Main News

सिक्किममा गएको हिमपहिरोमा ३ नेपालीसहित ७ जनाको मृत्यु

हिमालय टिभी
२०७९ चैत २२ गते ९:३०
सिक्किममा गएको हिमपहिरोमा ३ नेपालीसहित ७ जनाको मृत्यु

२२ चैत २०७९ काठमाडौं । सिक्किममा मंगलवार गएको हिमपहिरोमा परेर ३ जना नेपाली नागरिकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

हिमपहिरोमा परेर ज्यान गुमाएका ७ जनामध्ये ३ जना नेपाली नागरिक रहेको खुलेको हो । त्यस्तै घाइते भएका १३ जना मध्ये ३ जना नेपाली नागरिक रहेको जनाइएको छ । हिमपहिरोमा परि नेपालका ३ जना, भारतको उत्तर प्रदेशका २ जना र पश्चिम बंगालका २ जनाको ज्यान गएको हो ।

गान्तोक जिल्ला कलेक्टरले जारी गरेको सूचिअनुसार ज्यान गुमाउनेमा चितवन नेपालका शिवप्रसाद लामिछाने, २२ वर्षकी आशिका ढकाल र रुपन्देही नेपालकी २९ वर्षीया मुना शाह श्रेष्ठ रहनुभएको छ । त्यसैगरी उत्तर प्रदेशका ३२ वर्षका बल सिंह र ६ वर्षकी रेव्या सिंह, पश्चिम बंगालका २८ वर्षका सौरभ रोय चौधरी र ३८ वर्षका प्रितम मतिए रहनुभएको छ ।

त्यसैगरी हिमपहिरोमा परेर घाइते भएका १३ जनामध्ये ७ जनालाई गान्तोकको एसटीएनएम अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने ६ जनाको उपचार चलिरहेको छ । घाइतेहरुमध्ये नेपालकी ४० वर्षीया गीता सापकोटा, ३८ वर्षकी ज्योति गुरुङ र ४३ वर्षका रमेश खनालसहित सिलिगुडीका पपल सरकार र रञ्जिता दास र कोलकाताका सुभ्र ज्योतीहरुको अस्पतालमा उपचार चलिरहेको छ ।

दिल्लीका पर्व गोयल र नेहाल गोयल, लखनउका निरज शर्मा, कोलकाताकी पुतुल सिंह र कोलकाताकै राकेश सिंह, सुमित दास, तथागत रोय चौधरी सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । गान्तोकका जिल्ला कलेक्टर तुषार जी निखारेले घटनामा ३ जना नेपाली नागरिकसहित ७ जनाको ज्यान गएको बताउनु भयो ।

हिमपहिरोमा ज्यान गुमाएकाको शवलाई उनीहरुको घरसम्म राज्य सरकारले पु-याउने निर्णय गरेको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले मंगलवार साँझ एसटीएनएम अस्पतालमा घाइतेहरुसँग भेट गरी उनिहरुको सबै उपचार खर्च राज्य सरकारले वहन गर्ने र मृतकहरुको शव पनि राज्य सरकारले उनिहरुको घरसम्म पु-याउने बताउनु भयो ।

सिक्किमको नाथुला पासनजिकै छाङ्गुमा मंगलवार हिमपहिरो गएको घटनास्थलमा आज पनि उद्धार कार्य शुरु गरिएको छ । हिजो गान्तोकबाट नाथुला पास जाने जवाहरलाल नेहरु राजमार्गको छाङ्गुमा मध्याह्न सवा १२ बजे हिमपहिरो गए लगत्तै शुरु गरिएको उद्धार कार्य खराब मौसमका कारण साँझ ६ बजेसम्म मात्रै गरिएको थियो भने आज बिहान ८ बजेदेखि पुनः उद्धार कार्य शुरु गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *