राजनीति

कुन निर्वाचन क्षेत्रमा को बलियो ? यस्तो छ मतको तथ्यांक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत २१ गते २१:०६
कुन निर्वाचन क्षेत्रमा को बलियो ? यस्तो छ मतको तथ्यांक (भिडियो रिपोर्टसहित)

२१ चैत २०७९ काठमाडौं । आम निर्वाचनकै झल्को दिनेगरि हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनमा ‘हेभिवेट’ उम्मेदवारका कारण थप रोचक बनेकोछ । चार महिनाअघि मंसिर ४ मा भएको निर्वाचनमा तत्कालीन उम्मेदवार र राजनीतिक दलले पाएको समानुपातिक मतका आधारमा कुन क्षेत्रमा कुन दल बलिया छन् त । मत विश्लेषणका आधारमा तयार पारिएको यो सामग्री हेरौं ।

रामचन्द्र पौडेल राष्ट्रपति चयन भएपछि रिक्त तनहुँ(१ र रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त बारा(२ सँगै दोहोरो नागरिकता प्रयोगमा दोषी ठहरिएका सांसद रवि लामिछानेको पद खारेज भएपछि चितवन(२ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो । तीनै क्षेत्रमा सत्ता गठबन्धनबाट साझा, एमाले, राप्रपा र रास्वपाको आ(आफ्नै उम्मेदवारी परेको छ । माओवादी भने यसपटक गठबन्धनकै उम्मेदवारलाई साथ दिनेभएको छ । तीन क्षेत्रमा गत मंसिर ४ मा भएको प्रत्यक्ष र समानुपातिक मतका आधारमा कसको कति मत छ त ?

तनहुँ-१
कांग्रेसबाट गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट स्वर्णिम वाग्लेसहित ९ जना उम्मेदवार रहेको यो क्षेत्रमा यी तीन उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धाको अनुमान गरिएको छ । मंसिर ४ को प्रत्यक्ष र समानुपातिक मतका आधारमा यी तीन उम्मेदवार को बलिया छन् त रु

गोविन्द भट्टराई, नेपाली कांग्रेस (सत्ता गठबन्धन)
मंसिर ४ को निर्वाचनमा गठबन्धनको समानुपातिक मत: २८ हजार ४३१
तत्कालिन पाँच गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलले २५ हजार ३१३ मत पाउनुभएको थियो ।

समानुपातिकतर्फ कांग्रेसले २० हजार १५८ मत पाएको थियो । सत्ता गठबन्धनका माओवादी केन्द्रको ७ हजार ३२३ र एकीकृत समाजवादीको ९५० मत थियो । यहाँ सत्ता गठबन्धनको समानुपातिकतर्फ कुल २८ हजार ४३१ मत छ । गत चुनावमा पौडेलले गठबन्धनका दलबाट ३ हजार ११८ मत पाउनुभएको थियो । पहिलोपटक अवसर पाउनुभएका भट्टराईलाई सहानुभुतिको मत आउन सक्छ ।

सर्वेन्द्र खनाल, नेकपा एमाले
मंसिर ४ को निर्वाचनमा एमालेको समानुपातिक मत: १६ हजार ६८३
मंसिर ४ मा एमालेका उम्मेदवार एकबहादुर रानाले १९ हजार ९२५ मत पाउनुभएको थियो भने समानुपातिक तर्फ एमालेले १६ हजार ६८३ मत पाएको छ । जसअनुसार एमाले उम्मेदवार रानाले ३ हजार २१४ बढी मत पाउनुभएको देखिन्छ । मातृभूमिको सेवाका लागि चुनाव लडेको बताउनुभएका खनालले केही मत प्रभावमा पार्ने सम्भावना छ ।

