Main News

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार, कसले पाए कुन मन्त्रालयको जिम्मेवारी ?

हिमालय टिभी
२०७९ चैत १७ गते १४:२८
प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार, कसले पाए कुन मन्त्रालयको जिम्मेवारी ?

१७ चैत २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ ।

पुस १० गते प्रधानमन्त्री भएका प्रचण्डले आज नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । तर सरकारले अझै पूर्णता पाउन सकेन ।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री हुनु भएको छ । जनता समाजवादी पार्टी जसपाको सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री हुनु भयो ।

यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त हुनुभयो । माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेतलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनाइएको छ ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रालय फेरिएको छ । पुस ११ मा भौतिक पूर्वाधारमन्त्री भएका श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराती र संघीय मामिला तथा समान्य प्रशासनमा अमनलाल मोदीले निरन्तरता पाउनु भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का शरतसिंह भण्डारी श्रम तथा रोजगार र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री हुनुभयो । नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री हुने तय भएको छ ।

सातौं पटक पुनर्गठन गर्दा पनि प्रचण्ड सरकारले पूर्णता भने पाउन सकेन । अझै ५ मन्त्रालय प्रधानमन्त्रीसँग छ । ८ मन्त्रालय पाएको नेपाली कांग्रेसले ४ जनाको नाम दिएको छैन भने जसपाले पनि एक मन्त्रीको नाम दिन बाँकी छ । नवनियुक्त मन्त्रीहरुको शपथ केहीबेरमा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *