राजनीति

परम्परागत दल कमजोर बन्दै, अब सच्चिने कि सक्किने ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख १२ गते २१:०८
परम्परागत दल कमजोर बन्दै, अब सच्चिने कि सक्किने ? (भिडियो रिपोर्टसहित)

१२ वैशाख २०८० काठमाडौं । जनतामा बलियो प्रभाव बनाएका परम्परागत दल कमजोर देखिन थालेका छन् । वैशाख १० मा सम्पन्न निर्वाचनमा नयाँ उम्मेद्‍वारका पक्षमा व्यापक जनसमर्थन देखिँदा दलहरुको परम्परागत गढमै परकम्प देखिएको हो ।

नेपालको संसदीय राजनीतिमै छोटो समयमै राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकमा बलियो छाप पार्न सफल देखिएको छ । वैशाख १० मा सम्पन्न निर्वाचनमा चितवन २ मा रवि लामिछाने र तनहुँ १ मा स्वर्णिम वाग्ले विपक्षीको मतभन्दा धेरै मत पाएर विजयी भए ।

यो जितलाई धेरैले दलहरुले भन्ने गरेको गढ भत्किएको रुपमा मात्र अर्थ्याएका छैनन्, कार्यकर्ताबाटै विद्रोहका रुपमा समेत बुझेका छन् । पार्टीका क्रियाशिल सदस्य र संगठित सदस्यको समेत मत जोगाउन नसक्दा तनहुँमा बलियो कांग्रेस र चितवनमा बलियो एमाले लज्जास्पद हार बेहोर्न बाध्य भए ।

तनहुँमा निकटम प्रतिद्वन्द्वी बनेको कांग्रेसले २० हजार १ सय २२ र एमालेले ८ हजार मत ल्याउँदा स्वतन्त्र पार्टीले ३४ हजार ९ सय १९ मत ल्यायो । उता चितवनमा कांग्रेसले ११ हजार २ सय १४ र एमालेले १० हजार ९ सय ३६ मत ल्याउँदा स्वतन्त्र पार्टीले ५४ हजार १ सय ७६ मत ल्यायो ।

जबकी अघिल्लो चुनावमा तनहुँमा कांग्रेसले जितेको थियो । कांग्रेस, एमाले र माओवादीले यसअघि आफ्नो धेरै कार्यकर्ता र समर्थक भएको क्षेत्रलाई आफ्नो गढ मान्दै आएपनि विस्तारै अहिले हार्डलाइनर कार्यकर्ता र समर्थकको साथ गुमाउँदै गएका छन् ।

पछिल्लो मतपरिणामले मतदातालाई आफ्नो जमिनदारी ठान्ने परम्परागत ठूला दललाई झस्काएको छ । नेतृत्वमा बसेर निर्णय गरेपछि कार्यकर्ताले मानिहाल्छन् भन्ने मान्यता पनि खण्डित भएको छ । यसरी नागरिकले मत बदल्नुलाई लोकतन्त्रका लागि सुखद् मान्छन् जानकारहरु ।

विरासत र इतिहास भजाएर नेपालको लामो समयदेखि राजनीतिमा पकड जमाउँदै आइएको थियो । तर, अब नेपालको राजनीतिमा यो प्रवृत्तिमा ठूलै फेरबदल देखिएको छ । यसले जे गरेपनि हुन्छ भन्ने दलका दम्भमा ठेस लागेको छ । उपनिर्वाचनबाट मतदाताले दिएको सन्देशलाई बुझेर परम्परागत दल सच्चिन्छन् वा २०८४ को निर्वाचनमा उही रबैया दोहोर्याएर सकिन्छन् ? अहिले चासोको विषय बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्