Main News

आफ्नालाई मात्र विभूषण ! विभूषण नै लज्जित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख २ गते २१:०८
आफ्नालाई मात्र विभूषण ! विभूषण नै लज्जित (भिडियो रिपोर्टसहित)

२ वैशाख २०८० काठमाडौं । नव वर्षको दिन वैशाख १ गते राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई शीतलनिवासमा आयोजित विशेष समारोहमा विभूषणले सम्मान गर्नुभएको छ । तर विभूषण र विवाद पर्यायावाची नै भइरहेको छ । राजतन्त्रकालमा विभूषणमा दरबारका आसेपासेको रजगज थियो । अहिले सरकारमा भएका दल तथा तिनका कार्यकर्ताको दबदबा हुने गरेको छ ।

यो वर्ष ८८२ जनालाई राष्ट्रपतिले विभिन्न विभूषण प्रदान गर्ने भनेर संविधान दिवसको दिन असोज ३ गते गृह मन्त्रालयले नाम सार्वजनिक गर्‍यो । त्यसैअनुसार शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा विशेष समारोहको बीच विभूषण प्रदान गरिएको छ । विभूषण र पदक पाउनै पर्नेले पाएका छन त ? या गणतन्त्रमा पनि राजतन्त्रकालीन झल्को नै आएको छ ?

राज्यले दिने विभूषण र पदकले हरेक नागरिकको मन प्रफुलित हुनुपर्ने हो तर सम्मानित लुकेर पदक थाप्न जानुपर्ने अवस्था छ । सामाजिक सञ्जालमा गरिएको टिप्पणीलाई मात्र हेर्ने हो भने पनि सम्मानितको अनुहार अध्याँरो किन भन्दै व्यंग्य गर्ने गरेको पाइन्छ । पदक तथा विभूषण पाउनेहरुले नै अस्वीकार गरेका प्रसंगहरु पनि पटक–पटक आए । यस्तो किन हुन्छ ?

विभूषण ऐन, २०६४ र नियमावली, २०६५ को आफू अनूकुल व्याख्या र सिफारिस समितिको संरचनाले नै विभूषण र पदकमा दलीय गन्ध ह्वास्सै आउने गरेको छ । अहिले पनि राजतन्त्रकालीन जस्तै निगाहमा पदक छनोट हुने गरेको छ । अहिले विभूषित गर्ने नाममा राज्यले दिने पदककै अपमान गर्ने गरी राज्यको सम्मानलाई समेत सस्तो बनाएर सम्मानको समेत खिल्ली उडाउन थालिएको छ।

विभूषणको संख्या मनोमानी रूपमा थप्ने प्रवृत्ति बढेपछि २०७७ असार २ गते मन्त्रिपरिषद्ले नियमावली(२०६५ संशोधन गर्दै एक वर्षमा २ सय जनालाई मात्र विभूषण दिने निर्णय गर्‍यो। त्यो बेला हरेक वर्ष मानपदवी एक सय तथा अलंकार र पदक ५०–५० जनालाई दिने निर्णय भएको २ महिनामै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले विभूषणमा कोटा राख्ने प्रावधान हटायो । मन्त्रिपरिषद्ले नियमावली संशोधन गरेर ‘सरकारले निर्धारण गरेको संख्यामा विभूषण दिने’ तजबिजी प्रावधान राख्यो । त्यसैको निरन्तरता अहिले पनि छ । यसले विभूषण पाउनेको संख्यामात्र थपेको छैन खर्च पनि बढाइरहेको छ ।

विभूषण ऐन, २०६४ र नियमावली, २०६५ जारी भएको छ । ऐनमा मान पदवी, अलंकार र पदक राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनेलाई दिइने हो भन्ने प्रष्ट हुन्छ ।