स्वर्णिम वाग्ले, रास्वपा
मंसिर ४ को निर्वाचनमा रास्वपाको समानुपातिक मत: १२ हजार ७७३
मंसिर ४ मा रास्वपाका विकास सिग्देलले ६ हजार ३२ मत ल्याउँदा समानुपातिकतर्फ भने १२ हजार ७७३ मत आएको थियो । उम्मेदवारले भन्दा पार्टीले ६ हजार ७४१ मत बढी पाएको थियो । वाग्लेको व्यक्तित्व र प्रभावका कारण उहाँको मत बढ्ने देखिन्छ ।

चितवन–२
कुल २४ जनाले विभिन्न दल र स्वतन्त्र उम्मेदवारी दिएपनि यहाँ त्रिपक्षीय भिडन्त हुने देखिन्छ । दोहोरो नागरिकतामा दोषी ठहर भएका रास्वपा सभापति रवि लामिछानेको पद खारेज भएपछि उप निर्वाचन हुन लागेको चितवन(२ मा गत चुनावको परिणामका आधारमा कसको कति मत छ त रु

जितनारायण श्रेष्ठ, नेपाली कांग्रेस (सत्ता गठबन्धन)
मंसिर ४ को निर्वाचनमा सत्ता गठबन्धनको समानुपातिक मत( २१ हजार १५५
मंसिर ४ को निर्वाचनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १५ हजार ९९ मत पाउँदा समानुपातिक तर्फ नेपाली कांग्रेसले १२ हजार १३२ मत पाएको थियो ।

श्रेष्ठलाई तत्कालीन पाँच दलीय गठबन्धनबाट थप २ हजार ९७६ मत आएको थियो । जहाँ माओवादीले ८ हजार ४०७ र एकीकृत समाजवादीको ६१६ मत समानुपातिकतर्फ पाएका थिए । गठबन्धनका दलको समेत समानुपातिक मत जोड्दा कांग्रेस उम्मेदवार श्रेष्ठको २१ हजार १५५ मत छ । गठबन्धन र व्यक्तिगत प्रभावका आधारमा श्रेष्ठको मत बढ्न सक्छ ।

रामप्रसाद न्यौपाने, नेकपा एमाले
मंसिर ४ को निर्वाचनमा एमालेको समानुपातिक मत( १६ हजार ७८४
मंसिर ४ को निर्वाचनमा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाउनुभएको थियो । एमालेले समानुपातिक तर्फ १६ हजार ७८४ मत पाएको थियो । जस अनुसार प्रत्यक्षमा पोखरेलले २ हजार १३६ मत कम पाउनुभएको थियो । एकल प्रतिस्पर्धामा रहेको एमालेका न्यौपानेको व्यक्तिगत प्रभावले मत परिवर्तन हुन सक्ने देखिन्छ ।

रवि लामिछाने, रास्वपा
मंसिर ४ को निर्वाचनमा रास्वपाको समानुपातिक मतः ३५,९४५
मंसिर ४ मा विजयी भएर पनि दोहोरो नागरिकतामा दोषी ठहर भएपछि पद खारेज भएका लामिछाने मैदानमा हुनुहुन्छ ।

गत निर्वाचनमा ४९ हजार २६१ मत ल्याएर विजयी भएका लामिछानेको दलले भने ३५ हजार ९४५ मत पाएको थियो । जसअनुसार लामिछानेलाई १३ हजार ३१६ मत बढी आएको थियो । पछिल्ला विवाद र लामिछानेको राजनीतिक आरोह अवरोहका कारण यो मत परिवर्तन हुनसक्ने देखिन्छ ।

बारा–२
गत निर्वाचनमा एमालेसँगको गठबन्धनमा चुनाव लडेको जसपा यो पटक सत्ता गठबन्धनबाट चुनावी मैदानमा छ । कुल ३६ उम्मेदवार रहेको यो क्षेत्रमा चौपक्षीय भिडन्तको अनुमान गरिएको । यहाँ कसको कति मत छ त रु

