राजनीति

उम्मेदवार मतदाता रिझाउन घरदैलोमा (भिडियो रिपोर्टसहित)

२०८० वैशाख ५ गते १७:५६
उम्मेदवार मतदाता रिझाउन घरदैलोमा (भिडियो रिपोर्टसहित)

५ वैशाख २०८० बारा । उपनिर्वाचन आउन पाँच दिन बाँकी रहेको अवस्थामा बारा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार मतदाता रिझाउन घरदैलो गरिरहेका छन् ।

निर्वाचनका बेलामात्र जनतामाझ पुग्ने विभिन्न पार्टीका उम्मेदवार फेरी भोट माग्न जनताको घरदैलोमा पुगेका हुन् । तर, लामो समयदेखि उम्मेदवारको आश्वासन सुनेर विभिन्न अपेक्षा बनाएका नागरिक भने निराश छन् ।

देशमा पटक पटक निर्वाचन भयो । नागरिकले धेरै उम्मेदवारलाई आफ्नो अमूल्य भोट दिएर संसदमा पठाए । ति जनप्रतिनिधि मन्त्री पनि भए । तर, नागरिकको समस्या जहाँको तहीँ । यो पटकको निर्वाचनमा पनि नागरिकले उम्मेदवारबाट केही आशा गरेका छैनन् ।

आउँदो आइतबार हुने उपनिर्वाचनले बैशाखको उखरमाउलो गर्मी बिर्साएको छ । ४१ डिग्री सेल्सियस तापक्रमको परवाह नगरी अहिले उम्मेदवार मत आफ्नो पक्षमा पार्नका लागि घरदैलो गरिरहेका छन् । बारा क्षेत्र नम्बर २ मा हेबिवेट प्रतिष्पर्धा हुँदैछ ।

मंसिर ४ को निर्वाचनमा यस क्षेत्रमा जनता समाजवादी पार्टीले जितेको थियो । त्यसबेला एमालेसँगको गठबन्धन बनाएको जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि यहाँ उपचुनाव हुन लागेको हो ।

अहिले जसपा कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनमा छ । तर, पनि उपेन्द्र यादवलाई जित निकाल्न सहज भने छैन । दुई दशकदेखि सत्ताको वरिपरी घुमिरहेका यादव चर्को गर्मीको परवाह नगरी बारा २ का जनतामाझ पुग्नुभएको छ ।

मंसिरको निर्वाचनमा झिनो मतान्तरले पराजित भएका शिवचन्द्र कुशवाह दोस्रो प्रयास गर्दै हुनुहुन्छ । त्यसबेलाका माओवादी उम्मेदवार कुशवाह अहिले जनमत पार्टीमा हुनुहुन्छ । मधेशमा अहिले जनमतको राम्रो माहोल बनेका कारण कुशवाह जित्नेमा ढुक्क हुनुहुन्छ । आफ्नो उम्मेदवार जिताउनका लागि पार्टी अध्यक्ष सीके राउत नै सक्रिय हुनुहुनछ ।

नेकपा एमालेले पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई उठाएको छ । २०४८ र ५६ मा निर्वाचनमा जित हात पारेको एमालेको यस क्षेत्रमा राम्रो प्रभाव छ ।

गत निर्वाचनमा राम्रो नतिजा ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व डिआईजी रमेश खरेललाई उठाएको छ । खरेललाई मत दिलाउनका लागि पार्टीका ठूला नेता बारा पुगेका छन् ।

बारा २ मा विभिन्न दलका १२ जना र स्वतन्त्र २२ जना गरी ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तिमध्ये गठबन्धनकार्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल चुनावी मैदानमा छन् । त्यसमा पनि मधेशमा आफ्नो विराशत जोगाउन प्रयास गरिरहेको जसपा र वर्चश्व जमाउने दौडमा लागेको जनमतका उम्मेदवारबीचको प्रतिष्पर्धा रोचक हुने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्