अदालतमा कति छन् राहदानीका मुद्दा ? (भिडियो रिपोर्टसहित)

२४ चैत २०७९ काठमाडौं । रवि लामिछानेको राहदानीको मुद्दा दर्ताका लागि सर्वोच्च अदालतले अनुमति दिएसँगै पुनः राहदानी दुरुपयोगको विषय चर्चामा छ ।
लामिछानेले पुरानो नागरिकताको आधारमा राहदानी लिनुभएको थियो । अहिले काठमाडौं जिल्लामा नागरिकता र राहदानीका कति मुद्दा छन् त ?
राहदानी ऐन अन्तर्गत कसुरमा भएका केही फैसला हेरौं –
नामः लोप्साङ शेर्पा
अभियोगः किर्ते नागरिकताको आधारमा राहदानी लिएको
फैसलाः १ वर्ष ३ महिना कैद र २ लाख जरिवाना
नामः महेन्द्र भण्डारी
अभियोगः राजु पौडेलको राहदानीमा फोटो टाँसी विदेश भ्रमण
फैसलाः १ वर्ष कैद २ लाख जरिवाना
मुद्दा दर्ताः २०७८ वैशाख १३, फैसला २०७९ असार ५
नामः बंगलादेशी नागरिक सोहेल राना
अभियोगः झुठा विवरण दिई यात्रा अनुमति पत्र लिएको
फैसलाः दुई लाख जरिवाना
नामः रञ्जिता कंजुर उराँव, माया तामाङ
अभियोगः माया तामाङ नामको राहदानीमा भारतीय नागरिक उरावँले राहदानी बनाएको
फैसलाः १ वर्ष कैद सजाय
महान्यायाधिवक्ता कार्यालयमा रहेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरेर आएको ५ र आर्थिक वर्ष २०७८–७९ मा दर्ता भएको ३ गरि ८ थान राहदानी कसूरका मुद्दा छन् ।
जसमध्ये काठमाडौं जिल्ला अदालतले ५ थान मुद्दामा फैसला गरिसकेको छ । माथि उल्लेखित मुद्दाहरु काठमाडौं जिल्ला अदालतले फैसला गरेका मुद्दा हुन् । राहदानी कसुुरसम्बन्धी अब ३ थान मुद्दा सुनुवाईको पर्खाइमा छन् ।
२०७४ सालदेखि २०७९ चैत १७ गतेसम्मको यो तथ्यांक हेरौं :
चालु मुद्दा संख्याः २०
नागरिकतासम्बन्धी मुद्दाः १८
राहदानी कसुरसम्बन्धी मुद्दाः २
फैसला भइसकेको मुद्दाः ८ थान
राहदानीसम्बन्धी मुद्दाः ५ थान
नगरिकतासम्बन्धीः ३ थान
यो तथ्यांकमा रहेको मुद्दामा झुठा विवरण लिई नागरिकता लिएको, नागरिकता किर्ते गरेको, नागरिकता र राहदानीसम्बन्धी कसुर गरेको मुद्दा छन् । राहदानीसँग सम्बन्धित कसुरमा अभियोगको प्रकृतिअनुसार अदालतले सजाय गरेको छ ।
राहदानीसम्बन्धि कसूरमा पछिल्लो ५ वर्षमा ४ नेपाली र एक बंगलादेशी नागरिक दोषी ठहर भएका छन् । राहदानी ऐन, २०७६ को दफा २१ (क) मा झुटा विवरण दिई राहदानी लिएमा कसुर गरेको मानिने व्यवस्था छ । त्यसको पुष्टि भएमा ऐनमा २ देखि ५ लाख जरिवाना, १ देखि ३ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । राहदानी कसूरका फैसला भएका मुद्दा हेर्दा सबै मुद्दा एक वर्षभित्रै फैसला भएका छन् ।
प्रतिक्रिया