हजार रुपैयाँ वितरण गरेको हो ।

एमालेका शेरधन राई, एकीकृत समाजवादीका राजेन्द्र राई र एमालेका हिक्मत कार्की नेतृत्वको तीनवटै सरकार राज्यको ढुकुटी दोहनमा उद्यत छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार शेरधन राई र राजेन्द्र राईको नेतृत्वको सरकारले विभिन्न शीर्षकमा ७९ करोड ३३ लाख ५५ हजार ५०० रुपैयाँ बाँडेको देखिन्छ ।

शेरधन राई नेतृत्वको प्रदेश सरकारले मन्त्री परिषद्‍बाट निर्णय गदै धनकुटाको खोकू छिन्ताङ घटनामा मारिएका १६ जनाको परिवारलाई राहत स्वरुप पाँचरपाँच लाख रुपैयाँ दिएको थियो । संघीय सरकारले तीनै परिवारलाई २०७४ मा १०–१० लाख बाँडेको थियो ।

सोही सरकारले आर्थिक वर्ष २०७७ पुस एमालेको तर्फबाट प्रदेशसभा सदस्य रहेको तत्कालीन प्रदेश सभा सदस्य अर्जुन राई, नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य शान्ता पौडेल र सज्जाकुमारी दनुवार र राप्रपाकी प्रदेश सभा सदस्य इन्दिरा राईले उपचार शीर्षकमा जनही २ लाख रुपैयाँ आर्थिक सहायता बुझेका छन् ।

प्रदेश सभासदस्य राईले मुटु रोग उपचार शीर्षकमा, दनुवारले मेरुदण्ड, आँखा र अन्य रोग उपचार शीर्षमा आर्थिक सहायता लिएको देखिएको छ ।

राजेन्द्र राईको नेतृत्वको सरकारलेपनि एक करोड बढी रकम बाँडेको थियो ।

२०७४ फागुन ३ मा प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका शेरधन राईको तीन बर्ष सरकारको नेतृत्व गरेका थिए । त्यसअघि ०७८ भदौ १० मा एमालेकै नेता भीम आचार्य प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

२०७८ कार्तिक १६ गते प्रदेश १ को तेस्रो मुख्यमन्त्री राजेन्द्र राई नियुक्त भएका थिए । त्यसपछि प्रदेशको दोश्रो कार्यकालको पहिलो मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा २०७९ पुस २४ मा एमालेका नेता हिक्मत कार्कीले प्रदेशको नेतृत्व गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्