Main News

चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन, ककसले दर्ता गराए मनोनयन ?

हिमालय टिभी
२०७९ चैत २० गते १७:०२
चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन, ककसले दर्ता गराए मनोनयन ?

२० चैत २०७९ काठमाडौं । वैशाख १० गते चितवन, बारा र तनहुँका तीन वटा क्षेत्रमा हुने उप निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

चितवन २, बारा २ र तनहुँ १ को रिक्त पदमा उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मनोनयन दर्ता गराउनुभएको छ।

कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्ता भएको छ । यस्तै नेपाल मजदुर किसान पार्टीले ज्ञानेन्द्र प्रजा चेपाङ र राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले उम्मेद्वारी दर्ता गराएको छ ।

बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि जसपा, नेकपा एमाले, जनमतसहितका दल तथा व्यक्ति गरी १७ जना नेताहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

जसपाको तर्फबाट उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ भने नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाहले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै रास्वपाबाट रमेश खरेल र नेमकिपाबाट मुक्ति यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै तनहुँ १ मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका गोविन्द भट्टराई, रास्वपाबाट स्वर्णिम वाग्ले र एमालेबाट पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन् ।

रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त तनहुँ १, रामसहाय प्रसाद यादव उपराष्ट्रपति चुनिएपछि खाली भएको बारा २ र नागरिकता प्रकरणमा रवि लामिछानेले पद गुमाएपछि प्रतिनिधिसभा सदस्यविहीन भएको चितवन २ मा उप निर्वाचन हुन लागेको हो। निर्वाचन आयोगका अनुसार दुई दिन दावी विरोधका लागि समय छुट्याइएको छ भने अन्तिम नामावली प्रकाशन २३ गते गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *