राजनीति

सिपी मैनाली र माधव नेपाल उस्तै ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत २७ गते २१:०९
सिपी मैनाली र माधव नेपाल उस्तै ! (भिडियो रिपोर्टसहित)

२७ चैत २०७९ काठमाडौं । एमालेसँग असन्तुष्ट हुँदै २०७८ भदौमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी गठनमा सामेल भएका नेता–कार्यकर्ता भटाभट पार्टी छाड्न थालेका छन् ।

वरिष्ठ नेता मुकुन्द न्यौपानेदेखि कर्मचारी युनियनका अध्यक्षसम्मले एकीकृत समाजवादी छाडिसकेका छन् । न्यौपानेकै दाबीलाई मान्ने हो भने दुईतिहाइले पार्टी छाड्ने तयारी गरका छन् । अधिकांश असन्तुष्टले अध्यक्ष नेपालकै कार्यशैलीलाई दोष दिएका छन् । भनिन्छ सम्मानित नेता झलनाथ खनालसम्म पार्टी छाड्ने ‘मुड’मा छन् ।

अध्यक्ष केपी शर्मा ओली कार्यशैलीको विरोधमा जन्मिएको एकीकृत समाजवादी पार्टीमा पहिरो जाने संकेत देखिएको छ । तेस्रो वरियतामा रहेका नेता मुकुन्द न्यौपानेले सार्वजनिक घोषणा गर्दै एकीकृत समाजवादी त्यागेपछि तरंग उत्पन्न भएको छ । न्यौपाने बाहेक १० केन्द्रीय नेताले पार्टी छाडिसकेका छन् । एकीकृत समाजवादी छाड्ने कार्यकर्ताको पनि लर्को नै छ, हालसम्म झण्डै ५ सयको हाराहारीमा छाडिसकेका छन् ।

एकीकृत समाजवादी छाड्ने नेता–
१. २०७९ चैत २५ मा वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्यागको घोषणा
२. २०७९ चैत १५ मा उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जंगलीको राजिनामा
३. २०७९ भदौ १५ मा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही, प्रदेशसभा सदस्य तारा लामासहितका नेता एमालेमा प्रवेश
४. २०७९ साउन २ गते कर्मचारी युनियनका अध्यक्षसहितको टोली एमालेमा फिर्ता

माथीका चार घटना उदाहरण मात्र हुन् । पछिल्लो समय नेकपा एकीकृत समाजवादीको कार्यदिशा र नेतृत्वको कार्यशैली मन नपरेको भन्दै पार्टी त्याग र एमाले फिर्तीको लहर नै चलेको छ । तत्कालीन नेकपाको निरन्तरता भनिएको एमालेमा रहेका पूर्वमाओवादीहरु असन्तुष्ट रहेको टिप्पणी भइरहँदा एमाले छाडेर एकीकृत समाजवादीमा लागेका नेताहरु पार्टीभित्रै विद्रोहमा उत्रन थालेका हुन् । तेस्रो वरियतामा रहेका नेता न्यौपानेले त दुई तिहाइ नेता पार्टी त्याग्ने अवस्थामा रहेको दाबी गर्नुभएको छ ।

नेता न्यौपानेले भनेजस्तै विधि र विधानमा पार्टी नेतृत्व चल्न नसकेको आरोप पार्टी पदाधिकारीकै छ । नेतृत्वले समय र परिस्थिति बुझ्न नसक्दा पार्टी कमजोर मात्रै हैन नेताहरुको भविष्य नै अन्यौलपूर्ण भएपछिको विकल्प पछिल्ला विद्रोह हुन् । पदाधिकारी तहकै नेता पनि अध्यक्ष नेपालको कार्यशैली एमाले अध्यक्ष ओलीको भन्दा खराब भएको टिप्पणी गर्छन् । कतिपयले बाहिर बोल्न नसकेपनि अनौपचारिकरुपमा अध्यक्ष नेपाल धोकाधडीका माहिर खेलाडी भएको आरोप लगाउँछन् । यो असन्तुष्टिलाई नेतृत्वले किन सम्बोधन गर्न सकेन त रु

तत्कालीन अवस्थामा नेकपा एमालेका अध्यक्ष ओलीसँग दश बुँदे सहमित गरेर पनि विद्रोह भएपछि माधव नेपाललाई ५६ केन्द्रीय सदस्य र २३ संघीय सांसदले साथ दिएका थिए । तीन चरणको निर्वाचनमा पार्टीले गठबन्धनबाट सम्मानजनक भूमिका नपाउनु र संगठन बनाउने भन्दा शक्ति बाँडफाँडमा नेतृत्व रुमलिंदा निर्माण हुँदै गरेको पार्टी कमजोर बन्यो ।

गत संघीय निर्वाचनमा थ्रेसहोल्ड कटाउन नसक्ने अवस्थामा दल पुग्दा नेतृत्वले आफुलाई सच्याउने भन्दा नेता कार्यकर्तालाई होच्याउने प्रवृत्ति बढ्यो । शीर्ष नेताबीच जुँगाको लडाईं र मन्त्रीकालागि हानाथापको अवस्था पार्टीमा देखियो । एमालेको तावाबाट उछिट्यकाहरु समाजवादीको अन्धकारमय भुङ्ग्रोमा पिल्सिएका छन् र एमाले फर्कन औडाहा भएर बसेका छन् । अध्यक्ष नेपाल माओवादी र कांग्रेसको आडमा पार्टीलाई बेवास्ता गर्न थालेपछि विद्रोहको बिउ रोपीएको उक्त दल त्यागेका नेताहरुको भनाइ छ ।

२०५४ मा पनि एमाले विभाजन भएको थियो । २०५८ फागुन ३ गते अधिकांश नेता एमालेमा फर्किएपनि सिपी मैनालीले मालेलाई आजसम्म नेतृत्व दिइरहनुभएको छ । माधव नेपाल नेतृत्वको दलका शीर्ष तहका नेतामा पनि पछिल्लो समय देखिएको वितृष्णाका कारण कतै एकीकृत समाजवादी त्यही अवस्थामा पुग्ने त हैन भन्ने प्रश्न उठेको छ । आफ्नो मान खोज्दा पार्टी नेता र कार्यकर्ताको आत्मसम्मानमा ध्यान नदिने हो भने अपमान सहेर उहाँकै रक्षा कमच केही भइरहने अवस्था नरहन सक्छ । सिपी मैनाली बन्ने कि कम्युनिष्ट आन्दोलनको नेतृत्व लिने, जिम्मा माधव नेपालकै ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्