Main News

जेठ ४ गते संसदमा देखाउने भनेको ओलीको ‘फिल्म’ कस्तो होला ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख २९ गते २१:००
जेठ ४ गते संसदमा देखाउने भनेको ओलीको ‘फिल्म’ कस्तो होला ? (भिडियो रिपोर्टसहित)

२९ वैशाख २०८० काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थीका नाममा भएको ठगी प्रकरणमा आफूलाई प्रशस्तै जानकारी भएको र त्यो संसदमा प्रस्तुत गर्ने बताउनु भएको छ ।

यो प्रकरणमा धमाधम हाई प्रोफाइल व्यक्ति समातिन थालेपछि ओलीले यसबारे आफूलाई थाहा भएको बताउनु भएको हो । तीन–तीन पटक प्रधानमन्त्री बनिसकेका ओलीले यत्रो प्रकरण थाहा हुँदाहुँदै किन लुकाएर बस्नु भयो र अब के भन्न खोज्दै हुनुहुन्छ ?

हुन त एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री भएको बेला २०७६ असार २९ गते शरणार्थी समस्याको स्थायी समाधानका लागि भन्दै सरकारले कार्यदल गठन गरेको थियो । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल चाहीँ अहिलेसम्म नमुछिएको यो प्रकरणमा ओली क्याबिनेटकै उर्जामन्त्री टोपबहादुर रायमाझीविरुद्ध भने प्रहरीले पक्राउ पुर्जी जारी गरिसक्यो र एमालेले निलम्बन पनि ।

यसमा एमाले अध्यक्ष ओलीको चासो रहस्यमय रुपमा बढिरहेको छ । यसका कारण हो, उहाँ नै प्रधानमन्त्री भएको बेला कार्यदल गठन हुनु, एमालेका नेताहरुको नाम मुछिनु र सबैभन्दा धेरै ओली आफै पनि शरणार्थी समस्याबारे जानकार हुनु । ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकमा भनेझैँ यो प्रकरणमा धेरै नै जानकारी उहाँलाई नै छ ।

सचिव रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएलगतै लगातार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटिरहेका ओलीले सुरुमा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुनु रहस्यमय भएको बताउनु भएको थियो । पछिल्लो पटक कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण नै यो ठगी प्रकरणमा समातिएपछि ओलीको बोली केही फरक तर आवेगमिश्रित बनेको छ । यतिसम्मकी उहाँले यो प्रकरणका अधिकांश गुह्य कुराको जानकार आफू रहेको बताइसक्नु भएको छ ।

त्यसो त २०६४–६५ सालमा केपी शर्मा ओली परराष्ट्र मन्त्रालयको नेतृत्वमा रहँदा नै भुटानी शरणार्थीलाई विभिन्न देशमा पुनर्वासको कार्यक्रम सुरु भएको थियो । त्यतिबेला परराष्ट्रमन्त्री रहेका ओलीले भुटानी शरणार्थीको तेस्रो देशमा पुनर्वासका लागि संयुक्त राष्ट्र संघदेखि अमेरिका लगायतका मुलुकहरुसँग पहल गर्नुभएको थियो । संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी मामिला हेर्ने युएनएचसीआरको सहयोगमा विभिन्न ८ वटा देशमा एक लाखभन्दा बढी भुटानी शरणार्थीलाई पुनर्वास गराइएको थियो । र यो कार्यक्रम सन् २०१६ मा सम्पन्न भइसकेको थियो ।

यो काममा सक्रियतापूर्वक लागेका ओलीलाई पक्कै थाहा थियो, पुनर्वास कार्यक्रम सकिएको र २०७६ मा आफ्नै नेतृत्वको सरकारले भुटानी शरणार्थीलाई व्यवस्थापनका नाममा कार्यदल बनाएर फेरि अमेरिका पठाउने प्रलोभनको व्यापार सुरु गरेको । थाहा थियो भन्ने कुरा ओलीको ४ सय नक्कली शरणार्थी अमेरिका छिरिसकेको अभिव्यक्तिले पनि पुष्टि गर्छ ।

यी सबै विषयमा जानकारी हुँदाहुँदै पनि पहिलो केही दिन टोपबहादुर जोगाउन र त्यसको केही दिन पुराना काण्ड पनि छानबिन गर्ने चुनौती दिन ओली कत्ति पनि हिचकिचाउनु भएन । बरु उहाँको पार्टीका सांसदहरुले संसदमा नक्कली भुटानी शरणार्थी प्रकरणको बाहनामा बोल्दै भ्रष्टाचारका अरु फाइलहरु खोल्न पनि चुनौती दिइरहे । एउटा फाइलमा हात हालेको सरकारलाई सघाउने भन्दा पनि एमाले अभिव्यक्ति ‘पख्लास्’ भन्नेतर्फ बढी तिखोगरी सुनिए ।

नक्कली शरणार्थीको नाममा भएको ठगी प्रकरणमा सुरु भएको छानबिनलाई प्रधानमन्त्री प्रचण्डले ट्रेलरको संज्ञा दिएकोमा पनि ओलीको धेरै नै आपत्ति देखिएको छ । र उहाँले आगामी संसद बैठकमा यसबारे आफैले फिलिम नै देखाइदिने घोषणा गर्नुभएको छ । घटनाक्रमले परिकल्पनादेखि पटकथासम्ममा संलग्नता रहेका ओलीले कस्तो फिलिम प्रदर्शन गर्नुहुन्छ, त्यसको व्यग्र पर्खाइ रहनेछ । अनि योसँगै उहाँले किन थाहा पाएरै पनि घटनालाई गुपचुप राखिरहनु भयो त ? भन्ने जिज्ञासा पनि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *