राजनीति

के स्वर्णिम वाग्ले कांग्रेसभित्रको कोपभाजनमै पर्नुभएको हो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत १७ गते २०:५८
के स्वर्णिम वाग्ले कांग्रेसभित्रको कोपभाजनमै पर्नुभएको हो ? (भिडियो रिपोर्टसहित)

१७ चैत २०७९ काठमाडौं । आफूलाई तीनपुस्ते कांग्रेस बताउने स्वर्णिम वाग्ले पार्टी परित्याग गर्दै स्वतन्त्र पार्टी प्रवेश गर्नुभएको छ ।

तनहुँ क्षेत्र नम्बर १ मा चुनाव लड्ने गरि स्वतन्त्र पार्टी प्रवेश गरेका वाग्लेले पार्टी छाड्दै गर्दा आफू कोपभाजनमा परेको उल्लेख गर्नुभएको छ । के कांग्रेसभित्र वाग्ले साँच्चै कोपभाजनमै पर्नुभएको हो त ?

बिहीबार वाग्लेले कांग्रेसका केही नेतालाई म्यासेज पठाउँदै कांग्रेस परित्यागको जानकारी गराएपछि अहिले कांग्रेसभित्र र बाहिर यही विषय चर्चामा छ । उसोत उहाँको मुख्य असन्तुष्टि कांग्रेसमा अवसर पाइन भन्ने नै देखिन्छ । के वाग्लेले दाबी गरेजस्तो दाइ भाउजु अर्थात शेरबहादुर देउवा र आरजु राणाको पेलानमा पर्नुभएकै हो त ? कांग्रेसभित्र धेरैले अबसर नपाएको गुनासो गर्छन्, भीमबहादुर तामाङ, पीएल सिंह, दुर्गा सुवेदी जस्ता धेरै नेताहरुले लाभ पद पाउन सकेनन् । पीएल सिंह एकपटक मेयरसम्म बन्नुभयो तामाङ लगायत धेरै नेताहरु राजकीय पदमा पुग्न सकेन न त कुनै सरकारी नियुक्ति नै खान पाए । उनीहरुको प्रजातान्त्रिक आन्दोलनदेखि पार्टीमा ठूलो योगदान थियो । यी केही तथ्यहरु हेर्दा स्वर्णिमले लाभको पद हात पार्नुभयो । विश्व बैंकका जागिरे वाग्लेले नेपाल फर्केलगत्तै अवसर पाउनुभयो ।

स्वर्णिम वाग्ले, नेता, रास्वपा
–२०७१ सालदेखि २०७५ सम्म राष्ट्रिय योजना आयोगको सदस्य
–२०७४ मा योजना आयोगको उपाध्यक्ष
–कांग्रेस नेताहरुकै सल्लाहमा संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमको एसिया तथा प्रशान्त क्षेत्रीय ब्युरोको मुख्य आर्थिक सल्लाहकार
–२०७९ मा कांग्रेस घोषणापत्र लेखन उपसमिति संयोजक

सुशील कोइराला प्रधानमन्त्री हुँदा योजना आयोग सदस्य बनेका वाग्लेलाई शेरबहादुर देउवाले आफू प्रधानमन्त्री हुँदा उपाध्यक्ष नियुक्त गर्नुभयो । उसो त उपाध्यक्ष बनाउन देउवा पत्नी आरजु राणाको भूमिकाको चर्चा हुनेगर्छ । वाग्लेलाई योगदानविनै उपाध्यक्ष बनाएको भन्दै कांग्रेस नेतारकार्यकर्ताले आरजुको आलोचना गरेका थिए ।

कांग्रेसकै नाममा पटक(पटक लाभको पद लिएका वाग्ले कहिल्यै पनि भूमिकाविहिन रहनुभएन । वाग्लेले चाहेर नपाएको भनेकै २०७९ मंसिर ४ को निर्वाचनमा चुनावको टिकट हो । तर, उहाँका लागि महामन्त्री गगन थापाले काठमाडौं ४ छोड्ने चर्चा पनि चलेको थियो । टिकट नपाएपनि वाग्लेले कांग्रेसमा आफ्नो तीनपुस्ते लगानी रहेको भन्दै कांग्रेस नछाड्ने सार्वजनिक रुपमै बताउनुभएको थियो । यो हेरौं ।

यस्तो घोषणा गरेका वाग्लेले एकाएक बिहीबार कांग्रेस परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँमा चुनाव लड्ने घोषणामात्र गर्नुभएन, कांग्रेस दाई,भाउजु,साला,भतिजको अक्षम गिरोहमा परिणत हुने क्रम रहेको गम्भीर आक्षेप नै लगाउनुभयो । के साँच्चै कांग्रेसभित्र वाग्लेले अवसर नपाएकै हुन् त ?

राजनीतिमा आदर्शको गफ आफ्ना भाषणमा नछुटाउने गोरखाका वाग्लेले स्वतन्त्र पार्टीबाट तनहुँमा चुनाव लड्नकै लागि कांग्रेस परित्याग किन गर्नुभएको होला ? कतिपयले राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक र परराष्ट्र सल्लहकार हुने चाहना पूरा नहुँदाको आक्रोस भएको बताउने गरेका छन् । जे होस् वाग्लेले नयाँ पार्टीबाट चुनाव लड्ने हिम्मत गरेका छन् । वाग्लेले भनेजस्तै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने उनको वाचा पूरा होला वा तत्कालै सांसद भएर संसद छिरिहाल्ने महत्वकांक्षा अधुरै रहला ? वैशाख १० मा हुने उपनिर्वाचनको परिणाम पर्खनैपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्