Main News

स्थानीय तहमा मौलाउँदै भ्रष्टाचार, सडकको गुणस्तर परीक्षणमा अवरोध (भिडियो रिपोर्टसहित)

२०७९ चैत २२ गते १६:२६
स्थानीय तहमा मौलाउँदै भ्रष्टाचार, सडकको गुणस्तर परीक्षणमा अवरोध (भिडियो रिपोर्टसहित)

२२ चैत २०७९ खोटाङ । महालेखाको प्रतिवेदनले नै स्थानीय तहमा भ्रष्टाचार मौलाएको तथ्यांक निकालेको छ । अनियमितता निर्माण उपभोक्ता समितिमार्फत अत्यधिक हुने गरेको पाइएको छ ।

समिति बनाएर मनपरी खर्च गर्ने र राजनीतिक नेता कार्यकर्ता पोस्ने थलो बनेको छ । जसको पछिल्लो उदाहरण हो– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका । जहाँ निर्माण उपभोक्ता समितिले आफैले ढलान गरेको सडकको गुणस्तर परीक्षण समेत गर्न दिएनन् ।

मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडकको ५ सय ५० मिटरमा पिसिसि ढलानको काम गुणस्तहीन भएको गुनासो आएपछि गुणस्तर परीक्षणका लागि पठाइने नमुना संकलनका लागि पुगेको टोलीलाई स्थानीय र कामदारले अवरोध गरेका हुन् । स्थिति तनावग्रस्त हुन नदिन जिल्ला प्रहरी कार्यालबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

सव–वेस नलगाई ढलान गरिएको, ढलानको ‘थिकनेस’ निर्धारित १५ सेन्टिमिटरभन्दा कम गरिएको लगायतका गुनासो आएपछि नगरपालिकाले गुणस्तर परीक्षणका लागि हाइटेक ल्याव प्रालिलाई बोलाएको थियो । आक्रोशित निर्माण उपोभक्ता समितिलले सडक ढलानको गुणस्तर यसअघि पटक–पटक परीक्षण गरिसकेको भन्दै अब आउने कुनै पनि निकायलाई परीक्षण गर्न नदिने अडान लिएको छ । यसअघि गरिएका परीक्षणको आधारमा नगरपालिकाले भुक्तानी दिए लिने अन्यथा भुक्तानीसमेत नलिने उनीहरूको तर्क छ ।

गुणस्तरहीन काम गर्ने उपभोक्ता समितिका पदाधिकारीले नै परीक्षणमा अवरोध गरेपछि सर्जमिन मुचुल्का बनाएर फर्किएको छ । सडक ढलान गुणस्तरहीन भएको भन्दै गत माघ २ गते स्थानीयले जिल्ला प्रशासन कार्यालय खोटाङमा उजुरीसमेत दिएका थिए ।

प्रशासनमा उजुरी परेपछि बनेको छानबिन समितिले ढलान गरिएका सडकको क्वान्टिटी पूरा भए पनि क्वालिटी नभएको भन्दै भुक्तानी दिन नमिल्ने बताएको थियो । सडक ढलानको काम गुणस्तरहीन भएको विषयमा अख्तियारमा समेत उजुरी परेको थियो । अहिले सडकको पिसिसि ढलानको काम गुणस्तहीन भएको भन्दै नगरपालिकाले भुक्तानी रोकेको छ । अनुगमनका क्रममा हिलोमाथि ढलान गरिएको देखिएकाले गुणस्तर परीक्षण नगरेसम्म भुक्तानीको बाटो नखुल्ने जनप्रतिनिधिको अडान छ ।

सङ्घीय सरकारको ६८ लाख र वडाको १० लाख गरी ७८ लाख तथा उपभोक्ता समितिको १० प्रतिशत लागतमा मध्यपहाडी लोकमार्गदेखि वडा कार्यालयसम्मको ९ सय १७ मिटरमध्ये ५ सय ५० मिटर सडक ढलान गरिएको थियो । तर, अहिले सडकका विभिन्न भाग भत्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *