Main News

महावीर पुन किन आए आविस्कार छोडेर धर्नामा ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख १५ गते २०:३२
महावीर पुन किन आए आविस्कार छोडेर धर्नामा ? (भिडियो रिपोर्टसहित)

१५ वैशाख २०८० काठमाडौं । राजनीतिक र समाजिक विषयका मुद्दामा प्रदर्शन हुने काठमाडौंको माइतीघरमा आज अलि फरक विषयले प्राथमिकता पायो।

प्रदर्शनमा उत्रिएकाले अनुसन्धान, नवप्रवर्तन र आविष्कारबारे सरकारको ध्यानाकर्षण गराए। यो क्षेत्रमा सरकारले पटक्कै ध्यान नदिएको, लगानी नगरेको र निजी प्रयासबाट उत्पादित सामग्रीको दर्तामा समेत अनुदार भएको भन्दै राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुनको अगुवाइमा प्रदर्शन थालिएको छ।

माइतीघरमा प्रायः हुने प्रदर्शन र राखिने मागभन्दा फरक मुद्दाको अगुवाई गर्दै थिए म्यागासेसे पुरस्कार विजेता महावीर पुन। नेपालमा उत्पादित ‘यात्री’ मोटरसाइकलले सवारी नम्बर नपाएपछि पुनले केही दिनअघि व्यक्तिगतरुपमा यो प्रदर्शनको घोषणा गरेका थिए।

सरकारले २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा १ अर्ब रुपैयाँको नवप्रवर्तन कोष सञ्चालन गर्ने उल्लेख थियो। तर, सरकारले त्यसमा चासो नदेखाए गुनासोसहित चार बुँदे माग राखेर पुनले आन्दोलनको अगुवाई थालेका हुन्।

–अनुसन्धान, नवप्रवर्तन र आविस्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीलाई अनुसन्धान गर्ने काममा ठोस सहायोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले विकास बजेटको १ प्रतिशत रकम छुट्याउनु पर्ने।

–अनुसन्धान, नवप्रवर्तन र आविस्कार प्रवर्धन, सञ्चालन तथा खरिद ऐन निर्माण तथा आवश्यकताअनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा समावेश गर्ने नीति अख्तियार गर्नुपर्ने।

–अनुसन्धान, नवप्रवर्तन र आविस्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका बस्तुको उत्पादन अनुमति, अनुदान र सहज ऋण उपलब्ध गराउनु पर्ने।

–प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरुमा व्यावहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभागको स्थापना।

समाजलाई प्रविधिसँग जोड्न खोलिएको राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनमा कठिन भएपछि पुनःले सरकारको ध्यानाकर्षणको अगुवाई गर्नुभएको हो। केन्द्र सञ्चालनमा दिएको आश्वासन सरकारले पूरा नगर्दा र व्यक्तिगत सम्पक्ति बेचेर भएपनि अनुसन्धान, नवप्रबर्तन र आविस्कारका काम गर्ने योजनामा पूरा नभएका कारण पनि पुन सडकमै ओर्लिनुभएको हो। पुनको अगुवाईलाई यस क्षेत्रमा काम गरिरहेका विभिन्न संस्थासहित कैयौं व्यक्तिले साथ दिएका छन्।

पुनको नेतृत्वमा चलिरहेको राष्ट्रिय आविस्कार केन्द्रले फरक(फरक ३६ वटा विषयमा अनुसन्धान भइरहेको छ। तर, सरकारले खासै चासो दिएको छैन। सरकारले तत्कालिन सशस्त्र युद्धमा सहभागि भएर अयोग्य ठहरिएका ४ हजार ८ जना लडाकूलाई २ लाखका दरले ८० करोड रुपैयाँ राज्य कोषबाट बाँड्न तयारी गरिरहेका बेला पुनले राष्ट्रलाई दीर्घकालिन हित हुने क्षेत्रमा लगानी गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *