Main News

‘भिक्टोरिया क्रस’ विजेता लिम्बूको निधन

कान्छो भिसी रामबहादुर बेघा लिम्बूको वीरताको गाथा

२०८० वैशाख ९ गते १४:०२
‘भिक्टोरिया क्रस’ विजेता लिम्बूको निधन

९ वैशाख २०८० पाटन । ‘भिक्टोरिया क्रस’ विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको ८८ वर्षको उमेरमा निधन भएको छ ।

लिम्बूको आज बिहान ३ः४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उहाँका छोरा मोहन बेघा लिम्बूले जानकारी दिनुभयो ।

लिम्बू छ महिनादेखि बिरामी हुनुभएको थियो । झापास्थित बिएण्डसी अस्पतालमा ठीक नभएपछि उहाँ तीन महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । लिम्बूलाई नखिपोटस्थित घरबाट अस्पताल लैजाने र ल्याउने गरिँदै आएको थियो । तर एक महिनायता भने उहाँलाई मेडिसिटी अस्पतालमै राखेर उपचार भइरहेको थियो ।

लिम्बूको अन्त्येष्टि दमकमा गरिने उहाँका छोरा मोहनले जानकारी दिनुभयो । दमक–८ का स्थायी बासिन्दा लिम्बूको स्वास्थ्य अवस्था जटिल भएपछि उहाँलाई गोर्खा वेल्फेयर र सशस्त्र प्रहरीको सहयोग र समन्वयमा हेलिकप्टर चार्टर गरी काठमाडौँ ल्याइएको थियो । उहाँ मिर्गौला र मुटु सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।

कान्छो भिसी रामबहादुर बेघा लिम्बूको वीरताको गाथा

ब्रिटिश सेनामा १३ गोर्खा सेनाले भिक्टोरिया क्रम (भिसी) प्राप्त गरे । रामबहादुर बेघा लिम्बू कान्छो गोर्खा सेना हुन ।

उहाँको जन्म टेकबीर बेगा र टुनीमाया थाम्सुहाङको कोखबाट सन् १९३६ पाँचथर याङरक च्याङथापूमा भएको हो । पाँच छोरामा काइला भिसी रामबहादुरका दुई दिदी थिए । उहँ सानो छँदै बाबु, आमा, दुई दाजु र दुबै दिदीहरुको निधनले उहाँको बाल्यकाल जीवन यापन अत्यन्तै कष्टकार बन्यो । उहाँ र कान्छा भाइ अमरबहादुरको अभिभावकत्वको जिम्मेवारी साहिला दाजु बिर्खबहादुरले लिनु परेको थियो । उहाँका बाजे बगिवन्त पहिलो बिश्वयुद्धका घाइते योद्धा हुन ।

उहाँ सन् १९५७ मा पग्लिाहावामा ब्रिटिश सेनामा भर्ती हुनु भयो । मलायाको तत्कालीन संघाइ पटानी तालिम केन्द्रमा तालिम सम्पन्न गरी २÷१० गोर्खा राइफल्सको सि कम्पनीमा पर्नुभयो । पल्टन जाने बित्तैको उहाँ मलाया इमर्जेन्सी (१९४८–१९६०) युद्धमा जानु परको थियो । गोर्खा सेनाहरु एक दशकभन्दा लामो मलायाको कम्यूनिस्ट छापामार युद्ध लडेर राम्ररी सास फेर्नसम्म नपाइ पुःन क्यालिमन्तान प्रायदिपको उत्तरी बोर्नियोको सरवाक र सवाह कसको भन्ने मलाया र इण्डोनेशियाबीच बिवादमा बिटिश सेना मलाया पक्षमा निर्णयाक युद्ध लड्नु परेको थियो । ३ वर्ष ६ महिना २२ दिन (२० जनअरी १९६३—११ अगष्ट १९६६) चलेको युद्धमा मलायातर्फ कमन्थवेल्थ गठवन्धनमा ब्रिटिश, न्युजिल्याण्ड, अष्टे«लिया, मलाया, सिंगापुरका लगभग ३० हजार सेनाले भाग लिएकोमा भिसी पाउने रामबहादुर एकमात्र बहादुर सेना थिए ।

विरताको कथा
११ नोभेम्बर १९६५ मा सरवाकको बाउ डिस्ट्रिक सेरिकनमा ३० जना जति दुश्मनमाथि हमला गर्न उहाँको कम्पनीलाई आदेश दिइयो । दुश्मन सानो डाँडामाथि अत्यन्तै मजबुत डिफेन्स लिएर बसेका थिए । २११४८७८६ लान्सकर्पोरल रामबहादुर लिम्बू सि कम्पनी ७ प्लाटून २ सेक्सन टुआइसी थिए । रामबहादुरको सेक्सन दुश्मन हमला गर्ने अग्रणी भागमा परेको थियो । बिहानको समय सुरु भएको उक्त घटनामा उहाँको सेक्सन अगाडी बड्दै जाँदा दुश्मनको सेन्ट्रीसंग अचनाक जम्काभेट भयो र गोली हानाहान सुरु भयो । एक्कासि उहाँको सेक्सनमाथि मजबुज डिफेन्समा बसेका दुश्मको भारी गोलीको वर्षा हुन थाल्यो । छेउका दुईतीन जना साथीहरुको प्राण पखेरु त्यहीँ उड्यो । आफ्नो सेक्सन कमण्डरसमेत घाइते भएपछि युद्ध मोर्चाको अघिल्लो भाग सम्हाल्ने जिम्मेवारी रामबहादुरमाथि आइ पर्यो । बाँकी रहेका जवानहरुसंग उहाँको कमाण्डमा लगतार दुश्मनमाथि दबाव दिइ रहे । त्येही समयमा गम्भीर घाइते छेउका दुई साथीहरु ‘मलाई गोली लाग्यो, बाचइ देऊ उस्ताद’ भन्दै कराउन थाले । साथीहरुको चित्कार सुनेर उहाँले दुश्मनको भारी गोली आइ रहेको अवस्थामापनि आफ्नो ज्यानको प्रवाह नगरी घिस्रेर दुवैलाई सुरक्षित ठाउँमा ल्याएर प्राथमिक उपचार दिनु भयो । त्यो समय साथीहरुको ज्यान जोगाउनु भन्दा उहाँको मष्तिस्कमा अरु केही आएन ।

दुई साथीहरु सुरक्षित ठाउँमा पुर्याएपछि रामबहादुरले प्लाटून कमाण्डर लेफ्टिनेन्ट इन्द्रजित राईलाई सेक्सनको अवस्था जानकारी गराउनु भयो । र, उहाँ फर्केर पुन सेक्सनको नेतृत्व लिनु भयो । उहाँले आफ्नो र ज्यान गुमाएका साथीहरुको तीन चारवटा ग्रिनेडको पिन थुतेर दुश्मनको टे«न्चमा फाली दिए । ग्रिनेड बिस्फोट भएर केही दुश्मन त्यही सोतर भए र केही भाग्न थाले । भाग्दै गरेका दुश्मनलाई उहाँले तुरन्तै एलएमजी सोझाएर फायर गरी ढाली दिए र केही घाइते भए ।

दुश्मनसंगको यो घमासन युद्ध २० मिनटजति चलेको थियो । त्येसपछि रिजर्भ प्लाटून आएर युद्ध मोर्चाको जिम्मेवारी लियो । केही समयपछि कम्पनी कमाण्डर किट म्यानस्युल आएर रामबहादुरलाई ठूलो स्यावासी दिनु भयो । आफ्नो ज्यानको प्रवाह नगरी साथीहरु बचाउन युद्धमा अदम्य साहस र बहादुरीसाथ लडाइ लडी वीरता प्रदर्शन गरेको भन्दै लान्स कर्पाेरल रामबहादुर लिम्बूलाई ब्रिटिश सेनालाई युद्धमा दिइने सर्बोच्च तक्माको लागि सिफारिश गरियो ।