ऐनको परिच्छेद २ मा ‘विभूषण प्रदान गर्ने प्रक्रिया’अन्तर्गत ३ (१) मा ‘नेपाल सरकारले राष्ट्रिय जीवनका राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, अन्वेषणात्मकलगायतका अन्य क्षेत्रमा वा अन्तर्राष्ट्रिय क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने नेपाली नागरिकलाई समितिको सिफारिसमा यस ऐनबमोजिम विभूषण प्रदान गर्न सक्नेछ’ भनिएको छ ।

यसरी नै ऐनको दफा ६ मा ‘विभूषण सिफारिसका आधार’ अन्तर्गत
क. राष्ट्रको गौरव वृद्धि गर्ने कार्यमा विशेष योगदान पुर्‍याएको
ख. आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरी राष्ट्रलाई योगदान पुर्‍याएको
ग. सरकारी सेवासँग सम्बन्धित व्यक्तिको हकमा आफूलाई तोकिएको काम प्रशंसनीय रूपमा सम्पादन गरेको
घ. विदेशी नागरिक भए नेपालको समुन्नति तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सम्मान बढाउने कार्यमा विशेष योगदान पुर्‍याएको
ङ. कुनै साहसी वा बुद्धिमत्तापूर्ण काम गरी सार्वजनिक हितको लागि विशेष योगदान पुर्‍याएको
च. तोकिएको अन्य आधार पूरा गरेको हुनुपर्ने भनिएको छ ।

विभूषण सिफारिस गर्नका लागि समिति नै गठन गरिएको हुन्छ । समितिले सरकारलाई विभूषण पाउने व्यक्तिको नाम सिफारिस गर्छ । मन्त्रिपरिषद्ले विभूषण पाउने व्यक्तिको नाम स्वीकृत गर्दछ ।

यही संरचनाका आधारमा गठित समितिको सिफारिसका आधारमा पछिल्लो १३ वर्षमा वितरण गरिएको विभूषण र पदकको संख्या हेरौंः

कुन वर्ष कति पदक ?
२०६७ सालः २६९
२०६८ सालः (संविधानसभा विघटन र राजनीतिक तरलताले पदक नबाँडिएको)
२०६९ सालः १६४
२०७० सालः १८९
२०७१ सालः ३२६
२०७२ सालः (विनाशकारी भूकम्पका कारण विभूषण घोषणा नगरिएको)
२०७३ सालः ३७०
२०७४ सालः ४९८
२०७५ सालः ५१८
२०७६ सालः ६३३
२०७७ सालः ५९३
२०७८ सालः ८८७
२०७९ सालः ८८२

विभूषण र पदकको निष्पक्ष वितरण नभएको मात्रै हैन यसले राज्यको ढुकुटीमा पनि अनावश्यक आर्थिक भार थोपरिरहेको छ । पछिल्लो पाँच वर्षमा सरकारले विभूषणमा गरेको खर्चको विवरण पनि हेरौं एक पटकः

पदकमा कुन वर्ष कति खर्च ?
२०७५ सालः ५ करोड ६९ लाख ७७ हजार
२०७६ सालः ८ करोड ५० लाख
२०७७ सालः १० करोड २२ लाख १६ हजार
२०७८ सालः १९ करोड ७२ लाख ५१ हजार
२०७९ सालः करिब साढे १४ करोड

पछिल्ला ११ वर्ष विभिन्न पेसा व्यवसायमा आबद्ध रहेर देश र जनताका लागि योगदान गर्ने केही व्यक्तिलाई अपवाद ठान्ने हो भने विभूषण पाउनेमा सत्तारूढ दलका नेता(कार्यकर्ता, आसेपासे र स्वार्थ समूह तथा शक्तिकेन्द्र निकटकै दबदबा देखिन्छन् । हुन त पदक पाउनेमा सार्वजनिक भएका कतिपयले पदक अस्वीकार गरेका पनि छन । पदक र विभूषणको अपमान हुने गरी पदक बाड्नुको के अर्थ रहन्छ र ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *