राजनीति

तीन महिनामा पनि सुदूरपश्चिम प्रदेश सरकार अपूर्ण (भिडियो रिपोर्टसहित)

२०८० वैशाख ३१ गते १७:१३
तीन महिनामा पनि सुदूरपश्चिम प्रदेश सरकार अपूर्ण (भिडियो रिपोर्टसहित)

३१ वैशाख २०८० कैलाली । सुदूरपश्चिममा गठन भएको तीन महिना पूरा हुँदा पनि सरकार विस्तार हुन सकेको छैन ।

काठमाडौँ आएर दलका शीर्ष नेतालाई भेट्दा पनि मुख्यमन्त्री कमल शाहले मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन । सातमध्ये चारवटा मन्त्रालय मन्त्रीविहीन छन् । नागरिक उन्मुक्ति पार्टीले मन्त्रीको नाम दिए पनि माओवादी अनिर्णित हुँदा सरकार विस्तारमा अन्योल देखिएको छ ।

एक साता अघि प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह लगायतका टोली काठमाडौं पुगेपछि सरकार विस्तार हुनेमा प्रदेश सांसद ढुक्क देखिएका थिए । मुख्यमन्त्री शाहसँगै भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, नेकपा माओवादीका सुदूरपश्चिम इन्चार्ज लगायतका नेताहरू काठमाडौं पुगे ।

गत सोमबार टोलीले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरे । तर बुधबार, सरकार विस्तार हुने आशासहित टोली फर्केर सुदूरपश्चिम पुग्दा पनि मुख्यमन्त्री शाहले मन्त्रालयको जिम्मेवारी बाँडफाँट भने गर्न सक्नुभएन ।

सत्तारुढ गठबन्धनबाट नागरिक उन्मुक्ति पार्टीले सरकारमा पठाउने प्रदेशसभा सदस्यको नाम करिब टुंगो लगाएका छन् । तर, मन्त्रालयको भागबण्डामा कुरा नमिलेकाले सरकार विस्तार गर्न नसकेको हो । नागरिक उनमुक्ति पार्टीको संसदीय दलको बैठकले प्रदेशसभा सदस्य रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने निर्णय नै गरिसकेको छ । तर, माओवादी केन्द्र अनिर्णित छ ।

प्रधानमन्त्री प्रचण्डले माओवादी संसदीय दलका नेता खगराज भट्टलाई आलोपालो सरकार चलाउने भन्दै तत्काल मन्त्री बनेर सरकारमा सहभागी नहुन सुझाव दिएको चर्चा छ । सोही कारण भट्ट शाह नेतृत्वको सरकारमा सहभागी नहुने निश्चित भएको छ । तत्काल सरकार विस्तार गर्नुपर्ने अडान नेकपा एसले लिएको छ ।

प्रदेश सभाको ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त हुनुभएका शाहले केन्द्रमा राजनीतिक समीकरण फेरबदल भएसँगै दुईतिहाइ मत पाएपनि सरकार विस्तारमा भने सकस देखिएको छ । मन्त्री नहुँदा मन्त्रालयहरूले आगामी बजेटको तयारीका लागि बजेटको सिलिङ बाँडफाँट, योजना तर्जुमालगायत तयारी गर्न सकेका छैनन् । कतिपय योजना कार्यान्वयनमा समस्या छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्