Main News

माइतीघर मण्डलामा ‘ठूलो’ माग बोकेको ‘सानो’ धर्ना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत १९ गते २१:००
माइतीघर मण्डलामा ‘ठूलो’ माग बोकेको ‘सानो’ धर्ना (भिडियो रिपोर्टसहित)

१९ चैत २०७९ काठमाडौं । काठमाडौंको माईतीघर मण्डलामा उस्तै दृश्य देखिन थालेको एक महिनाभन्दा बढी भयो । ४–५ जनाको समूह बिहान १० बजे आइपुग्छन्, माईतीघर मण्डलाको छेउतिरको सडकमा धर्नामा बस्छन् र साँझ ६ बजे फर्कन्छन् ।

सयौँ मुद्दाका आन्दोलनकारी भेला हुने र आफ्नो आवाज सरकारलाई सुनाएर फर्किने यो थलोमा एक महिनादेखिको यो निम्छरो आवाज कसैले सुनिदिएको छैन ।

उहाँ जुम्लाका नन्दराज उपाध्याय । जुम्लाको तिला गाउँपालिका(४ का उपाध्यायले यसरी नै माईतीघर मण्डला धर्ना दिएर बसेको ३८ दिन भईसक्यो । तर उहाँको कुरा सुनीदिने कोही छैन ।उहाँको माग भने निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित छ ।

प्राइमरी इलेक्सन, राइट टु रिजेक्ट, राइट टु रिकल र विदेशमा भएका नेपाली नागरिकलाई मतदानको अधिकार दिनुपर्ने माग लिएर उहाँ प्रदर्शनमा हुनुहुन्छ ।

उपाध्यायले अगुवाई गरेको धर्नामा काठमाडौंमा भोकालाई भोजन अभियान चलाइरहेको जयमहाकाल युवा समूहका युवाहरू पनि सामेल छन् ।

लोकतन्त्रलाई न्याय चाहियो भन्दै माइतीघरमा धर्नामा बसेका उपाध्यायलाई साथ दिन विगतमा निर्वाचन प्रणाली सुधारकै वकालत र प्रचार गरिरहेकाहरुसमेत भेट्न आएका छैनन् ।

सर्वोच्च अदालतले २०७० पुस २१ गते नो भोट र २०७४ चैत ७ गते विदेशमा भएका नेपाली नागरिकलाई पनि मतदानको अधिकार प्रत्याभूत गर्न गर्न सरकारको नाममा निर्देशनात्मक आदेश दिएको थियो । तर, सरकारले अहिलेसम्म उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको छैन ।

विदेशमा रहेका नेपालीले पठाएको नोट चल्ने तर, भोट नचल्ने अवस्थाको अन्त्यका लागि भन्दै थालेको उपाध्यायको शान्तिपूर्ण आन्दोलन सरकारले अहिलेसम्म थाहा पाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *