थिचोमिचोमा पर्दै राणाकालीन सालिक (भिडियो रिपोर्टसहित)
१९ चैत २०७९ काठमाडौं । आजभन्दा ७२ वर्षअघिसम्म मुलुकमा राणा शासन थियो । वंशीय राजसंस्थालाईसमेत आलंकारिक बनाएर राज्यको सम्पूर्ण अधिकार हातमा लिएका राणाहरुले एक तन्त्रीय पारिवारिक शासन चलाएका थिए ।
२००७ सालको जनआन्दोलनसँगै राणा शासनबाट देशमुक्त भयो । अब राणा को थिए भन्ने कुरा थाहा पाउन कि पुस्तकै नै पढ्नुपर्छ कि कथा नै सुन्नुपर्छ । तर राणा शासकहरुको सोख र दबदबा कस्तो थियो भन्ने महसुस नै गर्ने हो भने काठमाडौंको टुँडिखेलको चारै दिशामा रहेका राणाका अजंगका शालिकहरु महत्त्वपूर्ण हुन सक्छन् ।
राणाकालका केही संरचनासहित संरक्षणको पर्खाइमा रहेका यीनै शालिकहरु त्यसबखतको नेपाल देखाउने गतिला प्रमाणसमेत हुन् ।
प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणादेखि रणोद्विप राणा, वीरशमशेर, चन्द्रशमशेर, जुद्धशमशेर हुँदै कमाण्डर इन चिफ धीरसम्सेरसम्मका सालिक यहाँ उभिएका छन् ।
टुँडिखेलको पश्चिमी कुनामा घोडामाथि सवार पछिल्तिर फर्किरहेका जंगबहादुर । बेलायत सरकारले उपहारमा पठाइदिएको यो शालिक जंगबहादुरको वास्तविक अनुहार उतारिएको कालजयी चित्र हो ।
टुँडिखेलको दक्षिण–पश्चिम कूनामा धारिलो अश्वकलासहितको यो शालिक राणा प्रधानमन्त्री रणोद्धिप सिंहको हो । उनी प्रधानमन्त्री नै छँदा यो शालिक स्थापना गरिएको हो ।
टुँडिखेलको महाँकाल भैरव मन्दिरको उत्तरपट्टिको सालिक धीरशमशेरको हो । वीरशमशेरले पिता धीर शमशेरको स्मरणमा यो सालिक स्थापना गराएका हुन् ।
टुँडिखेलमा उत्तरपूर्वी कुनामा रहेको यो सालिक राणा प्रधानमन्त्री वीर शमशेरको हो । २०१७ साल अघिसम्म वीर अस्पताल अगाडिको दोबाटोमा रहेको यो सालिक वि।सं।१९६४ मा निर्माण गरिएको हो ।
टुँडीखेलको दक्षिण(पूर्वी कुना अर्थात् भद्रकाली मन्दिरको पश्चिमी भागमा रहेको यो सालिक राणा प्रधानमन्त्री चन्द्र शमशेरको हो ।
टुँडिखेल नजिक भद्रकाली मन्दिरको बायाँपट्टी रहेको सालिक राणा प्रधानमन्त्री जुद्ध शमशेरको हो । वि।सं। २००५ साल जेष्ठ ३१ गते मोहन शमशेरबाट उद्घाटन गराई पुत्र जनरल नारायण शमशेर जवराले राखेका हुन् ।
भद्रकाली मन्दिरको पूर्वपट्टी रहेको पृथ्वी वीर विक्रम शाहको सालिक तत्कालीन राजा त्रिभुवनले १९८६ फागुन २ गते अनावरण गराएका हुन् ।
यी सालिकहरु १९३८ पछि विभिन्न समयमा विभिन्न राणा प्रधानमन्त्रीहरुले बनाउन लगाएका हुन् । आफ्नो रवाफ र वीरता प्रदर्शनका शौखिन राणाहरुले यी घोडचढी शालिक विदेशमा बनाउन लगाएर काठमाडौंका विभिन्न ठाउँमा राखेका थिए ।
जस्लाई २०१७ पछि उपत्यकाका विभिन्न ठाउँबाट संकलन गरेर टुडिँखेलको वरिपरी राखियो ।
त्यस्तै दरबारमार्गमा रहेको राजा महेन्द्रको यो सालिक वर्षौँदेखि भाँचिएको राजदण्ड समाएर उभिइरहेको छ । २०४६ सालको जनआन्दोलनका क्रममा राजा सालिकबाट राजदण्ड निकालिएको थियो । जुन आजसम्म पनि त्यस्तै अवस्थामा छ ।
सिंहदरबारको मूल ढोका सामुन्ने उभिएको पृथ्वीनारायण शाहको सालिकले भने बेलाबेला फूलमाला पाइरहन्छ । सिंहदरबारकै गेटमा भएकाले धेरैको नजरमा परिरहने यो शालिक सानो बेस र व्यस्त सडकका कारण असुरक्षित छ ।
यता सहिद गेटमा राजा त्रिभुवन र चार सहिद दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठका शालिक सडकमै रहेर पनि ओझेलमा छन् ।
प्रजातन्त्र स्थापनापछि बनेको सहिद गेटमा राखिएका शालिक भने नेपाली कालिगढले नै बनाएका हुन् । व्यस्त सडकको बीचमा रहेका यी शालिक धेरैले अवलोकन नै गर्न सक्ने अवस्था छैन । नेपालमा व्यवस्था परिवर्तनपछि कतिपय इतिहास मेट्ने प्रयाससमेत हुँदा यस्ता ऐहासिक कलासमेत मेटिने गरेका छन् ।
प्रतिक्रिया