राजनीति

एमाले अध्यक्ष ओलीको बेमौसमी स्टन्ट ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख १६ गते २०:२३
एमाले अध्यक्ष ओलीको बेमौसमी स्टन्ट ! (भिडियो रिपोर्टसहित)

१६ वैशाख २०८० काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा आक्रमणको प्रयास भएको भन्दै नेकपा एमालेले अहिले सरकारको विरोध गरिरहेको छ ।

असहज अवस्था भएका बेला झापा हुँदै इलाम र अन्य पूर्वी पहाडी जिल्ला सयर गर्न खोजीरहेका अध्यक्ष ओलीमाथि पहिचान पक्षधरले गरेको अवरोधपछि एमाले अहिले सरकारविरुद्ध आक्रामक देखिएको छ ।

केही दिनयता नेकपा एमालेले एउटा रटान लगाइरहेको छ, सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन सकेन, अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गरियो । अध्यक्ष ओली स्वयम्ले त आफूमाथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका कार्यकर्ताले आक्रमण गरेको आक्षेप नै लगाउनु भयो ।

बेमौसममा झापा–इलाम हिँडेका ओलीमाथि गृहजिल्लामै आक्रमणको प्रयास भएको खबर केही दिनयता केही सञ्चारमाध्यममा आयो । आक्रमणको प्रयास कति भयो, त्यो क्षतिबाटसमेत अनुमान गर्न सकिने कुरा हो । तर एमालेले यो विषयलाई यसरी उछाल्यो कि उ अब सरकारविरुद्ध युद्ध नै सुरु गर्दैछ ।

ओली आफैले प्रधानमन्त्री र सत्ता साझेदार दलका नेताविरुद्ध व्यक्तिगत लाञ्छना लाइसकेपछि एमालेले यो विषयलाई सदनमा पनि पुर्याइसकेको छ । जहाँ गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल जवाफ दिँदै आक्रमणको प्रयास गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यो विषयमा एमालेका केही नेताले मन्त्रालयमै पुगेरसमेत गृहमन्त्रीको ध्यानाकर्षण गराइसके । यसमा पनि छुटेका केही नेताले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर सरकारविरुद्ध प्रतिकार गर्ने चेतावनी दिए ।

प्रदेशको नामाकरणको विरोधमा कोशी प्रदेशमा पहिचान पक्षधरहरुको आन्दोलन जारी छ । आन्दोलनले कयौँपटक उग्ररुप लिइसकेको छ भने एकजनाको मृत्युसमेत भइसकेको छ, केही व्यक्ति घाइते छन् ।

आन्दोलनको भुंग्रो खोज्दै गएका एमाले अध्यक्षलाई आन्दोलनकारीले बाटो छेक्न खोजे । यही घटनाका आधारमा अध्यक्ष ओलीसहित एमाले नेताहरुले बारम्बार दिइरहेको अभिव्यक्ति अस्वभाविक देखिन्छ ।

प्रदेश १ लाई आफ्नो चाहनाविपरीत कोशी नामाकरण गर्ने काममा संलग्न सबै दलप्रति पहिचान पक्षधरहरु स्वभाविक रुपमा आक्रोशित छन् । मुख्यमन्त्री हिक्मत कार्कीलाई कयौँ ठाउँमा अवरोध गरिएका समाचारहरु आइरहेकै छन् । तर आगो बलिरहेकै बेला औँलो छिराउने काम गर्न ओलीले आवश्यक थियो त ?

जाति, भाषा र संस्कृतिका विषयमा सशंकित बनिरहेको तप्कासँग सुझबुझका साथ काम गर्नुपर्ने, उनीहरुको माग सम्बोधनका लागि पहल गर्नुपर्ने वा उनीहरुलाई आश्वस्त पार्ने काम राजनीतिक नेतृत्वबाट हुनुपर्ने हो । तर सरकारविरुद्ध असहमति छ भन्दैमा आन्दोलन भइरहेका ठाउँमा जबरजस्ती जानेर सुरक्षाको नाम दिएर गरिरहेको राजनीति फगत स्टन्ट मात्र देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्