७५ वर्षमा कम्युनिष्ट पार्टी किन भयो धुजाधुजा ? (भिडियो रिपोर्टसहित)

९ वैशाख २०८० काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टी संस्थागत बनेको ७४ वर्ष पूरा भएको छ । नेपालमा कम्युनिष्ट पार्टीको ७५ वर्षे इतिहासमा सिद्धान्त, विचार र मोडलभन्दा पनि विभाजन र टुटफुटले बढी प्रसय पाएको छ।
अस्थिर नेतृत्व र व्यक्तिवादी चरित्रले कम्युनिष्ट पार्टीले ७४ वर्षमा धुजा धुजा भएका मात्रै छैनन्, संसदमा रहेका सबै कम्युनिष्टबीच सहकार्य भए पनि बहुमत पुग्नै नसक्ने अवस्थामा पुगेका छन् ।
पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी संस्थापक बनेर स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी ७४ वर्ष पुरा भएर ७५ वर्षमा आइपुग्दा नेपालमा दर्जनौं कम्युनिष्ट पार्टी छन् । अझ रोचक त ७५ वर्षे इतिहासमा त्यो भन्दा बढी विभाजन नै भएको देखिन्छ ।
नेपालमा जहाँनिया राणाविरुद्ध लड्न र त्यसका लागि नागरिकलाई सचेत गराउन माक्सर्वाद अध्ययनको अभियान चलाइरहेका केही युवालाई बाइपास गर्दै स्थापना गरिएको यो पार्टी त्यसको दुई वर्षबाटै धरमराउन सुरु भएको थियो । २००८ सालमा संस्थापक पुष्पलाललाई महासचिवबाट हटाएपछि फुटको शिलशिला प्रारम्भ भयो ।
राणा शासनबाट प्रताडित समाजलाई साम्यवाद बुझाएर पार्टीलाई बलियो बनाउनेदेखि राजालाई समर्थन गर्नेजस्ता विचारले पार्टीमा विवादको विउ रोप्यो । रुसलाई मान्ने कि चीनलाई मान्ने, राजा मान्ने कि जननिर्वाचित कार्यकारी मान्ने, राजासँग मिलेर प्रजातान्त्रिक शक्तिहरुको खिलापमा जाने कि प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेससँग मिलेर राजाका अधिकार खुम्च्याउने विद्रोहमा सहभागी हुने जस्ता अनेकौँ विरोधाभासले नेपाल कम्युनिष्ट पार्टी फुट र विवादको घेराबाट बाहिर निस्किन सकेन ।
यो बीचमा राजा, कांग्रेस वा बाह्य शक्तिसँग मिलेको वा मिल्न खोजेको आरोप, सिद्धान्तबाट च्युत भएको जस्ता अनेकौँ फण्डा झेल्दै ७३ वर्ष पूरा गर्दा कम्युनिष्ट पार्टी आफ्नो मुल सिद्धान्त, विचार र आदर्शबाट धेरै टाढा पुगेको छ । २००६ सालमा भारतको कोलकातामा कम्युनिष्ट पार्टी स्थापना भएदेखि हालसम्म यो पार्टीको सबैभन्दा ठूलो विरासत नै फुटको श्रृंखला बनेको छ ।
पार्टी स्थापनाको ४६ वर्षपछि सत्तामा पुगेका कम्युनिष्ट पार्टीका नेताहरुले कयौँ पटक एक अर्कामाथि आरोप र प्रत्यारोिसहित विभाजित भएको र त्यो शिलशिला अझै जारी रहेको अवस्था छ । नेपालमा किन कम्युनिष्ट पार्टीहरुमा निरन्तर विभाजन भइरहन्छ त ?
आफूलाई मुलुकको झण्डै ६० प्रतिशत वाम मत प्राप्तिको असली हकदार दाबी गरिरहने तर पार्टी वा देशको सत्तामा पुगेपछि तानाशाह बन्न खोज्ने प्रवृत्तिले कम्युनिष्ट पार्टीका प्रभावशाली नेताहरु लामो समयसम्म सँगै रहन सकेनन् । अघिलो संसदीय निर्वाचनमा दुई तिहाइ मत पाएका कम्युनिष्टहरु गत मंसिरको संसदीय निर्वाचनको परिणामले त सबै एक हुँदा पनि सरकार बनाउन १६ सिट पुग्दैन । विभाजित अवस्थामा अलग अलग चुनावमा गएका नेपालका कम्युनिष्टसँग १२२ सिट मात्रै छ । किन यस्तो अवस्थामा पुगे त कम्युनिष्ट पार्टी ?
विचारका आधारमा प्राप्त नागरिकको मत र शुभेच्छालाई व्यक्तिगत लाभका लागि दुरुपयोग गर्ने, विश्वासमा आधारित मतमाथिको कुठाराघात, सत्ता र शक्तिमा हदैसम्मको आशक्ति जस्ता कुराले कम्युनिष्ट पार्टीहरु एक हुन नसकेको देखिन्छ । गत पुस दशमा सहकार्य गरेका दुई ठुला कम्युनिष्ट पार्टी एमाले र माओवादीको सहकार्य ६४ दिन पनि टिक्न सकेन । सत्ता र शक्ति सुरक्षित राख्ने नाममा सहकार्य र एकताको भावना पनि कमजोर भएको देखिन्छ ।
यति हुँदाहुँदै पनि कम्युनिष्ट पार्टीबीच एकता वा कम्युनिष्ट शक्ति निर्माणको चर्चा अझै जारी छ । ५ वर्षअघि मात्रै मुलुकका दुई ठूला कम्युनिष्ट शक्तिहरु एक भएर आम निर्वाचनमा प्राप्त गरेको नागरिकको अथाह विश्वास र शुभेच्छालाई जोगाउन त सकेनन् नै। पार्टीभित्रकै कलह र शक्ति केन्द्रहरुको प्रभावले कम्युनिष्ट सत्ता एक कार्यकालसमेत टिक्न नसक्ने अवस्थामा छ ।
सामान्यतया नागरिकले ५ वर्षका लागि दिएको जनमत अहिलेसम्मका कुनै पनि कम्युनिष्ट सत्ताले जोगाउन सकेको छैन । मतका आधारमा बलियो वाम शक्तिमा देखिएको विचलनले मुलुकले कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्षसम्म पनि कुनै विचार वा सिद्धान्तका कारण थप विकासको स्वाद चाख्न पाएको देखिँदैन । कम्युनिष्ट पार्टी स्थापनाको ७४ वर्ष पूरा गरेको अवसरमा दिवस मनाएर रमाइरहेको नेतृत्वले पार्टी एकता र सहकार्यका लागि आफू कत्तिको स्थापित हुन सक्यौँ भन्ने विषयमा भने सचेत बन्नुपर्ने हो कि ?
प्रतिक्रिया