राजनीति

रास्वपाकाे निष्कर्ष : चितवनमा व्यक्तिगत र पार्टीको प्रभाव घट्याे (भिडियो रिपोर्टसहित)

२०८० वैशाख २ गते २०:५८
रास्वपाकाे निष्कर्ष : चितवनमा व्यक्तिगत र पार्टीको प्रभाव घट्याे (भिडियो रिपोर्टसहित)

२ वैशाख २०८० चितवन । वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारहरु मत माग्न व्यस्त छन् । यो क्षेत्रमा रास्वपा सभापति रवि लामिछाने, एमालेबाट रामप्रसाद न्यौपाने र कांग्रेसबाट जीतनारायण श्रेष्ठ मुख्य प्रतिस्पर्धी हुन् ।

मंसिर ४ को चुनावमा भारी मतले विजयी भएका लामिछाने यो पटक पनि त्यस्तै नतिजा हात पार्ने दाउमा छन् । तर, चितवनमा व्यक्तिगत र पार्टीको प्रभाव घटेको निष्कर्ष स्वयं रास्वपाले निकालेको छ ।

यही कुरालाई मनन गरेका अन्य दलले भने लामिछानेविरुद्ध आक्रामक प्रचार गरिरहेका छन् । ग्राउन्ड जिरोको अवस्था बुझ्दा पनि रास्वपा सभापति लामिछाने मतदाता फकाउन भन्दा बिच्काउन उद्दत छन् । यसले लामिछानेलाई पाँच महिनामै कमजोर बनाएको छ ।

मंसिर ४ को चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ४९ हजार ३ सय मतसहित जित हात पार्नुभयो । कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याउनुभएको थियो । नयाँ पार्टी र रविको क्रेजका कारण मतदाता उत्साहित भएर मत उर्लिएको दलहरूको बुझाइ छ । तर, पाँच महिनामै रविको क्रेज घटेको छ ।

उहाँ मतदातामाझ आफ्नै अभिमान र पार्टीका कारण कमजोर बन्नुभएको छ । दुई महिने ग्रासरुट अभियानले एमालेमा रहेर पनि रविलाई मत दिएका ५० प्रतिशतमध्ये ३० प्रतिशत फर्किएको हिसाब एमालेले प्राप्त गरेको छ । उता गत चुनावमा छिन्नभिन्न भएको कांग्रेस अहिले एक ठाउँमा उभिँदा रविलाई थप चुनौती थपिएको छ । तर पनि २० हजार मत मात्रै घट्ने तर जित निश्चित भएको रास्वपाको दावी छ । मत घट्नुको आधार रवि स्वयं र पार्टी भएको निष्कर्ष उनीहरूको छ ।

रास्वपाले देखेको मत घट्ने आधार
– नागरिकता प्रकरण
– पासपोर्ट प्रकरण र सेटिङ
– सत्तामा जान मरिहत्ते
– ढाकाकुमार श्रेष्ठको अडियो प्रकरण
– सिद्धान्तविहीन र संगठन विस्तार नहुनू
– मतदातासँग आक्रोशित व्यवहारमा उत्रिनु

हुन पनि पुनः नागरिकता प्राप्त नगरेको थाहा हुँदाहुँदै रविको अभिमानका कारण उपचुनाव हुन लागेको हो । व्यक्तिले गरेको कमजोरी कारण मुलुकले आर्थिक भार ब्यहोर्नुपरेको विषयलाई अन्य दलले चुनावी मुद्दा बनाएका छन् । नागरिकता विवादमा रहँदा मुद्दा प्रभावित गर्नै गृहमन्त्रालय दावी गरेको र ‘कन्फिल्क्ट अफ इन्ट्रेष्ट’मा मुछिदा लामिछानेप्रति वितृष्णा बढेको छ ।

प्रचण्डलाई विश्वासको मत, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन चयनमा सत्तारुढ दललाई सहयोग गरेर पासपोर्ट प्रकरणबाट उम्किएको आरोप पनि रविलाई छ । त्यसमाथि आफ्नै विवाद मत्थरमा बढी समय खर्चुनु, संगठन विस्तार गर्न नसक्नु र ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न व्यापारीसँग पैसा मागेको अडियो सार्वजनिक हुनुले रविको केही मत घट्ने अनुमान हुन् । तर, पराजित चाहिँ नहुने उनीहरूको निष्कर्ष हो ।

उपनिर्वाचनको मिति सार्वजनिक हुनु अगाडि नै प्रचारमा जुटेको रास्वपा अहिले पनि घरदैलोमा छ । आफ्नै कमजोरीका कारण उपचुनाव भइरहेपनि नेतृत्व र दललाई आरोप लगाउँदै प्रचारमा दौडिएका रवि मतदाताबाट हुने प्रतिप्रश्नमा भने केही आक्रोशित हुने गरेका छन् । मत घट्ने अनुमान लगाइरहँदा पनि मतदाताले नागरिकताका सन्दर्भमा उठाएका प्रश्न सोध्दा आक्रोशित हुन भने छाडेका छैनन् ।

तर, कांग्रेस र एमाले भने रविको प्रभाव घट्दा चुनाव आफ्नो पोल्टामा पार्नमा प्रयासरत् छन् । मंसिर ४ मा रास्वपाले प्रहार गरेको पार्टीभित्रको किचलोलाई बलियो बनाएर दलहरू अहिले रास्वपाको कमजोरीको फाइदा उठाइरहेका छन् । रविलाई त्यसबेला अन्य पार्टीका कार्यकर्ता र धेरै मतदाताले मत दिएको प्रमुख पार्टीहरुको ठम्याइ थियो । तर, पाँच महिनामै रविलाई मत दिएका आफ्ना धेरै परम्परागत मतदातालाई फर्काएको दावी गरिन थालेको छ । संगठन बनाउन नसक्नुको फाइदा ठूला दलले लिएका छन् । जसका कारण उपचुनाव हुँदैछ उही फेरि उपचुनावमा भोट माग्न आउनु अनैतिक भएको दलहरूको तर्क छ ।

रास्वपाको आफ्नै संगठन बलियो छैन । त्यसमाथि ढाकाको अडियो प्रकरणले पार्टी र नेतृत्वमाथि प्रश्न उठेको छ । रविप्रति सबै सुई सोझिँदा मतदाता सशंकित छन् । यद्यपि, चुनाव आउन ८ दिन बाँकी रहेकाले रविले मत बढाउँछन् वा घटाउँछन् त्यसका लागि चुनाव पर्खनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्