राजनीति

गण्डकीका मुख्यमन्त्रीको पद धरापमा (भिडियो रिपोर्टसहित)

२०८० वैशाख ८ गते २१:०३
गण्डकीका मुख्यमन्त्रीको पद धरापमा (भिडियो रिपोर्टसहित)

८ वैशाख २०८० कास्की । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेश सरकार अल्पमतमा छ। नियुक्ति बेलाका समर्थक गुमाएपछि मुख्यमन्त्री खगराज अधिकारीले भोलि प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ।

सरकार बनेको सय दिन पार गर्दैगर्दा मुख्यमन्त्री अधिकारी दोस्रोपटक विश्वासको मत लिने निणर्य गर्नुभएको हो। सरकारको मुख्य सहयात्री नै गुमाएपछि संसदीय गणितमा कमजोर हुनुभएका अधिकारीको मुख्यमन्त्रीको पद गुमाउने निश्चित छ।

राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा एमाले–माओवादीसहितको गठबन्धन टुटेपछि मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार धरमरमा छ । केन्द्रीय सत्ता समीकरणको फेरबदलसँगै गण्डकी प्रदेश सरकारबाट चैत १० गते माओवादी केन्द्र बाहिरिँदै समर्थन फिर्ता लियो ।

अल्पमतमा परेपछि मुख्यमन्त्री अधिकारीले राजीनामा दिने धेरैको अपेक्षा थियो । तर, मुख्यमन्त्री अधिकारीले त्यसको ठिक विपरीत संसदको हिउँदे अधिवेशन आह्वान गरेर संसदबाट पुनः विश्वासको मत लिने योजना बनाउनुभएको छ । मुख्यमन्त्री अधिकारीले शनिवार विश्वासको मत लिने गरी कार्यसूची तयार पारिएको छ । मुख्यमन्त्रीको योजना राजीनामा नभई संसद फेस गर्ने नै छ ।

अहिलेको अवस्थामा मुख्यमन्त्री अधिकारीले संसदबाट विश्वासको मत प्राप्त गर्न सक्ने सम्भावना छैन । नेकपा एमालेसँग उपसभामुखसहित २२ संसद छन् । राप्रपाले अधिकारी नेतृत्वको सरकारमा सामेल छ ।

अहिलेको अवस्थामा सरकारसँग २४ सांसदको मात्र देखिन्छन् । तर, अन्तिम समयसम्म पनि मुख्यमन्त्री अधिकारी माओवादीलाई रिझाउने प्रयासमा भएपनि माओवादी गठबन्धनमा घात गर्न चाहँदैनन् । त्यसमाथि आलोपालो सरकार चलाउने गठबन्धनमा सहमति भइसकेकाले मुख्यमन्त्रीको प्रयास सफल हुने देखिँदैन ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक पर्छ । तर एमाले नेतृत्वको सरकार ढलेको खण्डमा कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनबाट कसले सरकारको नेतृत्व गर्ने भन्नेबारे अन्योल कायमै छ ।

संसदको ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री हुनेमा ढुक्क छन् । तथापि माओवादीका केही सांसद पहिलो चरणमा आफ्नो दलले नेतृत्व गर्नुपर्ने दाबी गरिरहेका छन् । यो परस्थितिमा मुख्यमन्त्री अधिकारी शनिवार संसदमै राजीनामा दिन पनि सक्ने आकलन भने भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्