Main News

रवि लामिछानेको मत घट्ने अनुमान जब गलत साबित भयो (भिडियो रिपोर्टसहित)

२०८० वैशाख १२ गते २१:१६
रवि लामिछानेको मत घट्ने अनुमान जब गलत साबित भयो (भिडियो रिपोर्टसहित)

१२ वैशाख २०८० काठमाडौं । नागरिकता प्रकरण र सांसदको अडियो टेपका कारण धेरैले चितवनमा रवि लामिछानेको मत मंसिर ४ को निर्वाचनको तुलनामा घट्ने अनुमान गरेका थिए । तर अनुमान विपरीत रविले अघिल्लो चुनावभन्दा चार हजार बढी भोट ल्याउँदै जित हात पारे । रविको जित दलहरूप्रतिको आक्रोश भएको विश्लेषण गर्नेको जमात भएपनि उपनिर्वाचनले नागरिकले दल हेरेर मत दिँदैनन् भन्ने सिद्ध भएको छ । र, दलका कार्यकर्ता भन्ने नै हुँदैनन् भन्ने पुष्टि गरेको छ ।

कुनै समय थियो, नेपालमा तोकेको व्यक्तिलाई भोट दिए–नदिएको थाहा हुन्छ भन्दै दलले मतदाता तर्साउँथे । धम्की दिने चलन थियो । यही उपनिर्वाचनमा समेत तनहुँमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाई मत नदिए ‘पाप लाग्छ’ भन्न सम्म भ्याए । तर, जनताले पाप–धर्म हेरेनन् ।

स्वार्थका भरमा कुनै व्यक्ति विशेषलाई मात्र देवत्वकरण गर्ने परिपाटी नभई जसले बोलेअनुसार काम गरेर देखाउने खुबी राख्छ, प्रामाणित गर्छ उसैलाई चुन्नुपर्छ भन्ने सन्देश दिए । नेपालमा कुनै दलको नेतृत्वले विजय हासिल गरेर सत्तामा पुग्ने र विजयपछि नागरिकलाई बेवास्ता गर्ने, नागरिकको कुरा नसुन्ने परिपाटीले गर्दा मतदातामा वितृष्णा थियो ।

मंसिर ४ मा गठबन्धन गर्दा नचेतेका सत्तारुढ गठबन्धन यो निर्वाचनमा फेरि एक पटक पछारिए । दलीय व्यवस्थाको उपयुक्त विकल्प नहुँदानहुँदै गत मंसिरमा स्वतन्त्र उम्मेदवारदेखि नयाँ दललाई रोज्न मतदाता बाध्य भए । रवि लामिछानेको जितले चितवनमा त्यही सन्देश दिएको छ । जसलाई उम्मेदवारले भने स्वीकारेका छन् ।

जितनारायणले भने जस्तै अब सच्चिने मौका दलहरुले पाएका छन् । तर, अहिलेको मतले दलका कार्यकर्ता हुन्छन् भन्ने कुरालाई मिथ्या पुष्टि गरिदिएको छ । दलप्रति बफादार भएर काम गर्नेलाई कार्यकर्ता भनिन्छ । सक्रिय कार्यकर्ताले कुन दल कति शक्तिशाली भन्ने प्रष्ट पार्छ ।

चितवन–२ स्थानीय तह निर्वाचनको मत हेर्दा
एमाले– ३५ हजार ५ सय ४३
कांग्रेस – २४ हजार ५ सय ३१
नेकपा माओवादी केन्द्र – ७ हजार ३ सय ७४
नेकपा एकीकृत समाजवादी – ३ हजार ५ सय ६९
राप्रपा – २ हजार १ सय १३

मंसिर ४ को चुनावमा यही भोट कुनै पनि दलले पाउन सकेनन् । पहिलो दल बनेको एमाले, मंसिर ४ को चुनावमा तेस्रो भयो । कांग्रेस दोस्रो भयो र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रविले जिते । अहिले उपनिर्वाचनमा त झन् मत खस्कियो । कांग्रेसले ११ हजार २ सय १४ मत पायो भने एमालेले १० हजार ९ सय ३६ मत पायो । र लामिछानेले ५४ हजार १७६ मत पाउँदै विजयी भए । यसले पनि दल विचारको हुन्छ, कार्यकर्ता सोही अनुसार बन्छन् भन्ने प्रमाणित गरिदिएको छ ।

दलगत नैतिकता र अनुशासन नै बिर्सेर आफैँ अघि आउनुपर्छ भन्ने नेताको स्वार्थले व्यवस्थामाथि नै प्रश्न उब्जाएको थियो । तर, नयाँ दलप्रति नागरिकको रुझान, दल हेरेर भन्दा पनि व्यक्ति हेरेर मत जानुले व्यवस्था सुदृढ भएको छ । दलका कार्यकर्ता नेताले भाषण गर्दा शरीरमा काँडा उमार्दै थपडी बजाउन छोडेर निष्पक्ष र गुणदोष हेर्नुपर्छ भन्ने आम मतदातालाई भने पक्कै सन्देश मिलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *