Main News

रवि लामिछानेविरुद्ध दायर मुद्दामा आज सुनुवाइ हुन सकेन

हिमालय टिभी
२०७९ चैत २१ गते १७:१८
रवि लामिछानेविरुद्ध दायर मुद्दामा आज सुनुवाइ हुन सकेन

२१ चैत २०७९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिटमाथि सुनुवाइ रोकिएको छ ।

राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुन नसकेको हो ।

युवराज पौडेल सफलले दिएको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको थियो। तर न्यायाधीश सिन्हाले रविको नागरिकतासम्बन्धी मुद्दा हेरेको इजलासमा आफू पनि भएकाले आफूले हेर्न नमिल्ने बताएको लामिछानेका तर्फबाट बहस गर्न गएका वरिष्ठ अधिवक्ता सुनील पोखरेल जानकारी दिनुभयो ।

अब सर्वोच्चले रिटमा अर्को इजलास तोक्नेछ। लामिछानेले झुटा विवरण दिएर राहदानी बनाएको अभियोगमा मुद्दा चलाउन नपर्ने भनी महान्यायाधिवक्ताले गरेको निर्णय दुराग्रहपूर्ण रहेको भन्दै पौडेल सर्वोच्च अदालत जानुभएको थियो । लामिछानेमाथि राहदानी विवादमा मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर हुनुपर्ने पौडेलको माग छ।

यसैबीच, चितवन २ को उपनिर्वाचनमा लामिछानेको उम्मेदवारी बदरको माग गर्दै पौडेलले नै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।

नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि व्यतित नभइ निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको उजुरीमा उल्लेख छ । तर लामिछानेले माघ १५ गतेमात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुनर्प्राप्ति गरेको र सो अघि उनले निस्सा बुझाएको नदेखिएकाले उम्मेदवार बन्न अयोग्य रहेको जिकिर गरिएको छ ।

यसअघि मंसिर ४ मा चितवन १ बाट निर्वाचित लामिछानेले विदेशी नागरिकता लिएपछि पनि पुरानै नेपाली नागरिकता प्रयोग गरेको भन्दै सर्वोच्चले नागरिकता पुर्नप्राप्तीको प्रक्रिया थाल्न आदेश दिएको थियो । त्योसँगै उहाँको सांसद पद खारेज भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *