राजनीति

कांग्रेस इतर : खानेबेला अभागीलाई रिस (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत १८ गते २१:०५
कांग्रेस इतर : खानेबेला अभागीलाई रिस (भिडियो रिपोर्टसहित)

१८ चैत २०७९ काठमाडौं । कम्युनिष्ट पार्टीभित्रको विवाद र विभाजनले कांग्रेसलाई पटक–पटक सत्तामा पुर्याउने गरेको छ । तर, सत्तामा जान पाएको छैन, कांग्रेसभित्र कुर्सीका लागि हानाथाप हुन्छ ।

सत्तायात्रासँगै कांग्रेसको किचलो बढ्दै जान्छ । यसपटकपनि त्यस्तै भयो । सत्तारुढ गठबन्धनमा भागवण्डा मिल्यो तर कांग्रेसभित्र विवाद चुलियो । त्यसैले ८ मन्त्रालय पाएको कांग्रेसबाट संस्थापनका ४ मात्र मन्त्री बने ।

मुख्य सत्ताघटक नेपाली कांग्रेसभित्रको किचलोको असर मन्त्रिपरिषद् विस्तारमा देखिएको छ । लामो छलफलपछि सत्तागठबन्धनमा कांग्रेसलाई उपप्रधानसहित ८ मन्त्री दिने सहमति बनेको थियो । शुक्रबार कांग्रेसबाट उपप्रधानसहित रक्षा मन्त्रालयमा पूर्णबहादुर खड्का, अर्थमा प्रकाशशरण महत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रमेश रिजाल र शहरी विकास मन्त्रालयमा सीता गुरुङले मात्र सपथ लिनुभयो ।

उहाँहरु चारै जना सभापति शेरबहादुर देउवा निकटका हुनुहुन्छ । उसो त यी ४ बाहेक संस्थापनका मोहनबहादुर बस्नेत, एनपी साउद र संस्थापनइतर समुहका धनराज गुरुङ र डिगबहादुर लिम्बु पनि शुक्रबार नै मन्त्री हुने चर्चा थियो । तर, कांग्रेसको संस्थापनइतरसमूहले ८ मध्ये ३ मन्त्रालय आफूले पाउनुपर्ने अडान राख्दै मन्त्री पठाउन अस्वीकार गरिदियो । जसकारण ७औं पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन ।

पर्टीभित्र बलियो बन्दै गएका देउवाले मन्त्री चयन गर्दा पनि आफु निकटलाई बढि अवसर दिएको आरोप छ । कांग्रेसभित्र अर्को गुटको अभ्यास गर्दै आएका शेखर कोइराला र महामन्त्री गगन थापाले पनि मन्त्रालयको भाग खोजे । यो समूहले कम्तिमा ३ मन्त्रालय पाउनुपर्ने अडान राखेर सरकारमा सहभागि नहुने बताएको छ । यता, देउवा समूहभित्रैका प्रकाशमान सिंह, शशांक कोइरालाहरु पनि आफूलाई वेवास्ता गरेकोभन्दै रुष्ट छन् ।

कांग्रेसमा यस्तो किचलो पहिलो पटक होइन, हरेक पटक हुने गरेको छ । दोस्रो जनआन्दोलनअघि गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई दुई समूहबीच विवाद भइरहन्थ्यो । भट्टराई पक्षलाई संस्थापन हाँकीरहेका कोइराला पक्षले पेल्ने गरेका थिए । पेलाइमा परेका भट्टराईले उत्तराद्धमा पार्टी नै छाड्नुभयो ।

२०६२–६३ पछि पनि कांग्रेस कम्युनिष्टकै किचलोका कारण सत्तामा पुगिरह्यो तर कुर्सी पाउन कांग्रेसभित्रको किचलो सँधै कायम रह्यो । जब सत्ता बाहिर रहन्छ कांग्रेस नेताहरुबीच आत्मियता देखिन्छ जब सत्तामा जान अपुताली आइपर्छ त्यहाँ भाग खोज्न झगडा नै हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्