उपेन्द्र यादव, जसपा (सत्ता गठबन्धन)
मंसिर ४ को निर्वाचनमा सत्ता गठबन्धनको समानुपातिक मत( ३३ हजार ९१७
मंसिर ४ को निर्वाचनमा जसपाका रामसहायप्रसाद यादवले एमालेसँगको गठबन्धनमा १३ हजार ८२२ मत ल्याएर विजयी हुनुभएको थियो । त्यहाँ समानुपातिक तर्फ भने जसपाले १३ हजार २४१ मत पायो ।

जसपाबाटै विद्रोह गरी बागी उम्मेदवार बनेका रामकिशोर यादवले ११ हजार ४३ मत पाउनुभएको थियो । यहाँ समानुपातिकतर्फ हाल सत्ता गठबन्धनका नेपाली कांग्रेसले ११ हजार १७९ र माओवादी केन्द्रले ३ हजार २६५ मत पाएको थियो । लोसपाको ४ हजार २३५ र एकीकृत समाजवादीको १ हजार ९९६ मत छ । जसअनुसार यादवको मत ३३ हजार ९१७ हुन आउँछ ।

शिवचन्द्र कुशवहा, जनमत
मंसिर ४ को निर्वाचनमा जनमतको समानुपातिक मत: ८ हजार ४४६
गत चुनावमा ३५४ मतको झिनो अन्तरमा पराजित कुशवाह यो पटक दल परिवर्तन गरि उम्मेदवार बन्नुभएको हो । अघिल्लो पटक तत्कालीन पाँच दलीय गठबन्धनका उम्मेदवार कुशवाहलाई यो पटक जनमतको समर्थन छ । १३ हजार ४६८ मत पाउनुभएका कुशवाहलाई ८ हजार ४४६ मत भएको जनमतको समर्थन छ । माओवादीको केही मत पाउने अनुमान गरिएका कुशवाहको जितका लागि जनमतको पछिल्लो माहोलमै निर्भर रहने देखिन्छ ।

पुरुषोत्तम पौडेल, नेकपा एमाले
मंसिर ४ को निर्वाचनमा एमालेको समानुपातिक मत: ९ हजार १९३
गत निर्वाचनमा जसपालाई साथ दिएको एमालेले उपचुनावमा पौडेललाई मैदानमा पठाएको छ । पूर्व सांसद र मन्त्री भइसकेका पौडेलको व्यक्तिगत प्रभावका आधारमा मत बढ्ने अनुमान गरिएपनि गत चुनावमा एमालेको समानुपातिकतर्फ ९ हजार १९३ मत नै मुख्य बधार हो ।

रमेश खरेल, रास्वपा
मंसिर ४ को निर्वाचनमा रास्वपाको समानुपातिक मत: १ हजार ४५५
गत चुनावमा रास्वपाको उम्मेदवार नै नभए पनि समानुपातिक तर्फ एक हजार ४५५ मत आएको थियो । पूर्वडीआइजी खनालले आफ्नो करिअरको महत्वपूर्ण समय विताएको बारा(पर्सामा प्रभाव पनि राम्रै रहेको बताइन्छ । रास्वपाको माहोल बढीरहेका कारण खरेललाई पनि प्रमुख प्रतिस्पर्धी मानिएको छ ।

यी तीनै क्षेत्रमा राप्रपा र अन्य दलहरुले पनि चुनावी मैदानमा छन् । तर व्यक्तिगत प्रभाव र पार्टी संगठनका आधारमा मुख्य प्रतिस्पर्धी हुने अवस्था भने देखिदैन । उम्मेदवारको कुल मतमा समानुपातिकतर्फ गठबन्धन वा एकलरुपमा मंसिर ४ मा प्राप्त समानुपातिक मत जोडिएको हो । उम्मेदवारको प्रभाव र जनविश्वासका आधारमा मत परिणाम आउने हुँदा यो अंक तथ्यांक मात्रै हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्