Main News

मानव तस्करको निशानामा रोहिंग्या शरणार्थी ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत २८ गते २०:५०
मानव तस्करको निशानामा रोहिंग्या शरणार्थी ! (भिडियो रिपोर्टसहित)

२८ चैत २०७९ काठमाडौं । नेपालमा म्यानमारको रखाइन प्रान्तबाट लखेटिएका रोहिंग्या दैनिक जसो बढेका छन् । नेपाल रोहिंग्यासहित भुटानी, तिब्बती लगायतका मुलुकबाट आएका २० हजार शरणार्थी रहेको संयुक्त राष्ट्रसंघीय शरणार्थी आयुक्तको कार्यालयको तथ्यांक छ ।

नेपालले औपचरिकरुपमा रोहिंग्यालाई शरणार्थी मानेको छैन । काठमाडौंको कपन क्षेत्रमा मात्र ४ सयभन्दा बढी शरणार्थी बसोबास गर्छन् । यीनीहरु अन्तर्राष्ट्रिय मूल्यमान्यताका आधारमा यहाँ बस्छन् । यी शरणार्थी अहिले मानव तस्करीको निशानामा परेका छन् ।

यो दृश्य, काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ कपनको हो । यहाँ केही बालबालिका खेलिरहेका देखिन्छन् । महिला घरकै काममा व्यस्त छन् । धेरै जसो पुरुष दिउँसो भेटिदैनन् । उनीहरु यो समयमा कामका लागि घरबाट निस्किएका हुन्छन् । म्यानमारको रखाइन प्रान्तबाट भागेर बंगलादेश, भारत हुँदै नेपाल छिरेका रोहिंग्या शरणार्थी बस्नका लागि कपनमा शिविर बनाइएको छ ।

विक्रम संवत् २०६९ बाट रोहिंग्याहरु नेपाल आउने क्रम सुरु भयो । सुरुमा २०–२५ जनाको संख्यामा आएका रोहिंग्याहरु अहिले थपिदै गएका छन् । कपनमा मात्र ४ सय शरणार्थी रहेको तथ्यांक सार्वजनिक गरिएको छ ।

सरकारले अवैध आप्रवासीको संज्ञा दिएपनि संयुक्त राष्ट्रसंघीय शरणार्थी आयुक्तको कार्यालय युनएचसीआरले शरणार्थीको परिचयपत्र उपलब्ध गराएको छ । यहाँ ४ सयभन्दा बढी रोहिंग्या रहेको बताइन्छ । उनीहरुमध्ये केही आफन्तमार्फत त केही दलालमार्फत नेपाल भित्रिएका हुन् ।

कपनस्थित राममन्दिरमा ५ रोपनी १० आना जग्गा वार्षिक १२ लाख भाडामा लिई ९७ परिवारका ३ सय ३३ जना ३७ वटा टहरा बनाएर बसेका छन् । कपनमा मात्र होइन, देशका विभिन्न भागमा रोहिंग्याहरुले डेरा जमाएका छन् । करिब ३ हजारको संख्यामा रोहिंग्या नेपालमा रहेको विभिन्न निकायहरुले तथ्यांक निकालेका छन् । तर, सरकार जानकार देखिदैन ।

अहिले मानव तस्करको नजरमा रोहिंग्या परेका छन् । नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक लैजान मानव तस्करहरु सक्रिय बनेका छन् । यी शरर्णाथीलाई चिन्ने नेपालको आफ्नै कानून छैन नत अन्तर्राष्ट्रिय महासन्धी–१९५१ मै हस्ताक्षर गरेको छ । तर पनि मानवीयता र अन्तर्राष्ट्रिय मूल्य मान्यताका कारण नेपालले शरण दिंदै आएको छ ।

शरणार्थीलाई अमेरिका, यूरोप लैजाने प्रलोभन देखाएर मानव तस्कर प्रहरीका लागि चुनौति बनेको छ । फागुन २५ गते प्रहरीले मानव तस्करको एक गिरोहलाई पक्राउ गर्यो । यो गिरोहले बंगलादेशमा रहेका लालबालसहित ६ जना रोहिंग्यालाई अमेरीका पठाई दिने भनेर नेपाल ल्याएको थियो ।

नेपालमा युनएचसीआरले शहरी शरणार्थीको परिचय पत्र दिन्छ र त्यही परिचयपत्रका आधारमा अमेरिका पठाउने तस्करले प्रलोभन देखाएको थियो । रोहिंग्यासँग बगालेदेशी टाका २ लाख ५० हजार असुलेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । एक महिना अगाडि मात्र १२ रोहिंग्या भारत हुँदै नेपाल आएको सुरक्षा निकायको रिपोर्ट छ ।

दीर्घकालीन समाधान नखोजे रोहिंग्या शरणार्थी सरकारका लागि टाउको दुखाइको विषय बन्नेछ । रोहिंग्याको सुरक्षा चिन्ता मात्र होइन, स्थानीयस्तरमा पनि सुरक्षा चुनौति थपिने कतिपय बताउँछन् ।

गृहमन्त्रालयले २०७६मा गरिएको अध्यायनले रोहिंग्याबाट तीन थरी जोखिम औंलाएको थियो । रोहिंग्या आप्रवासीलाई आश्रय दिदा स्थानीयले उपभोग गर्ने स्रोत साधनमा कमी हुने, आन्तरिक द्वन्द्व फैलिने र भविष्यमा संगठित अपराध बढ्ने कार्यदलको निश्कर्ष थियो । त्यसयता रोहिंग्या ब्यवस्थापनको दिगो समाधन खोज्न सरकारले कुनै कदम चालेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *