राजनीति

जब प्रचण्ड एक्कासी पूर्वसहकर्मी लेखराज भट्टको घर पुगे (भिडियो रिपोर्टसहित)

२०७९ चैत २६ गते १८:०३
जब प्रचण्ड एक्कासी पूर्वसहकर्मी लेखराज भट्टको घर पुगे (भिडियो रिपोर्टसहित)

२६ चैत २०७९ कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज एक्कासी पूर्वसहकर्मी एवं नेकपा एमालेका सचिव लेखराज भट्टको कैलालीस्थित घर पुग्नुभयो।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी जानेक्रममा प्रधानमन्त्री दाहाल आफैंले आउँछु भनेर गोदावरी नगरपालिका–१ अत्तरिया स्थित भट्टको घर छिर्नुभएको हो। भेटमा केही पारिवारिक र केही राष्ट्रिय राजनीतिबारे गफ भएको दुबै नेताले जानकारी दिए।

सायद, नेताहरुका सम्बन्ध पनि राजनीतिले मात्रै निर्धारण गर्दैन। व्यक्तिगत भावनाको तहमा पनि निर्धारित हुन्छ। र, अगाडि बढ्छ। राजनीतिकरुपमा भिन्न पार्टीमा भएपनि प्रधानमन्त्री प्रचण्ड सम्झिएरै लेखराजको घर पुग्नुभयो। र, लेखराजले पनि हार्दिकरुपमा स्वागत गर्नुभयो। आलोचित राजनीतिको सकारात्मक सन्देश हो यो।

प्रचण्डले भट्टको घरलाई आफ्नै सरह मात्रै मान्नु भएन, आफूलाई विगतमा कोठा नै छुट्याइदिएको स्मरण पनि गर्नुभयो।

२०३३ सालमा मोहनविक्रम सिंह नेतृत्वको चौथो महाधिवेशनको सदस्यता लिएयता वामपन्थी राजनीतिमा सक्रिय हुनुहुन्छ लेखराज भट्ट। नेकपा (मसाल), नेकपा (एकता केन्द्र) हुँदै भट्ट २०५२ सालमा माओवादीमा मिसिएर २०५८ सालमा सो पार्टीको केन्द्रीय सदस्य बन्नुभयो। र, त्यसयता भट्ट २०७७ मा नेकपा विभाजन नहुँदासम्म प्रचण्ड नेतृत्वकै दलमा हुनुहुन्थ्यो।

२०७७ मा नेकपा विभाजन हुँदा माओवादी केन्द्रमा नफर्की भट्टले एमाले रोज्नुभयो। भट्ट अहिले एमालेको केन्द्रीय सचिव र सुदूरपश्चिम इन्चार्ज हुनुहुन्छ। अर्थात्, राजनीतिक रुपमा प्रचण्ड र भट्टको कित्ता फरक मात्र छैन, दलीय दुस्मनीजस्तै छ। दलीय रिसराग जे भएपनि दुई नेताको व्यक्तिगत सम्बन्धको निरन्तरताले सकारात्मक सन्देश दिएको छ।

प्रचण्ड नेतृत्वको सशस्त्र द्वन्द्वलाई सुदूरपश्चिममा हुर्काउन(बढाउन अहंम भूमिका खेल्नेमध्येका एक हुनुहुन्थ्यो लेखराज। उहाँले पार्टी छोडेकै कारण सुदूरपश्चिममा माओवादी केन्द्र खस्कियो भन्नेहरु पनि छन्। अहिलेको सत्य जे भएपनि युद्धकालमा होस् या माओवादी शान्तिप्रक्रियामा आएपछि, प्रचण्डका दरिला सारथी हुनुहुन्थ्यो लेखराज। त्यही कारण प्रचण्ड नेतृत्वमा २०६५ मा बनेको पहिलो क्याविनेटमा भट्ट श्रममन्त्री हुनुभयो। प्रचण्डसँगको भेटपछि सञ्चारकर्मीले भट्टलाई फ्याट्ट सोध्दिए( ‘माओवादीमा फर्काउनेबारे त कुरा भएन नि ? ’

पूर्वमाओवादी नेतालाई एमालेले गतिलो स्पेस नदिएको सार्वजनिक चर्चा भएको यो भेटलाई अर्थपूणर्रुपमा प्रचार गर्ने संभावना रहेपनि भट्टले राजनीतिक रंग नदिन आग्रह गर्नुभएको छ। उहाँकाअनुसार झण्डै चालीस वर्षको सम्बन्ध राजनीतिकभन्दा पारिवारिक रुपमा प्रगाढ छ रे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्