Main News

वैकल्पिक नामको उभार अवसानको बाटोमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत २७ गते २१:१९
वैकल्पिक नामको उभार अवसानको बाटोमा (भिडियो रिपोर्टसहित)

२७ चैत २०७९ काठमाडौं । नेपाली राजनीतिमा पछिल्लो दशक वैकल्पिक राजनीतिको नारा धेरै नै लाग्यो । जसले केही मात्रामा नागरिकलाई आकर्षित पनि गर्यो । तर, वैकल्पिक राजनीति स्थापित हुनेभन्दा अवसानकै बाटोमा अग्रसर छ ।

गणतन्त्र स्थापनापछि नेपालको राजनीतिमा वैकल्पिक राजनीतिको धेरै नै चर्चा छ । ०६९ सालमा भएको अकुपाई बालुवाटार अभियानबाट सुरु भएको उक्त यात्रा ०६९ जेठ १५ गते विवेकशील नेपाली दलमा रुपान्तरित भयो । त्यसको नेतृत्व गर्नु भएको थियो उज्ज्वल थापाले । सिर्जनशील आन्दोलनका कारण यो दलले चुनावै नजिते पनि ७० को चुनावमा ४ ठाउँमा स्वतन्त्र उम्मेदवारी दिएर राम्रै चर्चा पायो । ०७४ को स्थानीय तहको निर्वाचनमा पनि यो पार्टी चर्चामा रह्यो ।

बीबीसी नेपाली सेवाबाट बाहिरिएपछि पत्रकार रवीन्द्र मिश्रले ०७३ फागुनमा साझा पार्टी दर्ता गर्नुभयो। २०७४ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा यो पार्टीले राम्रै शुभेच्छा प्राप्त गर्यो । काठमाडौं महानगरपालिकामा मेयरका प्रत्यासी बनेका साझा पार्टीका किशोर थापा र विवेकशील दलकी रञ्जु दर्शनाले अनपेक्षित मत प्राप्त गरेपछि यी दुई पार्टी मिले वैकल्पिक शक्ति बन्ने महत्वाकांक्षा राखे ।

तर, यो पार्टी ०७५ पुस २७ मा फुट्यो । ०७७ मंसिर २४ मा पुनः दुई पार्टी एकता भए पनि मिश्र वैकल्पिक राजनीतिको मार्ग छाडेर हिन्दु राजा र राजसंस्था पुनस्थापनाको परम्परागत मुद्दा बोक्ने दल राप्रपामा प्रवेश गर्नुभयो। पछिल्लो निर्वाचनमा विवेकशील साझा पार्टीका शिर्ष नेताले जमानत नै जोगाउन सकेनन् ।

यो बीचमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले माओवादी परित्याग गरेर वैकल्पिक राजनीतिकै नारामा ०७३ जेठ ३० मा ‘नयाँ शक्ति’ पार्टी स्थापना गर्नुभयो । तर, उहाँ लामो समय टिक्नुभएन । एमाले र माओवादी एकता हुँदा हतारहतार एकतासभामा पुगेपछि उहाँको वैकल्पिक राजनीतिको नाराले हावा खायो । पछि उहाँले नयाँ शक्तिलाई जसपामा विलय नै गराउनुभयो । अहिले जसपा पनि छोडिसकेपछि उहाँको नयाँ शक्तिको जरोकिलो राजनीतिमा बाँकी छैन ।

उसो त मंसिर ४ को निर्वाचनबाट अर्को दल उदायो, राष्ट्रिय स्वतन्त्र पार्टी । जसले आफूलाई वैकल्पिक राजनीति गर्ने बलियो शक्तिका रुपमा स्थापित गर्यो । २० सिट सहित संसदमा पुगेको यो दलले वैकल्पिक दाबा गर्न नछाडेपछि पुरानै पार्टीको पछि लागेर सत्तारोहण गरेपछि भुत्ते देखिएको छ । सभापति रवि लामिछाने, सांसद ढाकाकुमार श्रेष्ठ, डिपी अर्याललगायतको विवादित विगत र वर्तमानका गतिविधिले स्वतन्त्र पार्टी पनि पुरानै दलको भाई पार्टीमा परिणत हुँदै गएको छ ।

आखिर स्थापनाको छोटो समयमै वैकल्पिक राजनीतिक अभियानको अवसान किन भइरहेको छ त ?

शक्ति प्राप्तिका लागि वैकल्पिक राजनीतिको नारा दिनेहरु पनि भूमिका पाउँदै उही पुराना नेताहरु जस्तै पदलोलुप देखिनु दुर्भाग्य हो । अझ आचरण, पार्टी सञ्चालन र विचारका हिसावले पुराना दल भन्दा भिन्न नदेखिँदा वैकल्पिक राजनीतिको नारा गर्जने तर नबर्सने बादल बनिरहेका छन् । जसकारण पुराना दलबाट दिक्क नागरिक नयाँ पनि उस्तै पाउँदा थप निराश बन्न पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *