राजनीति

एकीकृत समाजवादी छोड्नेको लहर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख ९ गते २१:२८
एकीकृत समाजवादी छोड्नेको लहर (भिडियो रिपोर्टसहित)

९ वैशाख २०८० काठमाडौं । स्थापनाको २० महिना पनि नपुग्दै नेकपा एकीकृत समाजवादी पार्टीमा वहिर्गमनको बाढी सुरु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ औं वर्षगाँठ मनाउने क्रममा अध्यक्ष माधवकुमार नेपालले वृहत् कम्युनिष्ट एकता र मोर्चाबन्दीका गफ दिइरहँदा एमाले मुख्यालयमा भने उहाँसँगै पार्टी विभाजनमा भूमिका खेलेका नेता मुकुन्द न्यौपानेसहितका नेता कार्यकर्ता एमालेमै फर्किरहेका थिए । नेता कार्यकर्ताले भटाभट पार्टी छाड्नुको कारणबारे भने नेतृत्व मौन छ ।

एमालेसँग असन्तुष्ट हुँदै २०७८ साल भदौमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी गठनमा सामेल भएका नेता–कार्यकर्ता अहिले धमाधम पार्टी छाड्न थालेका छन् । वरिष्ठ नेता मुकुन्द न्यौपानेदेखि उपाध्यक्ष केदार न्यौपाने, स्थायी कमिटी सदस्य चुडामणि जंगलीसहित केन्द्रीय तह र जिल्ला तहका नेता कार्यकर्ताले पार्टी मात्रै छाडेनन्, २० महिना अघि आफैंले प्रतिगामी भनेका केपी शर्मा ओलीको हातबाट टीका लगाएर पुरानै घर फर्किए ।

एमाले प्रवेश गरेका नेताहरुको दाबीलाई मान्ने हो भने समाजवादीका दुईतिहाइले पार्टी छाड्ने तयारी गरेका छन् । अधिकांश असन्तुष्टले अध्यक्ष नेपालकै कार्यशैलीलाई दोष दिएका छन् । र, कम्युनिष्ट पार्टीको मूलधार एमाले भएकाले माधव नेपालसहितका नेताहरु पनि एकदिन एमालेमा फर्कने उनीहरुको दाबी छ ।

तत्कालीन नेकपा अध्यक्ष एवं सर्वोच्चको २०७७ फागुन २३ को फैसलापछि ब्युँतिएको एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यशैलीको विरोधमा जन्मिएको एकीकृत समाजवादी पार्टी अहिले सांगठनिक हिसाबले तहस नहस भएको छ ।

अध्यक्ष नेपालका अति निकट मुकुन्द न्यौपानेको नै एमाले प्रवेश र अन्य नेताहरुको पनि भित्रभित्रैको तयारीले पार्टीको आगामी दिन सहज देखिदैन । सम्मानित नेता झलनाथ खनाल समेत एमाले प्रवेशको तयारीमा रहेको हल्लाबीच उहाँले प्रष्टिकरण नै दिनुपरेको छ ।

विधी र विधानमा पार्टी नेतृत्व चल्न नसकेको आरोप पार्टी पदाधिकारीकै छ । नेतृत्वले समय र परिस्थिति बुझ्न नसक्दा पार्टी कमजोर मात्रै हैन नेताहरुको भविष्य नै अन्यौलपूर्ण भएपछिको विकल्पका रुपमा विद्रोह र एमाले प्रवेशको बाध्यता आफुहरुसामु आइपरेको प्रवेशीको भनाइ छ ।

तत्कालीन अवस्थामा नेकपा एमालेका अध्यक्ष ओलीसँग दश बुँदे सहमित गरेर पनि विद्रोह भएपछि माधव नेपाललाई ५६ केन्द्रीय सदस्य र २३ संघीय सांसदले साथ दिएका थिए । तीन चरणको निर्वाचनमा पार्टीले गठबन्धनबाट सम्मानजनक भूमिका नपाउनु र संगठन बनाउने भन्दा शक्ति बाँडफाँडमा नेतृत्व रुमलिंदा निर्माण हुँदै गरेको पार्टी कमजोर बन्यो ।

गत संघीय निर्वाचनमा थ्रेसहोल्ड कटाउन नसक्ने अवस्थामा दल पुग्दा नेतृत्वले आफुलाई सच्याउने भन्दा नेता कार्यकर्तालाई होच्याउने प्रवृत्ति बढेको आरोप लागेको छ । शीर्ष नेताबीच जुँगाको लडाईं र मन्त्रीकालागि हानाथापको अवस्था पार्टीमा देखिएपछि राजनीतिमा भविष्य खोजिरहेकाहरुले पुरानै पार्टी रोजेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्