Main News

आज मन्त्रिपरिषद् विस्तार हुँदै, आजै शपथको तयारी

हिमालय टिभी
२०७९ चैत १७ गते १३:१२
आज मन्त्रिपरिषद् विस्तार हुँदै, आजै शपथको तयारी

१७ चैत २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ ।

मन्त्रिपरिषद् विस्तारपछि आजै शपथ गराउने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नुभयो । प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार, शपथलगायतका विषयमा राष्ट्रपतिसँग परामर्श गर्नु भएको बताइएको छ ।

मन्त्रीहरुको पद तथा गोपनियताको शपथका लागि दिउँसो ३ बजेका लागि तयारी गरिएको छ । हिजै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कुन दलले कुन मन्त्रालय लिने भन्ने टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । नेताहरुका अनुसार अर्थ, गृह, रक्षा र सञ्चार मन्त्रालय कसले लिने भन्ने विवाद छैन ।

अर्थ र रक्षा कांग्रेसले र गृह र सञ्चार माओवादी केन्द्रले लिनेछन् । दलले पाउने मन्त्रालयको संख्यामा भने बुधबार नै सहमति भइसकेको छ। सहमतिअनुसार कांग्रेसले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ तथा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले २–२ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्। जनमतलाई एक मन्त्री र एक राज्यमन्त्री छुट्याइएको छ ।

लोसपा, नेपाल समाजवादी, नागरिक उन्मुक्ति र आम जनता पार्टीले १–१ वटा मन्त्रालय पाउने छन् । पुस १० गते प्रधानमन्त्री नियुक्त हुँदा समर्थन गरेका एमाले, रास्वपा र राप्रपाले सरकार छोडेपछि एकमहिना यता प्रधानमन्त्री एक्लैले १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *