Main News

पूर्वमन्त्रीका कर्तुत- अहिलेसम्म कुन–कुन मन्त्री गए जेल ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ २ गते २१:१५
पूर्वमन्त्रीका कर्तुत- अहिलेसम्म कुन–कुन मन्त्री गए जेल ? (भिडियो रिपोर्टसहित)

२ जेठ २०८० काठमाडौं । २०४८ साल पछि ३१ वर्षको अवधिमा मुलुकले २५ गृहमन्त्री, २१ अर्थमन्त्री, ५१ ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पाइसकेको छ।

मन्त्री भएर झण्डा हल्लाउनेको संख्या त १ हजार नाघिसकेको छ। तिनै मन्त्री वा पूर्व मन्त्रीहरु विभिन्न समयमा अनियिमतता, भ्रष्टाचार लगायतका आरोपमा प्रहरी हिरासतदेखि कारागारसम्म पुगेका छन् । कुन–कुन मन्त्री गए जेल ?

मुलुक चलाउने तहमा पुगेका कतिपय नेता मन्त्री बनेपछि भ्रष्टाचार, अनियमिततादेखि अपराध कार्यमा समेत संलग्न भए । गम्भीर आरोप खेपेका मन्त्रीको सूची लामैछ । ती मध्ये पनि मन्त्री बनेका केही नेता राजनीतिक जीवनको उत्तरार्धमा बदनामी कमाउन पुगेका छन् ।

मन्त्री बनेर विभिन्न आरोपमा सजाय भोग्नेदेखि आरोप लाग्ने पूर्वमन्त्रीहरु को–को छन त ?

पूर्वगृहमन्त्री खुमबहादुर खड्का
पूर्वगृहमन्त्री खुमबहादुर खड्कालाई अकुत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५९ मा विशेष अदालतमा मुद्दा दर्ता गयो । तर,२०६३ सालमा विशेष अदालतल स्रोत नखुलेको भन्दै खड्कालाई सफाइ दियो । अख्तियारले विशेष अदालतको फैसलाविरुद्ध गरेको पुनरावेदनमा २०६८ मा सर्वोच्चले खड्कालाई दोषी ठहर गर्दैै डेढ वर्ष कैद सुनायो । उनको निधन भइसकेको छ ।

चिरञ्जीवी वाग्ले
पूर्वसञ्चारमन्त्री चिरञ्जीवी वाग्लेलाई तीन करोड रुपैयाँ भ्रष्टाचार अभियोगमा २०५९ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो । २०६१ मा विशेष अदालतले वाग्लेले दुई करोड ७२ लाख ५८ हजार भ्रष्टाचार गरेको ठहर गर्दै अढाई वर्ष कैद सजायसमेत सुनायो । त्यसविरुद्ध वाग्लेले सर्वोच्चमा पुनरावेदन गरे तर अदालतले २०६७ मा दुई करोड तीन लाख रुपैयाँ जरिवाना र १८ महिना जेल सजायको फैसला सुनाएपछि वाग्ले जेल परे ।

जयप्रकाशप्रसाद गुप्ता
पूर्वसञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताले पदीय दुरुपयोग गरी दुई करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५९ विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, २०६४ सालमा गुप्ताले विशेष अदालतबाट सफाइ पाए । अख्तियारले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि २०६८ मा सर्वोच्चले सार्वजनिक पद दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष जेल चलन गयो । उनी कारागार चलान हुँदा वहालवाला मन्त्री थिए ।

गोविन्दराज जोशी
पूर्व गृहमन्त्री गोविन्दराज जोशीले अकुत सम्पति आर्जन गरेको भन्दै २०६० मा विशेष अदालतमा अख्तियारले मुद्दा दर्ता गर्यो । विशेष अदालतले २०६३ मा अख्तियारले म्याद गुजारेर मुद्दा दर्ता गरेको भन्दै सफाइ दियो । फेरि अख्तियारले विशेष अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट हाल्यो । विशेष आदालतमा जोशीविरुद्ध मुद्दा चल्यो । २०६६ मा विशेष अदालतले जोशीलाई २ करोड १६ लाख मात्रै स्रोत नपुगेको भन्दै बिगोसहित असुल गर्न र डेढ वर्ष मात्र कैद सजाय सुनायो । सो फैसलाविरुद्ध जोशी सर्वोच्च गए पनि मुद्दाको सुनुवाइ हुन सकेको छैन ।

बद्री न्यौपाने
पूर्वसमाज कल्याणमन्त्री बद्री न्यौपानेले भृकुटीमण्डपको ६० रोपनी जग्गा भाडामा लगाउँदा ३१ करोड ५२ लाख १७ हजार अनियमितता भएको दाबी गर्दै अख्तियारले २०७५ मा विशेष अदालतमा मुद्दा दर्ता गयो। धरौटी बुझाएर उनी छुटे पनि मुद्दा फैसला भइसकेको छैन ।

कृष्णबहादुर महरा
पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध २०७६ असोज १३ मा बलात्कार प्रयास मुद्दामा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भयो । त्यसलगतै महराले १४ गते सभामुख पदबाट राजीनामा दिए । १९ गते महराको निवासबाटै प्रहरीले पक्राउ गयो । पछि २०७८ मा महरालाई अदालतले उनलाई सफाइ दियो ।

सञ्जय साह ‘टकला’
पूर्व राज्यमन्त्री सञ्जयकुमार साहलाई जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्डका आरोपमा जिल्ला अदालत धनुषाले २०७६ मा जन्मकैदको सजाय सुनाएको थियो ।अहिले साह नख्खु कारागारमा छन् ।

रवीन्द्रनाथ शर्मा
पूर्वअर्थमन्त्री रवीन्द्रनाथ शर्मा पनि अकुल सम्पति आर्जन गरेको आरोपमा जेल परेका थिए । २०६० मा अख्तियारले चार करोड ९५ लाख ५४ हजार रूपैयाँ भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, ०६६ सालमा अदालतको फैसला नआउँदै उनको निधन भयो । अदालतले मरणोपरान्त भ्रष्टाचारी ठहर गर्दै फैसला गरेको थियो ।

श्यामसुन्दर गुप्ता
पूर्वमन्त्री श्यामसुन्दरलाई अपहरण तथा शरीर बन्धक उद्योगमा उच्च अदालत पाटनको आदेशमा कारागार चलान भए । उनले व्यापारी पवन संघाइको अपहरण र एक महिला व्यवसायीलाई अपहरण गर्ने धम्की दिएको २ वटा आरोपमा अदालतले कारागार चलानको फैसला गरेको थियो ।

बालकृष्ण खाण र टोपबहादुर रायमाझी
पूर्व गृहमन्त्री बालकृष्ण खाण र पूर्वमन्त्री टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएपछि अहिले प्रहरी हिरासतमा छन् । उनीहरुको संलग्नता छानबिन भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *