राजनीति

आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा देखियोः प्रधानमन्त्री प्रचण्ड

हिमालय टिभी
२०८० वैशाख १ गते ९:५९
आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा देखियोः प्रधानमन्त्री प्रचण्ड

१ वैशाख २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताउनुभएको छ ।

आज पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो आशंका व्यक्त गर्नु भएको हो । उहाँले संविधान सभामै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताउनुभयो ।

उहाँले परिवर्तनलाई विचलनमा लैजाने काम भइरहेको भन्दै सबै सजग रहन आग्रह गर्नुभयो । उहाँले वर्तमान समयमा आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागेपनि स्थिति सहज नरहेको जिकिर गर्नुभयो ।

उहाँले जिम्मेवारी बोध गरी संघर्ष नगर्ने हो भने अप्ठ्यारो स्थिति आउनसक्ने चेतावनी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले सरकारलाई जनमुखी बनाउने, जनताको आशाअनुसार काम गर्ने चुनौति रहेकाले योजनाहरुको कार्यान्वयन गर्दै जानुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा नेकपा (माओवादी केन्द्र) ले नेताहरुको समर्थन लिएर नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्ने बताउनुभयो । उहाँले नेतृत्वलाई दबाब दिएर नेतृत्व पाउने प्रणाली अन्त्य नगरेसम्म पार्टी बन्न नसक्ने बताउनुभयो । उहाँले पार्टी जनतामा नजानु भनेको नेताहरुको सहयोगमा नेतृत्व लिने प्रणाली हाबी हुनु रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब नेताहरुको समर्थन लिएर नेताको सहयोगले नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्छ, नेतृत्वलाई प्रेसर गर्ने, त्यसपछि हामी पनि त्यस्तै भइयो । यसले पार्टी बनेन । जनतातिर गएन, पार्टी तल गएन, माथि फर्कियो, यसले पार्टी जनताबाट कट्यो । कार्यकर्ताको मन जित्ने नै नेता हुने प्रणालीतिर जानुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले कार्यकर्ताको मन जित्ने मानिस नै नेता बन्ने प्रणालीको विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्