दुखको समय
रामबहादुरले युद्धमा बहादुरी देखाएर ठूलो स्यावासी पाएपनि आफ्ना सहकर्मीहरु आफ्नै आँखा अगाडी ढलेको देखेर खुशी हुन सक्नु भएन । साथीहरुको मृत्युको पीडाले उहाँ कसैसंग नबोल्ने, एक्लै बस्ने र खान पिउनपनि नमान्ने अवस्थामा पुग्नु भयो । तर पनि आफ्नो कत्र्यव्य सम्झेर उहाँ निरन्तर लडाइमा लागि रहनु भयो । त्येही समयमा उहाँकी श्रीमती टिकामाया इम्बुङ पेटको समस्याले सिंगापुर ब्रिटिश मिलिटेरी हस्पिटलमा मृत्युसंग अर्को लडाइ लडि रहनु भएको थियो । लडाइबाट तुरन्तै झिकाइयो तर श्रीमतीको ६ फेब्रअरी १९६६ मा दुखद निधनपछि उहाँमाथि झन ठूलो बज्रपात थपियो । जेठा छोरा भक्त ४ वर्ष र कान्छा त झन ६ महिना दुधे बालकै थिए । श्रीमतीको त्यही उलु पादाङमा अन्त्येष्टि सम्पन्न भयो । पत्नि वियोगले अत्यन्तै मर्महात रामबहादुर पीडा खप्न नसकि जागिर नगर्ने निर्णयमा पुगेर ‘घर जान्छु भनि’ रिपोर्टसम्म गर्नु भयो ।

खुशीको समय
बेलायत सरकारले मार्च १९६६ मा लान्स कर्पोरल रामबहादुर लिम्बूले भिसी पाएको घोषणा गर्यो । एशियामा रहेको तत्कालीन ब्रिटिश सैन्य मुख्यालय सिंगापुरमा ठूलो भिसी घोषणा परेड आयोजना गरियो । उहाँको दुई नाबालक छोराहरु रेखदेखका लागि पल्टनले एकजना चीनिया महिला खटाएको थियो । उहाँलाई १२ जुलाई १९६६ मा वकिमघाम प्यालेसमा महानी इलिजावेथ द्धितीयबाट भब्य समारोहमा भिक्टोरिया क्रस प्रदान गरियो । उहाँले जेठा छोरा भक्तलाईपनि उक्त ऐतिहासिक भिसी परेडमा लानु भएको थियो । सोही वर्ष अन्ततिर नेपाल गएर उहाँले पूर्णीमाया राईसंग दोस्रो बिवाह गर्नु भयो । पूर्णीमायातर्फ जीवन, भानु र त्रिभूवन तीन छोरा जन्मेकोमा त्रिभूवनको सानैमा मृत्यु भइ सकेको छ ।
पल्टनमा अझ इमान्दिारीकासाथ काम गर्दै जाँदा लगतार पर्मोशन हुँदै रामबहादुर लिम्बू १९७७ मा लेफ्टिनेन्टमा पदोन्नति हुनु भयो । नोकरीको अन्ततिर दुई वर्ष वकिमघाम प्यालेस दरवारको विशेष जिम्मेवारी दिइयो र उहाँ ‘मेम्बर अफ द रोयल भिक्टोरियन अर्डरबाट’ विभूषित हुनु भयो । २८ वर्ष लामो सेवागरी ब्रिटिश सेनाबाट अवकास लिएपछि दोस्रो नोकरीको लागि गोर्खा रिजर्भ युनिट ब्रुनाईमा आठ वर्ष पूरागरी उहाँ सन् १९९२ मा अवकास लिनु भयो ।

अवकास जीवन र समाज सेवा
८३ वर्षका भिसी रामशहादुर बेगा लिम्बू धर्म, कर्म, संस्कृति र समाज सुधार र गाउँ विकासमा सक्रिय हुनु हुन्छ । उहाँले दमकमा किरात माङहिम निर्माण–२०४४ र आफ्नो जन्मथलो च्याङथापु पेरेङ्गेमा श्री महाकाली प्राथमिक विद्यालय, किरात माङहिम र मोटरबाटो निर्माणस्ता धेरै सामाजिक कार्यहरुमा सहयोग गर्नु भएको छ ।

जेठा छोरा क्याप्टेन भक्त र कर्पाेरल चन्द्र दुवै रिटायर ब्रिटिश सेना हाल बेलायतको बेजिङस्ट, जीवन नेपालको दमक र कान्छा भानु अष्ट्रेलियामा बसोबास गर्छन । भिसी रामबहादुर बेलायतकी महारानीको निमन्त्रणमा हरेक दुइ वर्षमा सम्पन्न हुने भिसी र जिसी रियुनियन समनरोहमा सहभागी हुन छुटाउनु हुन्न ।
पाँचथर स्मारिका यूके-१९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *